काठमाडौं । साउने संक्रान्तिको अवसरमा विहानै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ । आज साँझपख लुतो फ्याँक्ने पनि गरिन्छ । गाउँघरमा कुकुर डाइनो, अमिला फल, कुरिलोगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वासले लुतो फ्याँक्ने चलन रहेको छ ।
किराँत समुदायमा एकाबिहानै फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुन्ड्याउने चलन रहेको पाइन्छ भने साँझपख थाल नाङ्लो र ढोल बजाइ भूतप्रेत भगाइन्छ। संक्रान्तिका अवसरमा छोरीचेलीलाई बोलाएर खुवाउने सबैजसो समुदायमा प्रचलन छ । औँसी तिथि र सोमबार एकैदिन परेको दिन सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाउँछन् । यस्तै सुदूर पश्चिम र मध्यपश्चिमतिर यस दिनमा अगुल्टो फ्याँक्दै खराब तत्त्वलाई भगाउने चलन रहेको छ ।
साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरसहित देशका धेरै धार्मिकस्थलमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । साउनको सोमबार भगवान शिवको पूजा अर्चना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यता केदारनाथकाे शिर डाेलेश्वर महादेव धार्मिकस्थलमा पनि भक्तजनहरूकाे घाेइँचाे लागेकाे छ ।
