हाइकिङका लागि मह गाउँ (दगाम) प्रख्यात

हाइकिङका लागि मह गाउँ (दगाम) प्रख्यात

शुक्लागण्ड । शुक्लागण्डकी नगरपालिका–२ मा पर्ने दगाम गाउँमा २३ घर छन् । बीस घरमा मगर र तीन घरमा गुरुङको बसोबास छ । सबै घरमा मौरीका घारले सजिएका छन् । यहाँको मह स्वदेशमा मात्रै नभई विदेशमा पनि निर्यात हुने भएकाले दगाम गाउँको पहिचान नै मह गाउँ बनेको हो ।

उत्तरपट्टि चाँदीजस्तै टलक्क टल्केका अन्नपूर्ण, धौलागिरि, मनास्लु, माछापुच्छ्रेलगायत उच्च हिम चुचुरासंग आँखा जुधाउन सकिने यहाँको विशिष्टता हो । दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यले यस गाउँलाई पर्यटनको महत्व राम्ररी थाह छ ।

प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहार र यहाँको महले पाएको चर्चासँगै अने ठाउँबाट यहाँ पर्यटक पुग्न थालेका छन् । पर्यटक गाउँमा आएपछि स्थानीयवासी हौसिएका छन् ।

मह गाउँको महत्व बढ्दै गएको चर्चासँगै हाइकर्स क्लब नेपालले आफ्नो ३५ औँ शृङ्खला नै दगाममा सम्पन्न गरेको छ । संयोजक कृष्ण रानाभाटले भने, ‘स्वास्थ्य र पर्यटनको लागि हाइकिङ’ मूल नाराका साथ विगत तीन वर्षदेखि सञ्चालन भइरहेको हाइकिङ यस पटक दगाममा गरेका हौँ ।”

दगाम सामुदायिक होमस्टे र यहाँका स्थानीयको सरल, निश्चल र सहयोगी भावनालाई प्रत्यक्ष अनुभव गरिन्छ । दगाम शुद्ध महका लागि पुग्नै पर्ने गन्तव्यका रुपमा पनि परिचित छ । हिमाली एवं पहाडी भूभागको दृश्यावलोकनसँगै यहाँको महलाई पर्यटनसँग जोड्न सकिने पर्याप्त सम्भावना रहेको रानाभाटले बताए ।

दगाम सामुदायिक होमस्टेमा पुग्ने जो कोहीलाई स्थानीयले अतिथि देवो भवःको मन्त्रलाई आत्मसात् गरिरहेका छन् । यहाँ पुग्ने जो कोहीलाई अबिर, फूलको गुच्छा प्रदान गरेर परम्परागत मगर जातिको मौलिक कौरा नृत्यले स्वागत गरिन्छ । तनहुँ र कास्कीको सिमानामा पर्ने पृथ्वी राजमार्गको कोत्रे बजारबाट दगाम पुग्न गाडीको सुविधा छ ।

त्यहाँबाट हाइकिङ गरी ज्वालादेवी सामुदायिक वन, मकनपुर गाउँ, भुजिकोट हुँदै यहाँ सजिलै पुग्न सकिन्छ । मौरीपालनका माध्यमबाट दगाम गाउँले आफ्नो छुट्टै पहिचान गराउन सफल भएको समाजसेवी नन्दबहादुर थापाले बताए ।

विदेशमा समेत यहाँको मह पुग्ने गरेको सुनाउँदै उनले गाउँबाटै प्रतिकिलो रु एक हजार पाँच सयमा बिक्री भइरहेको बताए । मह उत्पादन जति भएपनि बजारको कुनै समस्या नरहेको उनको भनाइ छ । पछिल्ला समय अत्याधिक पर्यटक दगाम आउने गरेको दगाम सामुदायिक होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष तिला थापा मगरले बताइन् ।

दगामबाट हिमाल वरपरका हरिया डाँडाहरू, शुक्लागण्डकी क्षेत्रका, पोखराको फेवातालसम्मका दृश्यहरुमा पर्यटक लोभिने गरेको देखिन्छ । प्रकृति, संस्कृति र आत्मीयताले पर्यटक आउन थालेपछि स्थानीयवासी विसं २०६५ मा नेपालकै पहिलो घरवास सुरु भएको स्याङ्जाको सिरुबारी गाउँ पुगेका थिए ।

त्यो अवलोकन पछि दगाममा घरबास सुरु गरिएको हो । घरवास चलाउन २०६३ सालदेखि नै योजना बनाए पनि सिरुबारीको प्रेरणाले यसतर्फ लागिएको स्थानीयवासी बताउँछन् । घरवासमा आउने पर्यटकले कोदो, मकैको परिकारसँगै लोकल कुखुराको मासुलगायतका स्थानीय परिकार नै बढी रुचाउने गरेको स्थानीयको अनुभव छ ।

सकेसम्म भटमास, मस्याङ, गुन्द्रुक, ढिँडो, महलगायतका स्थानीय परिकार नै खुवाउने गरेको अध्यक्ष थापामगरले बताइन् । घरवासमा आउने पर्यटकका लागि रु एक हजार चार सयको प्याकेज उपलब्ध गराउने उनको भनाइ छ । यसमा दिउँसो र बिहानको खाजा, बिहान बेलुकाको खाना, मनोरञ्जन र आवासको सुविधा मिलाइएको छ ।

प्रत्येक दिन ४० जना पाहुना राख्न सक्ने क्षमता रहेको दगाममा पर्यटकले मह खरिद गरी लैजान थालेपछि स्थानीयवासीमा झन उत्साहित भएका छन् । मगर र गुरुङ जातिको संस्कृति यहाँको मुख्य आकर्षण हो ।

कात्तिक–मङ्सिरमा बालन नाच, मङ्सिरदेखि माघसम्म नचरी, सोरठी र ख्याली, फागु पूर्णिमादेखि कौरा नाच देखाइने यो गाउँमा संस्कृति संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ । प्राचीन घाटुनाचको संरक्षणलाई पनि स्थानीयले जोड दिएका छन् ।

चैत–वैशाखमा वरपरका जङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसले यहाँ आउने जो–कसैको मन लोभ्याउने गर्दछ । गाउँ पर्यटनमा प्रचुर सम्भावना बोकेर पनि पूर्वाधारको अभावका कारण दगाम अझै ओझेलमा गरेको अर्का स्थानीयवासी तीलबहादुर थापामगरले बताए ।

दगामको प्रवर्द्धन गर्दै पर्यटकको आगमन अझै बढाउन सके यो ठाउँ पर्यटनको हब हुने र अन्य स्थानका लागि पनि प्रेरक बन्न सक्ने हाइकर्स क्लबको धारणा छ । यसमा स्थानीय सरकारले पनि ध्यान पु¥याउन जरुरी छ ।

 


Thali Mobile Pvt.Ltd.