२० जेष्ठ २०७७ काठमाडाैं । संसदको कानून न्याय तथा मानवअधिकार समितिले रुकुम पश्चिममा भएको हत्याकाण्डकाे घटनालाई मानवताविरुद्धको अपराध ठहर गरेको छ ।
जेठ १० गते चौरजहारी नगरपालिकामा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकको हत्या भएको थियो । नवराजसहित ५ जनाको शव भेरी नदीमा बाँधेर फालेकाे अस्थामा भेटिएको थियो ।
एक जनाको अझै हराइरहेको छन् । लखेटी लखेटी हत्या गरिएकाे उक्त घटनामा १२ जना घाइते छन् । ती घाइतेकाे संसदीय समितिले निशुल्क उपचार गर्न सरकारलाई निर्देशन दिएको छ ।घटनाकाे निष्पक्ष छानबिन गर्न कुनै राजनीतिक वा प्रभावमा नपरी अनुसन्धान गर्न पनि समितिले निर्देशन दिएको छ ।
श्रृङ्खलावद्ध रुपमा दलितमाथि भइरहेका आक्रमणलाई ख्याल गर्दै तत्काल यस खालका विभेदका विरुद्ध महाअभियान चलाउन पनि समितिले निर्देशन दिएको छ । प्रहरीभित्र दलित सेल स्थापना गरेर छुवाछुतविरुद्धको अभियान प्रभावकारी बनाउन पनि समितिले निर्देशन दिएको छ ।
लकडाउनमा महिला हिंसा, बालबालिकामाथि हिंसा बलात्कार हिंसा यौनजन्य हिंसा बढिरहेकाले सबै प्रकारका पहलबाट राेक्न पनि समितिले निर्देशन दिएको छ ।