मनाङ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै मनाङको नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै स्थानीय आगो निभाउन सक्रिय भए पनि डढेलो नियन्त्रणमा नआएको नासो गाउँपालिका८ का अध्यक्ष हुपजङ्ग गुरूले बताए ।
तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए । तीव्र वेगमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिन भएको उनको भनाइ छ । उनले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्नि रेखा बनाउन सफल भएको बताउँदै भने, ‘पाइपको व्यवस्था गरेर बाल्टीमा पानी भरी आगो निभाउने प्रयासमा छौँ ।’

