मुख्य बुँदा:
बडादसैँको ११ औँ दिन पापाङ्कुशा एकादशीको अवसरमा जात्रा
खड्ग, तरबार, ढाल र युद्धकवज सहित मल्लकालीन युद्धकला प्रदर्शन
गुठीयारहरूले जामा लगाएर नगर परिक्रमा
बालकुमारी देवी परिसरमा भुइँफर्सी (कुभिण्डो मार्ने) र जात्रा सम्पन्न
थिमि लाय्कुका विभिन्न टोल हुँदै प्रदर्शन: इनाएटोल–दुईपोखरी–दिगु भैरव र दथुटोल–बालकुमारी
जात्रामा खःम्ये (राँगा)को बलि, देवता र राजदण्ड समावेश
भक्तपुर, १८ असाेज । बडादसैँको ११ औँ दिन पापाङ्कुशा एकादशीको अवसरमा शुक्रबार मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ। जात्रामा मल्लकालीन युद्धको झल्को दिने शैलीमा खड्ग, तरबार, ढाल र युद्धकवज बोकिएर युद्धकला प्रदर्शन गरिएको थियो।
जात्रामा तत्कालीन राजदरबारसँग सम्बन्धित फरक समुदायलाई पनि सहभागी गराइयो। गुठीयारहरूले जामा लगाएर खड्ग, ढाल र तरबार हातमा बोकेर नगर परिक्रमा गरे।
जात्राको क्रममा स्थानीय क्वालखु द्यः (बालकुमारी देवी) को परिसरमा भुइँफर्सी अर्थात् कुभिण्डो मार गरेर जात्रा सम्पन्न गरियो। थिमि लाय्कुका प्रमुख नाइके श्यामकाजी श्रेष्ठका अनुसार, जात्रा दुई मार्गमा प्रदर्शन गरिएको छ ।
माथिल्लो टोल (थहनेया टोल) बाट इनाएटोल–दुईपोखरी–दिगु भैरव, तल्लो टोल (कोहनेया टोल) बाट दथुटोल–बालकुमारी जात्रामा बडादसैँको महानवमीमा तलेजु भवानीलाई चढाइएको खःम्ये (राँगा)को टाउको, कोतभित्रको देवता र दरबारको राजदण्ड समेत नगर परिक्रमा गरिएको थियो।