काठमाडौं । स्व राजा वीरेन्द्र वीरविक्रम शाह र उनकी रानी ऐश्वर्यले प्रयोग गरेका सामग्रीहरू अब सर्वसाधारणले हेर्न पाउने भएका छन्।
शनिबार आयोजित कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले श्री सदन प्रदर्शनमा ल्याइएको घोषणा गरेसंगै नारायणहिटी दरबार भित्रको राजाले प्रयोग गर्ने श्रीपेच र राजा वीरेन्द्र तथा उनको परिवारले प्रयोग गरेकोसामाग्रीसहित निवास अवलोकन गर्न पाउने भएका हुन । जुन सदनमा राजा वीरेन्द्र र रानी ऐश्वर्यले प्रयोग गरेका सबै सामग्री यथावत राखिएको छ ।
राजसंस्थासँग जोडिएका अन्य ऐतिहासिक पुरातात्विक वस्तुको पनि अवलोकन गर्न सकिने छ । नारायणहिटी दरबार संग्रहालयकै क्षेत्रभित्र पर्ने यो ठाउँ सर्वसाधारणका लागि खुला गरिएको थिएन । अध्यन गर्नेका लागि तत्कालीन राजपरिवारको जीवनशैली बुझ्न सहज हुनेछ ।
२०२३ सालमा निर्माण भएको यो सदनमा उमेर पुगेका युवराज र राजा एउटै घरमा बस्नु हुन्न भन्ने राजपरम्पराअनुसार वीरेन्द्रका लागि श्री सदन बनाईएको थियो । सात आना दुई पैसा क्षेत्रफल ओगटेको यस सदनको यो भवनमा १६ कोठा रहेका छन्।
