शासकदलका कारण गरिब जनताका छोराछोरी शिक्षाको पहुँचबाट टाढा हुनुपर्ने भयोः नारायणमान बिजुक्छें

शासकदलका कारण गरिब जनताका छोराछोरी शिक्षाको पहुँचबाट टाढा हुनुपर्ने भयोः नारायणमान बिजुक्छें

भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयको ६४ औं, वागीश्वरी कलेजको १५ औं र वागीश्वरी कलेज अफ मेनेज्मेन्टको वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले ठूलादलहरुका कारण गरिब जनताका छोराछोरी शिक्षाको पहुँचबाट टाढा हुनुपर्ने बेला आएको बताए ।

शासकदलहरुले अनेक षड्यन्त्र गरिरहेको भन्दै जनता सचेत हुनुपर्ने बताए । सरकारको नीतिगत खोटको देशभक्त जनताले विरोध र आलोचना गर्न दिनुपर्ने तर्क गरे । विदेशीको इसारामा चल्ने र विदेशीको हितमा काम गर्नेले कहिल्यै पनि देशको हित नगर्ने बताए । व्यक्ति स्वार्थबाट टाढा रही सिंगो समाजलाई अगाडि बढाउने नीति नै समाजवादी नीति भएको बिजुक्छेंको तर्क छ ।

सिद्धान्त र दर्शनलाई भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्दा देश दुर्घटनातिर जाने उल्लेख गर्दै नयाँ पुस्ताका विद्यार्थीहरुलाई विश्वको इतिहास र भूगोलबारे सिकाउन जरुरी रहेको बताए । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बागीश्वरीअन्तर्गत ३ वटा कलेजहरु संयुक्त रुपमा अगाडि बढाइरहेको बताए ।

देशकै नमुना शैक्षिक संस्थाको रुपमा विकास गर्ने उद्देश्यअनुरुप यी शैक्षिक संस्थाहरु सञ्चालनमा रहेको उनको भनाइछ । सामुदायिक विद्यालयले उत्कृष्ट शिक्षा प्रदान गर्छ भन्ने उदाहरणको रुपमा बागीश्वरी रहेको भन्दै बागीश्वरीले हरेक चुनौतीलाई अवसरको रुपमा परिणत गरी आजको सफलता हासिल गरेको दावी गरे ।

यसैबीच बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले अहिलेको राजनैतिक नेतृत्वमा नैतिकताको चरम अभाव रहेको जिकिर गरे । स्थानीय पाठ्यक्रम लागू गरी भक्तपुर नगरपालिकाले सराहनीय काम गरेको भन्दै पाठ्यक्रमको व्यवहारिक र वैज्ञानिक ढंगले अगाडि बढाउन अनुरोध गरे ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

घोकन्ते विद्याको औचित्यता नरहेको प्रष्ट पार्दै उनले विद्यार्थीहरुलाई आफैले केही सिक्ने वातावरण विद्यालयले प्रदान गर्न सके विद्यार्थीहरु तुलनात्मक रुपमा अगाडि बढ्ने बताए । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सृजना सैंजुले देशैभरि सामुदायिक कलेज लथालिङ्ग बनिरहेको समयमा बागीश्वरीले शिक्षामा नमुना काम गरी नविन आयाम थपिरहेको बताइन् ।

ख्वप विश्वविद्यालय स्थापनाको निम्ति संघर्ष जारी राख्ने भन्दै उनले शिक्षामा नवउदारवादको विरोध गर्न आवश्यक भएको तर्क गरिन् । बागीश्वरीले बीबीएको कक्षा सञ्चालनसँगै आगामी दिनमा एमबीएलाई पनि अगाडि बढाउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बागीश्वरी मावि र कलेज समुदायमा आधारित समावेशी विद्यालयहरुको रुपमा सञ्चालनमा रहेको बताए । स्थानीय सरकारको सफल नेतृत्वले भक्तपुरलाई शिक्षामा नमुनाको रुपमा अगाडि बढाउन टेवा पुगेको दावी गरे ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालय र कलेजको स्तर उत्कृष्ट रहेको प्रमुख जिल्ला अधिकारी भक्तपुरका खगेन्द्र प्रसाद रिजालले बताए । भक्तपुरका सहयोगी समुदायको संयुक्त प्रयासले भक्तपुर शैक्षिक ज्ञानको केन्द्रको रुपमा विकास हुन सफल भएको उनको भनाइ छ ।

वार्षिकोत्सव कार्यक्रममा बागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा, बागीश्वरी कलेजका प्रअ धनकुमार श्रेष्ठ, बागीशवरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष रविन्द्र ज्याख्व, सहायक प्रधानाध्यापक उकेश सुवालले शिक्षाको विषयमा प्रष्ट पारेका थिए ।

वार्षिकोत्सव समारोहमा राजन लाखा, श्रीकृष्ण किसी, विद्यार्थी प्रतिनिधि चाँदनी रानी बैद्य, कलेजका तर्फबाट तेन्जिङ डोल्मा लामालगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले प्रावि शिक्षक राजेन्द्र भण्डारी, प्रावि शिक्षक प्रमिला प्रधान, प्रावि शिक्षक श्री ज्ञानी छोरी श्रेष्ठ र विद्यालय सहयोगी हरिप्रसाद दाहाललाई दीर्घसेवी शिक्षकद्धारा सम्मान गरेका थिए ।

कार्यक्रममा शिक्षक तथा कर्मचारी, कक्षा ११ वार्षिक र १२ प्रिबोर्ड पुरस्कार, कलेजको प्रिबोर्ड पुरस्कार, एस.ई.ई. टपर मेडल, प्लस टु टपर मेडल, टेक्स टपर मेडल, स्नातक टपरलाई मेडल तथा पुरस्कार वितरण गरिएको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.