सरकारी दस्तावेजमा विदेशी ह्याकरको आक्रमण, पटक–पटक किन हुन्छ सर्भर डाउन ?

सरकारी दस्तावेजमा विदेशी ह्याकरको आक्रमण, पटक–पटक किन हुन्छ सर्भर डाउन ?

काठमाडौं । शनिबार दिनभर भएको सरकारी सर्भर डाउनले सरकारी दस्तावेज सुरक्षा जोखिममा परेको छ । विदेशी ह्याकरले सरकारी डेटा चोर्ने उद्देश्यले आक्रमण गरेको राष्ट्रिय सूचना केन्द्रले जनाएको छ । यस विषयमा सोध्दा केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले भने, ‘विदेशी ह्याकरहरूले पटक–पटक अट्याक गरिरहेका छन् ।

जसकारण केन्द्रीय सर्भर डाउन भइरहेको छ । डेटा चोरी नहोस् भनेर हाम्रा प्राविधिकहरू सर्भर सुरक्षाका लागि निरन्तर खटिरहेका छन् ।’ तर, कुन देशबाट ह्याकरले आक्रमण गरेको हो भन्ने कुरा उनलाई पत्तो छैन । उक्त विषयमा अध्ययन भइरहेको पोखरेलले बताए । आज आइतबारसम्म विस्तृत विवरण आउँनेमा उनी विश्वस्त छन् ।

शनिबार मध्याह्न १२ बजेतिर सर्भरमा आक्रमण गरेको केन्द्रका एक कर्मचारीको भनाइ छ । डाउन भएको सर्भर झन्डै पाँच घण्टापछि ‘रिकभर’ भएको हो । फेरि साँझ साढे ७ बजे ह्याकरको आक्रमणमा सर्भर परेर बन्द भएको कर्मचारीको भनाइ छ ।

सुरक्षमा रहेका कर्मचारीले भने, ‘सुरुमा सामान्य प्राविधिक समस्या होला भन्ने ठानेका थियौं तर, पटक–पटक सर्भरमा आक्रमण भएपछि गम्भीर समस्या रहेको आकलन गर्‍यौं ।’ अहिले सर्भरमा आएको समस्याबारे अनुसन्धान भइरहेको छ ।

सरकारको केन्द्रीय सर्भर डाउन हुँदा सरकारी वेबसाइटहरु बन्द मात्रै भएनन्, अति संवेदनशील क्षेत्रको कामसमेत प्रभावित भयो । अध्यागमन विभागको सफ्टवेयर नचल्दा विदेशबाट आवतजावत गर्नेको विवरण संकलनमा समस्या देखियो । प्रवक्ता पोखरेलले भने, ‘सर्भर समस्याको पहिचान गर्न प्राविधिक टोली खटिरहेको छ।

अनुसन्धानपछि विस्तृत विवरण आउनेछ ।’ सर्भर डाउन हुँदा म्यानुअली रूपमा विवरण संकलन गर्नुपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय प्रमुख बासुदेव घिमिरेले बताए । सरकारी सर्भरलाई प्रभावकारी नबनाएसम्म अध्यागमनजस्तो संवेदनशील क्षेत्र प्रभावित भइरहने उनको भनाइ छ ।

उडान प्रभावित बनेपछि ‘म्यानुअली’ रूपमा अन्तर्राष्ट्रिय उडान गरेको भन्दै सर्भर डाउन हुँदा विवरण संकलनमा समस्या आएको उनको भनाइ छ । उनले विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.