काठमाडौँ । सरकारको गतिविधिले सत्ता गठबन्धनमा खटपट देखिएको छ । संविधान लत्याएर सत्ता गठबन्धनले कोशीमा सरकार बनाउन दवाव दिएको भन्दै केन्द्रीय नेताहरु आरोप प्रत्यारोपमा उत्रेका छन् ।
गठबन्धनको नेतृत्वकर्ता कांग्रेसभित्रै पक्ष विपक्षमा बहस भइरहँदा अन्य दलहरुसमेत आक्रोशीत छन् । कोशी प्रदेशमा सरकार गठनको रमिताले केन्द्रमै भुकम्प ल्याइदिएको छ ।
केन्द्रीय सत्ता गठबन्धनको आलोचनाका लागि कोशीको विषय बलियो आधार बनिरहेको छ । केन्द्रकै दवावमा २–२ पटक संविधानलाई कुल्चेर गठन भएको कांग्रेस नेतृत्वको सरकार कोशीका लागि घाँडो बनेको छ ।
सर्वोच्च अदालतले दुवै पटकको सरकार गठन प्रक्रिया गलत रहेको ठम्याइसकेको छ । सर्वोच्चको आदेशपछि दोस्रो पटक गठन भएको कांग्रेस नेतृत्वको सरकार पनि अन्यौलमा छ । यद्यपी केन्द्रमा संसदीय सेटिङमा बार्गेनिङ गरेर राप्रपालाई प्रदेशमा साथ लिने अस्त्र गठबन्धनले अपनाएको छ ।
यसअघि संविधान विपरित सरकार गठनका लागि दवाव दिइएको भन्दै केन्द्रमै नेताहरुबिच आरोप प्रत्यारोप सुरु भइसकेको छ । गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसभित्र कोशीको विषयले उग्ररुप लिँदै गएको छ । गठबन्धनको बलमा संविधान कुल्चने प्रयास भएको भन्दै शेखर समुहले असन्तुष्ट छ ।
