काठमाण्डौ । पहिरोका कारण बन्द भएको पृथ्वीराजमार्ग खुलेको छ । चितवनको नाग्दी खोला नजिकै पहिरोका कारण बन्द भएको पृथ्वीराजमार्ग खुलेको हो । शुक्रबार बेलुका पौने ७ बजेतिर खसेको पहिरोले पृथ्वीराजमार्ग दुईतर्फी बन्द भएको थियो ।
पहिरोका कारण काठमाण्डौ आउने गाडी मुग्लिन र काठमाण्डौबाट छुटेका गाडी कुरिनटारमा रोकिएका थिए । सडक खुलेपछि रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । गाडीको आवतजावत सामान्य भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो हटाएपछि गएराति नै सडक दुईतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरोको जोखिम कायमै रहेकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न ट्राफिक प्रहरीको आग्रह रहेको छ । अहिले नारायणगढ–मुग्लिन सडकमा पनि कुनै समस्या छैन । गाडी सहज रुपमा चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ ।
