भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

अदानचुलीद्वारा एक साताका लागि सबै सेवा बन्द

अदानचुलीद्वारा एक साताका लागि सबै सेवा बन्द

सिमकोट । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्लाको अदानचुली गाउँपालिकाका सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकामै परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै काम अनिश्चितकालका लागि बन्द गरिएको गाउँपालिका उपाध्यक्ष सौमती ऐडीले जानकारी दिनुभयो । आइतबार गाउँपालिकाले आयोजना गरेको सर्वपक्षीय बैठकको निर्णयानुसार आइतबारदेखि नै लागू हुने गरेर गाउँपालिकाका सबै काम बन्द गर्ने निर्णय गरिएको हो ।

गाउँपालिकाले एन्टिजेन विधिमार्फत शनिबारदेखि शुरु गरेको परीक्षणमा सात जनामा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकालाई सिल गर्ने निर्णय गरिएको हो । बैठकले सोमबारदेखि गाउँपालिका, वडा कार्यालयमा राखिएका इन्टरनेट सेवासमेत जेठ ९ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको बताइएको छ । कार्यालयमा राखिएको इन्टरनेट सेवाका कारण प्रयोगकर्ताको भिड लाग्ने भएपछि त्यस्तो निर्णय गरिएको हो ।

बन्दको समयावधिमा वडाध्यक्षको सिफारिसमा एक गाउँबाट अर्को गाउँ आउन र जान पाउने निर्णय गरिएको उपाध्यक्ष ऐडी जानकारी दिनुभयो । “जेठ ९ गतेसम्म गाउँपालिकाभित्रका सबै होटेल तथा पसललाई पूर्णरूपमा बन्द गर्ने निर्णय गरेका छौँ”, उपाध्यक्ष ऐडीले भन्नुभयो, “यो अवधिमा मेसिनले गर्ने कामबाहेक अन्य सबै विकास निर्माणका कामलाई समेत तत्काल स्थगन गर्ने निर्णय गरिएको छ ।”

सिमकोट–७ पनि सिल

यसैगरी कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै सिमकोट गाउँपालिकाको वडा ७ लाई पनि आइतबारदेखि सिल गर्ने निर्णय गरिएको छ । वडाको निर्णयानुसार जिल्लाले जारी गरेको निषेधाज्ञाको अवधिमा वडाक्षेत्र पूर्णरूपमा सिल गरिएको वडाध्यक्ष राजबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार पूर्वमा सिमकोट लाग्ना, पश्चिममा नाम्खाको ताग्रु खोला, दक्षिणमा सिमकोट–८ को स्याँडा जाने पुल र उत्तरमा हिल्सा–सिमकोट सडकभित्रको चार किल्लालाई सिल गर्ने निर्णय वडाले गरेको छ ।

बाहिरबाट आउनेहरुका कारण कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएकाले निषेधाज्ञाको अवधिभर वडालाई सिल गर्ने निर्णय गरिएको वडाअध्यक्ष शाहीले जानकारी दिनुभयो । हुम्लामा एन्टिजेन परीक्षणमा ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ । जिल्लामा हालसम्म ४६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.