भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नेपालको राजनीतिमा भारतीय हस्तक्षेप नै देश विकास नहुनुको कारक तत्व हो : मेयर प्रजापति

नेपालको राजनीतिमा भारतीय हस्तक्षेप नै देश विकास नहुनुको कारक तत्व हो : मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाबाट सञ्चालित पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप इन्जिनियरिङ कलेज र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले दुवै कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई आइतबार रु. ६१ लाख बराबरको छात्रवृत्ति वितरण गरेका हुन ।

कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित कलेजले गरिब र जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्न र विद्यार्थीहरुलाई उत्साह प्रदान गर्न छात्रवृत्ति वितरण गर्दै आएको जानकारी दिए ।

भक्तपुर नपाबाट सञ्चालित विभिन्न कलेजहरुमार्फत वार्षिक ४ करोड बराबरबको छात्रवृत्ति वितरण हुँदै आइरहेको बताउँदै उनले भने, शैक्षिक संस्थामा बन्द हड्तालको प्रभाव पर्नुहुँदैन भन्ने मान्यताले हामी अगाडि बढिरहेका छौं ।

उनले इमानदारीपूर्वक देश र जनताको निम्ति सेवा गर्ने भावना विद्यार्थीहरुमा हुनुपर्नेमा जोड दिँदै भक्तपुर नपाले अन्य विभिन्न विषयमा पीएचडीसम्म अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक ऋण समेत उपलब्ध गराउँदै आएको बताए ।

प्रजातन्त्र पुनःस्थापनाको ३३ वर्ष बितिसक्दा पनि जनताले देशमा कुनै परिवर्तनको महसुस नगरेको बताउँदै प्रमुख प्रजापतिले आर्थिक समानतासहितको प्रजातन्त्र आजको आवश्यकता भएको तर्क गरे ।

राजनीतिक अस्थिरता भएको देशमा विकासको सम्भावना नहुने बताउँदै उनले नेपालको राजनीतिमा भारतीय हस्तक्षेप नै देश विकास नहुनुको कारक तत्व भएको बताए ।
विद्यार्थीहरुले अध्ययनसँगसँगै देशको राजनीतिबारे पनि ध्यान दिन सके हामीले सोचेअनुसार देशमा परिवर्तन सम्भव हुने बताउँदै उनले परिश्रम र मेहनती विद्यार्थीले नै सफलता हासिल गर्ने बताए ।

भक्तपुर नपा वडा नंं ९ का वडाध्यक्ष तथा कलेज सञ्चालक समितिका सदस्य रबिन्द्र ज्याख्वले भक्तपुर नपाले हाल ८ वटा कलेज, ६ वटा शिशुस्याहार केन्द्र सञ्चालन गरिरहेको बताउँदै ख्वप विश्वविद्यालय सञ्चालनको अनुमतिको प्रतिक्षामा नगरपालिका रहेको जानकारी दिए ।

ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेज स्थापनाका उद्देश्यमाथि प्रष्ट पार्दै कलेज स्थापनाको उद्देश्यअनुसार निजी कलेजको तुलनामा झण्डै आधा शुल्कमा भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले इन्जिनियरिङ शिक्षाको अध्ययन अध्यापन गराउँदै आएको बताए ।

ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले छात्रवृत्ति रकमको सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गर्दै नगरपालिकाको योगदानबाट सबै विद्यार्थीहरु लाभान्वित भएको र भक्तपुरको दुवै इन्जिनियरिङ कलेजले उत्कृष्टता हासिल गरिरहेको जानकारी दिए ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य रबिन्द्र फोँजुले कलेजले प्रदान गरेको छात्रवृत्तिले विद्यार्थीहरुमा उत्साह थपेको, नयाँ नयाँ कुरा सिक्न प्रेरित गरेको र परीक्षाको नतिजामा समेत सकारात्मक प्रभाव परेको बताए ।

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई रु. ३२ लाख ९ सय र ख्वप कलेज अफ इन्जिनियरिङका विद्यार्थीलाई रु. २९ लाख ३६ हजार गरी रु. ६१ लाख बराबरको छात्रवृत्ति रकम वितरण गरिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.