भर्खरै : Sorry, your browser does not support inline SVG.

शासक दलका नेताहरुले देश विरोधी काम गरिरहेका छन् : अध्यक्ष विजुक्छे

शासक दलका नेताहरुले देश विरोधी काम गरिरहेका छन् : अध्यक्ष विजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छें (रोहित)ले नेपालका शासकहरु विदेशीहरुको गोट्टी भएको आरोप लगाएका छन् । ख्वप माविको २३ औं, ख्वप कलेजको २१ औं, शारदा क्याम्पसको ३२ औं र ख्वप कलेज अफ लको स्थापना तथा सञ्चालनको अवसरमा शैक्षिक प्रदर्शनी एवं पुरस्कार वितरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष विजुक्छेले उक्त कुरा बताएका हुन ।

नेपाल भारत, बेलायत र अमेरिकाको अर्धउपनिवेशको रुपमा रहेको उल्लेख गर्दै अध्यक्ष विजुक्छेले शासक दलका नेताहरु विदेशीहरुको हितमा चल्ने भएकाले कुनै पनि समयमा विदेशी झण्डा नेपालको उत्तरी क्षेत्रमा फहराउन सक्ने सम्भावना रहेको दाबी गरे ।

उनले देशभक्त प्राध्यापक, बुद्धिजीवी, विद्यार्थीहरु र नेपाली नागरिकहरु सबै मिलेर विदेशीको कुनै लोभ लालचमा नपरी देशको सार्वभौकिता रक्षाको निम्ति लड्ने भावना विकास गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष विजुक्छेंले रुसले युक्रेनमाथि आक्रमण गरेको सन्दर्भमा संचार माध्यमले गलत समाचार सम्प्रेषण गरिरहेको बताउँदै सोभियत संघबाट १४ वटा देशहरु टुक्रिएको बेला नाटोको सदस्य नहुने शर्त राखेको थियो तर संयुक्त राज्य अमेरिका र बेलायतले हातहतियार सहयोग गरेको हुँदा अब यो युद्ध नरोकिने स्पष्ट भएको जानकारी दिए ।

उनले युक्रेन युद्धको सम्भावना रुसमा मात्र नभई युरेसिया क्षेत्रमा बढ्दै गएको र केहि समय पश्चात रुसको मुख्य क्षेत्र तथा चीनमाथि समेत आक्रमण हुनसक्ने सम्भावना रहेको बताए । कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष एवं भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित २१ वर्ष अगाडि स्थापित ख्वप कलेजमा ख्वप कलेज अफ ल समेत गरी हाल ८ वटा कलेजहरुमा देशभरीका ७२ वटा जिल्लाका करिब ७ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिए ।

सस्तो, सुलभ र गुणस्तरीय शिक्षाको लागि स्थानीय तहबाट सञ्चालित ख्वप सर्कल उदाहरणीय तथा शैक्षिक गन्तव्यको रुपमा विकास भइरहेको उनले चर्चा गरे । उनले शिशु स्याहारदेखि विश्वविद्यालय तहसम्मका विभिन्न विषयहरु अध्यापनरत भक्तपुर नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरु बन्द हडतालबाट मुक्त रहेको बताउँदै हरेक वर्ष ३ करोड बराबरको छात्रवृत्ति, ५ लाखसम्मको शैक्षिक ऋणको व्यवस्था, नेपाल भाषा, इतिहास, भूगोल, संस्कृति र राजनीतिशास्त्र विषयमा विद्यावारिधिसम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको बताए ।

विद्यार्थीहरुले कुनै न कुनै विषयमा विशेषज्ञता हासिल गरी इमानदार र कर्तव्यनिष्ठ भई देश र जनताको सेवा गर्ने भावना सहित कार्य गर्नुपर्ने बताउँदै भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणका साथसाथै खेलकुद क्षेत्रमा पनि भक्तपुरको पहिचान कायम गराउन हरेक वर्ष विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरेको तथा सहिद दिवसको अवसरमा अन्तरनगर खेलकुद प्रतियोगिता गर्ने गरेको उनले जानकारी दिए ।

