काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्र विवाद चुलिएपछि समाधान गर्न पञ्चा सिंह र पवन कार्की नेतृत्वका समितिलाई विघटन गरिएको छ ।
दुवै समितिलाई राष्ट्रिय सम्मेलन आयोजक समिति बनाइएको छ । हालै सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकले दुवै पक्षका समितिलाई विघटन गरेर राष्ट्रिय सम्मेनल आयोजक समिति बनाउने र स्ववियु चुनावपछि राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
अखिल क्रान्तिकारीमा संस्थापन पक्षविरुद्ध अर्का नेता पवन कार्कीले समानान्तर संगठन बनाएपछि लामो समयदेखि विवाद चुलिँदै आएको थियो । ५ चैतमा हुने स्ववियु चुनावलाई समेत असर गर्ने भएपछि माओवादीले मध्यमार्गी बाटो अबलम्बन गरेर राष्ट्रिय सम्मेलनमा जाने निर्णय गरेको हो ।
सर्कुलर जारी गर्दै संगठनभित्र समानान्तर गतिविधि गर्न रोक लगाउने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ । अखिल क्रान्तिकारीको विवादले माओवादी केन्द्रको केन्द्रीय समितिमा समेत प्रवेश पाएको थियो ।
सस्थापन पक्षले पेल्दै गएपछि कार्की समूहले १८ असार २०७९ असारमा १९९ जनाको समानान्तर केन्द्रीय कमिटी घोषणा गरेको जनाएको थियो । पदाधिकारी घोषणामा कार्की समूहले असन्तुष्टि जनाएको थियो ।
कार्की महासचिव हुन चाहन्थे तर उनलाई पेलेर उपराष्ट्रपति नन्द किशोर पुनका छोरा दीपेश पुनलाई महासचिव बनाएर कार्कीलाई उपाध्यक्ष बनाइएको थियो ।
त्यसपछि कार्कीले त्यसमा असन्तुष्टि जनाउँदै पार्टी अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाए र छुट्टै भेला आयोजना गरेका थिए । अनुशासनहीन काम गरेको भन्दै संस्थापन पक्षले उनलाई निलम्बन गरेको थियो ।
कार्की समूहले तत्काल दुवै पक्षको समिति खारेज गरेर राष्ट्रिय सम्मेलनमा जानुपर्ने माग गर्दै आएको थियो ।
