काठमाडौँ, २१ मंसिर । बाढीले ठूलो क्षति पुर्याएपछि रोकिएको रसुवागढी जलविद्युत् आयोजना आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माण भएको १११ मेगावाट क्षमताको यस आयोजनालाई असार २४ गते ल्येन्दे खोलामा आएको हिमताल विस्फोटनजन्य बाढीले गम्भीर प्रभावित बनाएको थियो।
बाढीले बाँधलगायत सम्पूर्ण हेडवर्क्स क्षेत्र क्षतिग्रस्त बनाएपछि मर्मत कार्य तीव्र गरिँदै आएको थियो। मर्मतपछि अस्थायी रूपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन) गरी विद्युतगृहका तीन युनिटमध्ये एउटा युनिट हिजोदेखि सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ। उक्त युनिटले ३७ मेगावाट विद्युत् उत्पादन गर्न थालेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बाँकी दुई युनिट एक महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। साथै, हेडवर्क्स क्षेत्रका बाँकी मर्मत तथा पुनर्निर्माणका काम आगामी वर्षायम अगाडिनै पूरा गर्ने लक्ष्य छ।
सिलवालले प्राधिकरण, चिलिमे तथा रसुवागढी हाइड्रोपावर कम्पनीका पदाधिकारी तथा कर्मचारीको अथक परिश्रमका कारण आयोजनालाई पुनः सञ्चालनयोग्य बनाउन सफल भएको बताए। ‘‘आयोजनाबाट उत्पादन सुरु भएपछि हिउँदयामको विद्युत् माग व्यवस्थापनमा थप सहजता हुनेछ,’’ उनले भने।
बाढीले हेडवर्क्स क्षेत्रमा काठ, झार, ढुङ्गा, बोटबिरुवा बगाएर उपकरणहरू क्षति पुर्याएको थियो। मेसिन, गेट, संरचना भत्किएका थिए भने नियन्त्रण भवनमा दुई मिटरभन्दा बढी लेदो जमेकाले ठूलो चुनौती बनेको थियो। टेलरेसमा पानी जमँदा टर्वाइन रहेको तल्लो भाग समेत पूर्ण रूपमा डुबेको थियो।
आयोजनामा कार्यरत २२ जना कर्मचारीलाई सेना हेलिकोप्टरमार्फत उद्दार गरिएको थियो। कर्मचारी आवास क्षेत्र समेत पूर्ण रूपमा बगाएको थियो। साथै, स्याफ्रुबेंसी—आयोजना खण्डको सडक पहिरोले थुप्रै स्थानमा अवरुद्ध बनाएको थियो।
आयोजनाले अघिल्लो वर्ष पुस १६ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। बाढीपछि बन्द रहेको आयोजनाले पूर्ण क्षमतामा सञ्चालन भएपछि वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गर्नेछ। विद्युत् बिक्रीबाट वार्षिक करिब ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ।
काठमाडौं, २५ असार । गण्डकी प्रदेशको उच्च हिमाली जिल्ला मुस्ताङको उत्तर–पूर्वी क्षेत्रमा परेको भारी वर्षासँगै आएको लेदोसहितको बाढीले छ वटा पुलमा क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हिजो बेलुकादेखि लोमान्थाङ गाउँपालिका–४ स्थित चुम्जुङ खोलामा झन्डै तीन घण्टासम्म बाढी आएको थियो। सो बाढीले चार वटा पुल पूर्णरूपमा बगाएको र दुई वटा पक्की मोटरेबल पुलमा आंशिक क्षति पुर्याएको हो।
लोमान्थाङ–४ चुम्जुङ खोलामा रहेको एक पक्की पुल र लोमान्थाङ–२ साम्जुङमा निर्माणाधीन अर्को पक्की पुलमा क्षति पुगेको जनाइएको छ। त्यस्तै, एक फलामे पुल र तीन वटा काठेपुलहरू पूर्ण रूपमा बगाइएको छ।
प्रहरीका अनुसार खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र न्याम्डो गाउँका दुई घर जोखिममा परेपछि ती स्थानका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी छिरिङ किप्पा लामाका अनुसार, अहिले बाढीको बहाव कम भइसकेको छ तर अझै पनि सम्भावित जोखिम रहेकोले स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरिएको छ। सङ्घीय तथा प्रदेश सरकारसँगको समन्वयमा क्षति मूल्याङ्कन र पूर्वाधार पुनःनिर्माणको तयारी थालिने तयारी भइरहेको जनाइएको छ।