भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

पर्यटकीय गन्तव्य सिन्धुलीगढी भित्र हामीले भेटाएको रहस्य

पर्यटकीय गन्तव्य सिन्धुलीगढी भित्र हामीले भेटाएको रहस्य

रक्तिम दैलेखी । नेपाल एकीकरण गर्दाका बखत काठमाडौँका तत्कालीन मल्ल राजा जयप्रकाश मल्लको सहयोगका लागि कप्तान किनलकको नेतृत्वमा दुई हजार ४ सयको संख्यामा सेना काठमाडौँतर्फ अघि बढिरहेको ‘इष्ट इण्डिया कम्पनी’का फौजसँग गोर्खाली फौजले घमासान युद्ध गरी बिजयी हासिल गरेको ऐतिहासिक स्थल हो सिन्धुलीगढी ।

परिचय
पर्यटकीय प्रबल सम्भावना भएका एक सय स्थान मध्य नेपाल सरकारले पहिचान गरेको एक प्रमुख गन्तव्य हो सिन्धुलीगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिन्धुलीगढीलाई प्रर्वद्धन गर्नुपर्ने पर्यटकीय गन्तव्यका रुपमा छनोट गरेको हो । कमलामाई नगरपालिकामा पर्ने यस गढीमा पुग्न सिन्धुलीमाढीबाट १६ कि.मि.को यात्रा गर्नु पर्छ ।

चारैतिर हरियाली अनि फाँटको बीचमा अवस्थित सिन्धुलीगढीले पर्यटकीय मात्रै होइन, इतिहास पनि बोकेको छ । स्वर्णिम इतिहास बोकेको अग्लो थुम्को नै सिन्धुली गढी हो । प्राकृतिक सुन्दरता भरिपूर्ण ऐतिहासिक जिल्लाको धरोहरका रुपमा रहेको यो गढी नेपालको ऐतिहास हाे ।

३ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो गढी पुग्न राजधानी काठमाडौंबाट करीव १ सय ५० किलोमिटरको यात्रा तय गरेपछि पुगिन्छ । समुन्द्री सतहबाट ४ हजार ६ सय ४८ फिट उचाईमा रहेको यो क्षेत्र प्राकृतिक सौनदर्यताले भरिपूर्ण छ । सिन्धुलीगढी क्षेत्रमा दुईवटा बेग्लाबेग्लै गढी छन् । एउटा सानो गढी र एउटा  ठूलो गढी ।

लडाईंका हिसाले सामरिक महत्व
युद्धकलाले पोख्त गोर्खाली फौजलाई सामरिक दृष्टिकोणले महत्वपूर्ण लागेर यो गढीको निर्माण गरेका थिए । त्यसबेला ठूलो गढीमा तोप, गोलाबारुद, बन्दोबस्तीका सर–सामानको व्यवस्थापन र पीउँने तथा नुहाउँने पानीको सङ्कलन गरिन्थ्यो । सानो गढी भने शत्रुको निगरानीका लागि निर्माण गरिएको थियो ।

प्रवेशद्वार नजिकैबाट सिँढी हुँदै करिब १५–२० मिनेट उकालो चढेपछि सिन्धुलीगढीको मुख्य द्वारमा पुगिन्छ । उकालो चढेपछि सम्म भागमा अवस्थित गढीका एउटा जीर्ण एवं सुख्खा इनार छ । युद्धकालमा गोर्खाली फौजले पानीको कमी नहोस् भनेर गढीको छेउमा इनार खनेर पानीको भण्डारण गरेका थिए । इनार अहिले भग्नावषेशका रुपमा परिणत रहेको छ ।

दरबार र गढीको बीचमा एउटा पौवासहित वनभोज स्थल निर्माण गरिएको छ । यो स्थलबाट दरबार जाने बाटो छेउमा काँडे तारले प्राचीन अदालत र कारागार हुन भनेर यस स्थानलाई घेरेर राखेको छ । प्रवेशद्वार, सेनाको सेन्ट्रीपोष्ट साथै ठूलो चौतारो जीर्ण अवस्थामा छ । २०१९ सालसम्म जिल्लाका सबै सरकारी कार्यालय यही गढीमा थिए भने २०२२ सालमा सेनाको ब्यारेक र प्रहरी चौकी, कारागारमात्र बाँकी राखेर सबै कार्यालय सिन्धुलीमाढी सारिएका थिए ।

पर्यटकीय महत्व
ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सुन्दरताले सम्पदाहरु भरिपूर्ण छन् । यो स्थानले युद्धकला संगसंगै पर्यटकीय महत्व बोकेको छ । स्वाभिमान उचो राख्ने राष्ट्रकै एक महत्वपूर्ण याे ठाउँ युद्व स्थल पनि हो । सिन्धुलीगढीलाई दुई भागमा विभाजन गरिएको छ । यसै गढीमा बसेर वीर गोर्खालीले अङ्ग्रेज विरूद्ध युद्ध लडेर विजय हासिल गरेका थिए ।

