भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

झाडी फाँडेर केरा खेती

झाडी फाँडेर केरा खेती

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीका कृषकले बाँझिएको पाखोबारीमा केरा खेती गरेर हराभरा बनाएका छन् । तीन कृषकले कोरोना भाइरसको महामारी फैलिएपछि दुई वर्षअघि भएको बन्दाबन्दीको समयमा २७ रोपनी झाडी फाँडेर व्यावसायिकरुपमा केरा खेती सुरु गर्नुभएको हो ।रघुगङ्गा–२ रिसिन चौतारीका बलबहादुर सुनार, रमेश कटुवाल र बुद्धिबहादुर कार्कीले केरा खेतीबाट आम्दानी गर्न थाल्नुभएको छ । न्यू कालीगण्डकी कृषि फर्मका सञ्चालक सुनारले पछिल्लो याममा रु एक लाख ५० हजार बराबरको केरा बिक्री गरेको बताउनुभयो । “बन्दाबन्दीको फुर्सदमा झाडी फाँडेर ९०० केराका बिरुवा लगाएको थिए,” उहाँले भन्नुभयो “सुरु गरेको डेढ वर्र्षमै आम्दानी हुन थालेको छ ।” करिब २० वर्र्षदेखि खेती हुन छाडेको पाखोबारीको झाडी फाँडेर तीनैजनाले केरा खेती गर्नुभएको थियो ।

कटुवालले आरम्भ र कार्कीले कालीगण्डकी कृषि फर्म सञ्चालन गर्नुभएको छ । उहाँहरुले केरा खेतीका साथै बाख्रा, बङ्गुर, कुखुरा र माछापालनसमेत गर्नुभएको छ । एकजनाले कृषि फर्ममा रु १५ लाखदेखि रु २० लाखसम्म लगानी गर्नुभएको छ । बजार नजिक, यातायात सुविधा, अनुकूल भूगोल र हावापानी भएकाले केरा खेती गरेको कटुवालले बताउनुभयो । “बाँझिएर खेर गएको पाखोबारी केराका बिरुवाले हराभरा बनेको छ,” उहाँले भन्नुभयो, “रोजगारी सिर्जना र आयआर्जनको अवसर पनि मिलेको छ ।” कटुवालले केरा खेतीसँगै व्यावसायिक कुखुरापालन समेत गर्नुभएको छ ।उनीहरुले स्थानीय बाइसे, मुङग्रे, धुस्रे र नङग्रे जातको केरा खेती गरेका छन् । “धान, कोदो, मकै, गहुँ खेती नहुने पाखोबारीमा बदामको मात्र खेती हुन्थ्यो,” कार्कीले भन्नुभयो “बदामभन्दा केरा खेतीबाट चार÷पाँच गुना बढी आम्दानी भएको छ ।” सो क्षेत्रमा यसअघि घरायसी प्रयोजनका लागि केरा खेती हुँदै आएको थियो ।

बैसरी, बेनी, पोखरेबगर र मुस्ताङमा केरा बिक्री हुन्छ । बैसरी हुँदै रिसिनचौतारी जोड्ने सडक बनेकाले व्यापारी केरा किन्न गाडी लिएर गाउँमै पुग्छन् । रघुगङ्गा गाउँपालिका–२ भगवतीका वडाध्यक्ष रिम कटुवालले बैसरी, रिसिनचौतारी, राममन्दिर र माझखर्कमा केरा खेतीको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । सिँचाइका लागि गाउँपालिका, कृषि ज्ञान केन्द्र र सिँचाइ कार्यालयमा पहल गरेको उहाँले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.