भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

वडामै योजना सम्झौता स् समय र खर्चको बचत

वडामै योजना सम्झौता स् समय र खर्चको बचत

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती शिविरमार्फत वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ ।

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा जान आउन अपायक पर्ने वडा नम्बर ६ मराङमा शुक्रबार र ५ मल्कवाङमा बिहीबार घुम्ती शिविरमार्फत योजना सम्झौता भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत मोतीप्रसाद अर्यालले मल्कवाङमा ९ र मराङमा १५ वटा उपभोक्ता समितिसँग योजना सम्झौता भएको बताए । बुधबार वडा नं २ लुलाङमा सात वटा योजनाको उपभोक्ता समितिसँग सम्झौता भएको थियो । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधिकारीहरूलाई पालिकामा जाने आउने समय, झन्झट हट्नुका साथै व्ययभार घटेको धौलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

“मराङ, मल्कवाङका बासिन्दालाई मुना पुग्न, काम गर्न र फर्कन उपभोक्तालाई कम्तीमा तीन दिन लाग्ने गर्छ”, उनले भने, “वडामै योजना सम्झौता भएपछि एउटा उपभोक्ता समितिका कम्तीमा तीन जनाको पालिका जाने आउने समय र खर्च बचत भएको हो ।” मराङ र मल्कवाङका बासिन्दालाई धौलागिरिको केन्द्र मुनामा पुग्न मालिकाको केन्द्र दरबाङ धारापानी ताकम हुँदै घुमाउरो यात्रा गर्नुपर्छ ।

पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ । पालिकाको केन्द्र र बैंकको शाखा एकै ठाउँमा नहुँदा मल्कवाङ, मराङ र ताकमका सेवाग्राहीलाई झन्झटपूर्ण उल्टो यात्रा गर्नुपर्छ ।

मराङ र मल्कवाङका उपभोक्तालाई आर्थिक कारोबार गर्न ताकमभन्दा दरबाङमा रहेको बैंकको शाखाबाट सजिलो र पायक पर्छ । उपाध्यक्ष रेशम पुनमगरको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत मोतीप्रसाद अर्याल, योजना अधिकृत हरिहर पनेरू, पूर्वाधार शाखाका लोकेन्द्र रावल, प्रशासनका रमेश पौडेलको टोलीले माघ २३ गते ताकम र २४ गते मुदीमा पुगेर योजना सम्झौता गर्ने समय तालिका बनाएको छ ।

वडाका अध्यक्ष, सचिव र जनप्रतिनिधिले सहजीकरण तथा समन्वय गर्नुभएको छ । प्राविधिक टोलीले यसअघिनै योजनाको लागत अनुमान र डिजाइन तयार पारेका थिए । सबै प्रक्रिया पूरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंकको शाखामा गएर खाता खोल्न सिफारिस गरी पेश्की उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधिकारीलाई प्राविधिक, लेखा व्यवस्थापन र प्रशासनिक प्रक्रियाका विषयमा परामर्श पनि दिइएको छ । ठूला योजना ठेक्का प्रक्रिया अघि बढाउन र उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने योजना सम्झौतामा तीव्रता दिइएको छ । यस वर्ष धौलागिरि गाउँपालिकाले एक सय २३ वटा योजना कार्यान्वयन गर्दैछ । वडामा पुगेको गाउँपालिकाको टोलीले स्थानीयवासीसँग छलफल, विकास योजनाको अनुगमन पनि गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.