एउटा यस्तो ऐतिहासिक किल्ला जसले सन् १८२४ को नेपाल अङ्ग्रेज युद्धमा अङ्ग्रेजलाई छियाछिया पारी नेपाललाई अङ्ग्रेजको पन्जामा पर्नबाट जोगाएका थिए । तर, त्यो इतिहास बोकेको यो गढी, भव्य दरबार आज जीर्ण भई भग्नावशेषमा परिणत भएको छ । पछिल्लो समय यसलाई नगरपालिकाले पुन निर्माण कार्यमा जोड दिएजस्ताे गरेको छ ।

इतिहास खोतल्दा
सिम्रौनगढका सेनाले वि.सं. १३६७ सालमा काठमाडौँ उपत्यका भित्र व्यापक लुटपाट गरी बनेपा हुँदै यही गढीको बाटो भएर विदेह राज्य (जनकपुर र सीतामडी) फर्केको तथ्य छ । घटनाक्रम अध्ययन गर्दा डोयहरूको आक्रमणको करिब ४० वर्षपछि जयस्थिति मल्ल (राजा) का पालामा वि.सं. १४०६ को मङ्सिर महिनामा बङ्गालका शासक समसुद्दिन इलियासको फौजले उपत्यकालाई लगभग ध्वस्त बनाई फर्केका थिए ।

पुन उपत्यकामा त्यस्तो लुटपाट र आक्रमण नहोस् भनेर सिन्धुलीगढीको बाटो हुँदै बङ्गाल छिरेका अंग्रेजको प्रतिरोधका लागि गढी स्थापना गरिएको हाे । वि.सं. १४११ र वि.सं. १४५२ को बीचमा राजा जयस्थितिले गढीको फेदीभन्दा केहीपर भारदारलाई सुराकीका रूपमा राखेका थिए ।

काठमाडौँका राजा यक्ष मल्लले अयोध्या र मगधसमेत नेपालमा गाभेपछि विदेशीलाई पुनः प्रत्याक्रमण गर्न नदिन वि.सं. १५१५ तिर सिन्धुलीगढीलाई मजबुत बनाए ।ऐतिहासिक तथ्यमा उल्लेख गरिए अनुसार वि.सं. १५५६ तिर राजा शिवसिं मल्लले सिन्धुली आक्रमण गरी विजयी भएपछि सिन्धुलीगढीलाई अधिकारमा लिएका थिए ।

वि.सं. १८७३ मा शुरु भएको नेपाल–अङ्ग्रेज युद्धको समयमा सिन्धुलीगढीको सामरिक महत्व बुझेर तत्कालीन जनरल भीमसेन थापाले सिन्धुली गढीमा स्थायी सैन्य छाउनको व्यवस्था गरे । १८८६ माघमा जनरल थापाले पत्नी भक्तकुमारी देवीसहित सिन्धुलीगढीमा गारद सलामी लिए । सन् १८१९ मा गोर्खाली सेनाले गढी कब्जा गरेपछि पृथ्वीनारायण शाहले गढीमा काठ र खरको छानो राखेर घर बसेको इतिहास छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दाको समयमा सिन्धुलीगढी मकवानपुर राज्यअन्तर्गत थियो । वि.सं. १९७५ सालतिर प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सिन्धुलीगढीका कर्णेल कृतिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका, ५६ झ्याल, टिनको छाना, सिमेन्ट र इँटाको गारो लगाएको दुई तले दरबार निर्माण गरे ।

पछि गढीका कर्णेल पुष्करविक्रमले दरबारको निर्माण पूरा गरे । वि.सं. १८२४ कात्तिक २४ गते इस्ट इन्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको २४०० अङ्ग्रेज फौजलाई पृथ्वीनारायण शाहका पालामा वंशु गुरुङ नेतृत्वको नेपाली फौजले सिन्धुलीगढीबाट लखेटेका थिए । यसबेला १६ सय अङ्ग्रेज सेना हताहति भएका थिए ।

अङ्ग्रेजविरुद्ध यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो । यसमा अङ्ग्रेजले पहिलो पराजय भोगका थिए । अङ्ग्रेज फौजले गोलाबारी र बन्धुकका साथ गढीमाथि आक्रमण गरेको र रण कौशलमा निपूर्ण वीर गोर्खाली सैनिकले चातुर्य र बहादुरीका साथ लडेर तहनहस पारी अंग्रेजहरुबाट हातहतियारसमेत बरामद गरेका थिए ।

