भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

गाई-भैँसीमा ‘लम्पि स्किन’ समस्या

गाई-भैँसीमा ‘लम्पि स्किन’ समस्या

इलाम । गाई भैँसीमा ‘लम्पि स्किन’ रोग देखापरेपछि इलामका पशुपालक किसान चिन्तित बनेका छन् । जिल्लाको सूर्योदय नगरपालिकासहित अन्य पालिकामा सो रोग देखा परेको जनाइएको छ । सूर्योदय नगर प्रमुख रणबहादुर राईले ‘लम्पि स्किन’ रोगका विरुद्धमा नगरपालिकाले किसानलाई सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिँदै यसका लागि नगरपालिकामा सम्पर्क राख्न अनुरोध गरे ।

‘लम्पि स्किन’ रोग लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा मृत्यु हुने गरेको सूर्योदयका पशु शाखा प्रमुख विपिनकुमार सिंहले जानकारी दिए । उनका अनुसार किर्ना, भुसुना, झिँगा, लामखुट्टे आदिको माध्यमबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलने क्रम धेरै छ ।

उनले भने, ‘रोगविरुद्धको खोप नहुँदा र प्रभावकारी उपचार नहुँदा थप समस्या भएको हो । हालसम्म प्राप्त जानकारीअनुसार हाम्रो नगरपालिकामा पाँच पशु मरेका छन् । संक्रमण देखिएका पशुलाई अलग्गै राख्ने, सरसफाइ गर्ने, किर्ना, लामखुट्टे र भुसुना नियन्त्रणको उपाय खोज्नुपर्छ ।’

गत वर्ष छिमेकी जिल्ला झापामा समस्या बनेको सो रोग यस वर्ष गत असोजदेखि फाट्टफुट्ट देखा पर्न थालेको थियो । सुरुमा इलामको रोङ गाउँपालिकामा देखा परेको रोग अहिले जिल्लाका माईजोगमाई, सन्दुकपुरलगायतका अन्य थुप्रै पालिकामा समेत फैलिएको छ । माईजोगमाईका पशु किसान कुमार थापाको लैनो गाईमा उक्त रोग देखापरेपछि छिमेकीका पशुमा समेत देखा परेको थियो ।

उनले भने, ‘यो हावाको माध्यमबाट सर्दो रहेछ । कोरोनाकालमा मान्छे मर्ने त्रास थियो । अहिले गाई मर्ला कि भन्ने पीर बढ्यो ।’ दिनको १८ लिटर दूध दिँदै गरेको गाईमा रोग आएपछि आधा उत्पादन घटेको उनको भनाइ छ । यो रोग लागेपछि पशुलाई सार्वजनिकस्थलमा चरनका लागि लैजान नहुने, अन्य वस्तु भाउको सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठ सरसफाइ गर्ने काम गरेपछि यसको नियन्त्रण हुनसक्ने चिकित्सक भुपाल पोख्रेलले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.