काठमाण्डौं । नेपाल–भारत विद्युत् व्यापार तथा संरचना निर्माणका विषयमा छलफल गर्न आजदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दै छ ।
काठमाण्डौमा बस्ने बैठक दुई दिनसम्म चल्नेछ समितिले बताएको छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्की नेतृत्वमा मन्त्रालय मातहत निकायका अधिकारी सहभागी हुनेछन् भने भारतका ऊर्जा सचिव आलोककुमार नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ ।
बैठकमा सहसचिवस्तरीय समितिले एजेन्डा तय गर्ने बताइएको छ । सहसचिवस्तरीय कार्यदलमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले नेतृत्व गर्दै छन् भने भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सहसचिवले गर्दै छन् ।
बैठकमा नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव गर्ने तयारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रस्ताव गरेको छ ।
बैठकमा नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा पनि छलफल हुनेछ । हरेक छ महिनामा बस्ने प्रावधान रहेको यो बैठक एक वर्षअघि भर्चुअल रूपमा सम्पन्न भएको थियो ।