युद्धमा पराजित भएपछि भागेर जनकपुर पुगेका अङ्ग्रेज कप्तान किनलोकले ‘अब म गोर्खाली सैनिकसँग लडेर विजय गर्न सक्दैन’ भनेका थिए । गोर्खाली फौजसँगको युद्ध ज्यादै महँगो साबित भयो भन्दै अंग्रेज फौजले भनिरहेका बेला आफुसंगको हातहतियार सकिदै गएपछि स्थानीय जनताले

सिस्नु, अल्लो, अरिङ्गालको गोला, बारुलाको गोला, कमिलाको गोला आदि प्रयोग गरी अङ्ग्रेज फौजलाई आछुआछु पारेका थिए । आक्रमणमा जनताले समेत सेनालाई सघाएका थिए ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण 
हरियाली जङ्गलको बीचमा अग्लो पहाड र समथर अवस्थामा रहेको यो गढीमा पुगेपछि जो कोहीलाई पनि आनन्द र शान्तिको अनुभूति हुने गर्छ । यहाँँ पुग्ने पर्यटक रमाउने मात्रै होइनन्, यस गढीको इतिहासका बारेमा जानकारी पनि लिन पाउँछन् । गढीको उत्तरतर्फ गौरीशङ्कर हिमालको पृष्ठभूमि, तल तामाकोशी नदी बगेको र दक्षिणतर्फ हरियाली वन जङ्गलले ढाकेको चुरे पहाडसँगै तराईका समथर मैदान देखिन्छन् ।

याे दृष्य देख्ने जाेकाेहि जीवनमा पाएकाे दुःख भुलिदिन्छन् । गढीबाट पश्चिमतर्फ बागमती नदी र मरिनखोलाको दृश्य पनि देख्न सकिन्छ । काठमाडौँ, जनकपुर, वीरगञ्जलगायत नेपालका प्रमुख शहरहरुबाट यातायातका साधन सहजै आउने राजमार्ग यही गढीको काखबाट गएकाले गढी घुम्न आउने पर्यटकले खचाखच भरिने गरेका छन् ।

बनेपा सिन्धुली हुँदै पूर्वी तराई जोड्ने बीपी राजमार्ग पनि आकर्षण बनेको छ । झन्डै तीस अर्ब रुपैयाँ लागतमा निर्माण भएको यस बाटोको बनावटले समेत सबैलाई एकपटक यात्रा गर्न लालायित मात्रै बनाउँदैन, यात्राको आकर्षक गन्तव्यका रुपमा सिन्धुलीगढीलाई लिइन्छ ।

उपत्यकाबाट कसरी पुग्ने ?
सिन्धुलीगढी पुग्न काठमाडौंबाट करीब १ सय ५० किलोमिटरको पूर्वतर्फको दुरी पार गर्नु पर्छ । बी.पी. राजमार्ग सरररर गुडेपछि यहाँ सजिलै पुग्न सकिन्छ । सिन्धुलीगढीको प्राकृति स्वरुप निर्धारणमा सिवालिक क्षेत्र र महाभारत क्षेत्रको अझ महत्वपूर्ण योगदान छ । सिन्धुली जिल्लाको पूर्व–पश्चिम करिब ९७ किलोमिटर लम्बाइमा पर्ने यी दुई पर्वतहरूले घेरेको छ ।

यसको अझ इतिहासलाई खोतल्ने हो भने प्राचीन मानवजातिको सबैभन्दा बढी समये बसोबास यही सिवालिक क्षेत्रमा हाे । मानव विकासको अध्ययन र उत्खननहरूले पनि यसकाे प्रमाणित गरिदिएको छ । सिवालिक क्षेत्रमा करिब १ करोड १० लाख वर्ष पुरानो रामापिथेकसको अवशेष पनि पाइएको छ ।

प्राचीन मानव जातिको अवशेष यस क्षेत्रमा पाइनु यहाँको पुरातात्विक तथा ऐतिहासिक वैभव अपार छ । त्यसैले यसको वैभवलाई उजागर गर्न सम्बद्ध निकायको ध्यान, स्थानीयको चासो र स्थानीय तहकाे थप लगानी हुन जरुरी छ ।

यहाँ राखिएका कर्मचारी र सम्वद्ध निकायको अध्ययन गर्ने बानीको अभावले यसको वैभवतालाई गुमनाम पारिदिने देखिन्छ । इतिहासमा लडेका र ऐतिहासिक तथ्य सबैले थाहा पाउनु पर्छ र अन्तराष्ट्रिय रुपमा नै प्रचार प्रसार गर्न जरुरी छ । सरोकारवालाको यसमा ध्यान पुगे जाेगिने छ नत्रभने स्वर्गको हिरा कुहिरो भित्र हराएको काग सावित हुने निश्चित छ । सबैले चाँसाे र चिन्ता गर्न अनिवार्य छ ।

कैलाश खबरका लागि रक्तिम दैलेखी सिन्धुलीगढी

 


Thali Mobile Pvt.Ltd.