कार्यक्रममा बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले युवाहरु विदेशिने क्रम हरेक वर्ष बढ्दै यस वर्ष १० लाख पुग्ने अनुमान गरिएको हुँदा यो विषय सोचनीय रहेको बताए । उनले देशको कृषि उत्पादकत्व ह«ास हुनुमा जनशक्ति विदेश पलायन हुनु मुख्य कारण रहेको र शासक दल यसको मुख्य जिम्मेवार रहेको बताँदै युवाहरु विदेशिंदा भौतिक रुपमा धन आर्जन भएता पनि बौद्धिक धनको कमी हुँदै गएको हुँदा नयाँ पुस्ता सचेत हुनुपर्ने तर्क गरे ।

वैदेशिक सहयोग विना पनि विकास निर्माण सम्भव छ भन्ने ज्वलन्त उदाहरण भक्तपुर भएको र भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षण लगायतका क्षेत्रमा गरिरहेको कार्यले प्रष्ट भएको उनले बताए । “नेपालको प्रजातान्त्रिक अभ्यास पक्ष र विपक्ष सहितको वेस्टमिन्सटर मोडेलभन्दा बाहिर गएको र ठूला शासक दलहरु सत्ता मोहमा परी प्रतिपक्षमा नबसी गठबन्धनमा चुनाव लडी प्रधानमन्त्रीको समर्थन गर्नु राजनीतिको नाममा लुट हो र ठगी हो” उनले भने ।

भनपाका उपप्रमुख एवं कलेजहरुका सञ्चालन समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुर नरपालिकाले नगरलाई सभ्य, सुसंस्कृत र शैक्षिक गन्तव्यका साथै सम्पदा र संस्कृति तथा ज्ञान विज्ञानको केन्द्रविन्दुको रुपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताइन । उनले शिक्षालाई श्रमसँग जोड्ने सोचका साथ नगरभित्रका ९२ वटै विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागू गरी नयाँ पुस्तालाई नगरको कला, संस्कृति, भाषा र भक्तपुरको स्थानीय मौलिक पहिचान बोकेका सामग्रीहरु बनाउने सीप विकास गराउन उत्प्रेरित गरिरहेको बनाइन ।

कार्यक्रमका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. महाश्रम शर्माले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि लगायत शैक्षिक संस्थाहरु सामुदायिक स्तरमा सञ्चालित देशभरीकै उदाहरणीय संस्था रहेको चर्चा गर्दै यसलाई अझ बढी फलदायी बनाउन विद्यार्थीहरुले प्राप्त गरेको शिक्षालाई व्यवहारमा परिवर्तन गर्नुपर्ने, शिक्षालाई अनुसन्धान लक्षित गर्नुपर्ने तथा शिक्षकहरुलाई तालिममार्पmत सीपयुक्त बनाउनुपर्नेमा जोड दिइन ।

कार्यक्रमका विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले सामुदायिक क्षेत्रमा ख्वप कलेजले निर्वाह गरिरहेको भूमिका स¥हानीय रहेको चर्चा गर्दै विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त प्रयासबाट कलेजलाई उत्कृष्ट बनाउन सकिने बताए । उनले ख्वप कलेजले सर्वसुलभ र गुणस्तरीय कलेजको रुपमा छवि बनाइरहेको उल्लेख गर्नुहुँदै यसलाई गुणस्तर परीक्षणबाट पुष्टी गर्न सके अझ प्रभावकारी हुने तथा विश्वविद्यालय अनुदान आयोगबाट अनुसन्धानको लागि आवश्यक सहयोग गर्न तत्पर रहेको जानकारी दिए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नेपालको शिक्षा प्रणालीमा केही त्रुटी रहेको बताउनुहुँदै वर्षेणी विदेश जाने क्रम दिनानुदिन बढ्दै जानु चिन्ताजनक रहेको बनाउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन योगदान पु¥याएको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुको चर्चा देशभरीका अन्य स्थानीय तहहरुका लागि उदाहरणीय बनिरहेको बताउँदै भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन जनप्रतिनिधि, कर्मचारी र जनताको साझा प्रयास उल्लेखनीय रहेको चर्चा गरे ।

कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनका लागि सा“स्कृतिक प्रस्तुतिहरु राखिएको थियो भने प्रमुख अतिथि विजुक्छेंले १० वर्षभन्दा बढी अनवतर सेवा गरेको १० जना शिक्षक कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । त्यसैगरी वार्षिक परीक्षाहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यालयहरु, अन्तरविद्यालय बास्केटबलमा विजयी विद्यालयहरु तथा वक्तृत्वकला प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो ।वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित शैक्षिक प्रदर्शनी फागुन ३,४ र ५ गतेसम्म हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.