काठमाडौं । तीन महिनाभित्र काठमाडौं महानगरपालिकाका मुख्य सडकमा सिसि टिभी र सडक बत्ती जडान गरिसक्ने काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । शुक्रवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा उपप्रमुख डंगोलले सडकका खाल्डाखुल्डी पुर्नेदेखि फुटपाथलाई व्यवस्थित बनाउनेसम्मको काम हुने बताइन ।
उनले सिसि टिभीका लागि नेपाल प्रहरीसँग र सडक बत्तीका लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भइ काम अघि बढेको बताउँदै धुलोरहित सडक बनाउनका लागि महानगरपालिकाले एक अर्बको टेण्डर अघि बढाइसकेको बताइन ।
उनले सडकका पूर्वाधार व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखिएको बताउँदै विद्युत प्राधिकरणले सडक पेटीमा विद्युत बक्स राखिदिँदा पैदल यात्रीलाई असहज भएको भन्दै त्यसबारेमा सोच्न आग्रह गरिन । उपप्रमुख डंगोलले सवारी साधनको रुटमा विशेष पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको तर्क गरिन ।
