दुई जना महिलाहरुले हातको इशारले अटो रोक्न लगाइन, चालकले अटो रोके अनि…

दुई जना महिलाहरुले हातको इशारले अटो रोक्न लगाइन, चालकले अटो रोके अनि… image

कुरा केही दिन पहिलेको हो । सुर्खेतको मङ्गलगढी चोक बाट बाङ्गेसिमल जाने भनेर अटोमा चढेर बसें । पछाडी दुई जना पहिले देखि नै बसेका थिए । म बसि सकेपछि उक्त अटोमा सबै तिन जना भयौं । अटोको पछाडी तिन जनालाई बस्न मिल्ने ठाँउ हुन्छ । अटो चालकले अगाडी अबैधानिक तरिकाले आफ्नो वरिपरि एक–एक जनालाई बसालेका थिए ।

अटो यरी चोक पुगेपछि दुई जना महिलाहरुले हातको इशारले अटो रोक्न लगाइन, अटो चालकले अटो रोके अनि ती महिलाहरुले हामी मुलपानी सम्म जाने भनेर भने अनि चालकले ती महिलाहरुलाई पछाडी बस्न भने ! त्यो समयमा मैले चालकलाई भनें – “भाई बस्ने ठाउँ नै छैन कहाँ बस्ने भन्नुहुन्छ ?”

चालकले भन्छ – “अलि मिलाउनुहोस न !”

“अरे भाइ बस्ने ठाँउ नै छैन त कसरी मिलाउने भन्छौ ?

पछाडी बसेका हामी तिनै जना अलि मोटो जिउका छौं” यति भन्दा पनि उ मान्दैन, फेरि भन्छ – “मिलाउनुहोस न दाइ भइहाल्छ के !

हामी छ सात जनालाई बसालेर जान्छौं अलि अगाडी पछाडी भयर बस्नुहोस भइहाल्छ ।”

त्यसपछी मैले भनें , “मैले भाडा पनि पुरा दिने, पहिलेबाट नै बसेको पनि म किन एडजस्ट गरुं ? मैले किन कष्टका साथ बस्ने?” यो बेलासम्म अरु सबै चुपचाप बसेका छन । कोही केही बोल्दैनन् । बेलुकाको समय छ । पछाडी अरु अटोहरु पनि आइरहेका छन । किन सबैलाई यसै अटोमा एडजस्ट भयर नै जानुपर्ने होला र भनेर सोच्दै थिएं ।

अटो चालकले ति महिलाहरुलाई जबरजस्ति बसाल्न खोजेको देख्दा मैले सोचे । यो सङ्ग धेरै बहस गर्नुभन्दा म आफै यतै झर्छु ! यरी चोक सम्मको भाडा तिरेर म झरें । अरु सबै बसि नबसी कष्टका साथ त्यसै अटोमा गए । आखिर यो समायोजन (एडजस्टमेन्ट) कहिलेसम्म र किन ?

कस्ता कस्ता एडजस्टमेन्ट गर्दै जाने ? कहाँ सम्म र को को सङ्ग गर्दै जाने ? के सधै यसरी नै चुप लागेर बसिरहने ? जे भैरहेको छ त्यो सब चली रहन दिने ? अन्याय सहन गरी चुप्प लागेर बस्ने ? कसले पहल गर्ने ? कहिले गर्ने ? के परिवर्तन यसरी आउन सम्भव छ त ? के यसरी बन्छ मेरो नया नेपाल ? भ्रमण बर्ष २०२० चलिरहेको छ, के यही सन्देश दिने हामीले पर्यटकहरुलाई ?

यस्ता अनगिन्ती प्रश्नहरु उठिरहन्छन मनमा । यो त एउटा सानो घटना थियो एडजस्टमेन्टको । यस्ता कैयौं एडजस्टमेन्ट हामीले गरि रहेका छौ दिनदिनै अलग अलग क्षेत्रहरुमा । देशका कथित ठुला ठुला नेताबाट लिएर साना साना ब्यक्तिहरुले एडजस्टमेन्ट गरेको देखिन्छ । यो एडजस्टमेन्ट गर्नु पनि एक प्रकारको घृणित भ्रष्टाचार नै हो कि जस्तो लाग्छ मलाई त !

प्रसङ्ग हो प्रवृतिको
तिन महिना पहिले दैलेख जानलाई बसपार्कमा यात्रुको लागि तानातान भएको देख्यौं, कान्छो भाई साथमा थियो । दैलेख जानलाई तयार एउटा हाइसको सह चालकले आयर भन्छ – “दाई हाम्रो हाइसमा आउनुहोस् एक जनाको भाडा दर २५० दिनुहोला । अनि मैले टिकट माग्दा भन्छ टिकट पछि पाउनुहुन्छ ।

पछि सुर्खेतको घन्टाघर भन्दा माथि एक ठाउँमा हाइस रोकेर यात्रुहरुलाई भन्छ – “त्यो काउन्टर बाट टिकट लियर आउनुहोस” टिकट लिन जाँदा काउन्टरमा बसेको मानिसले भन्छ – “भाडादर ८०० रुपैया दिनुहोस् दुई जनाको” मैले सोधें – “भाइ ८०० रुपैया किन ? अघि सहचालक भाइले एक जनाको २५० रुपैया भनेर ल्यायको भन्दा उसले भन्छ – “दैलेखको भाडा एक जनाको ४०० रुपैया हुन्छ ।

दुई जनाको ८०० दिनुहोस् । यो भन्दा तल हुदैन” अनि मैले सहचालक र चालकलाई सोधें – “के हो भाई, किन यस्तो गरेको ? किन हामीलाई ढाटेर ल्यायौ ?” सहचालकले भन्छ – “ए …टिकट लिनुहोस न दाई, भाडा यति नै हो के !” मैले भनें – “म टिकट लिदैन, बरु मलाई बस पार्क पुर्यायर आउ म अर्को गाडीमा जाऊंला” अरु सबै यात्रुहरु पनि उनिहरुसङ्ग झगडा गरि रहेका थिए ।

गाडी त्यही रोकियको छ उनिहरुलाई केही वास्ता छैन । न बसपार्क छोड्छ्न न त अगाडी जान्छन् । भाईको दैलेखमा अति आवश्यक काम थियो समयमा जसरी पनि पुग्नु पर्ने त्यसकारण भाइले भन्यो – “भयो दाजु रहन दिनुहोस् यसैमा जाऊं, समयमा नपुगे आफ्नै नोक्सान हुने हो” मरता क्या न करता भने जस्तै आखिर एडजस्मेन्ट गरेर सोही बसमा जानू पर्यो ।

यात्रुहरु…! बाप रे बाप..! १५÷१६ जना बस्न मिलने सीटमा २५÷२६ जनालाई कोचाकोच गरी भेडा बाख्राझैं हूलेर लगि राखेका छन । सबैले एडजस्ट गरेका छन कोही उभिएका छन त कोही झुन्डिएका छन । कोही गाली गरि रहेका छन त कोही अँध्यारो मुख लाएर बसी रहेका छन । विरोध गर्ने साहस कसैमा छैन ।

जता हेर्यो त्यतै प्रत्येकले समायोजन (एडजस्टमेन्ट) गरेको देखिन्छ । भाडामा एडजस्टमेन्ट ! गाडीको सिटमा एडजस्टमेन्ट ! पसलमा सामान किन्न जादा हामी जनताले बारगेनिङ गरेर मूल्यमा समायोजन (एडजस्टमेन्ट) गरेका छौ भने पसलेले १०० रुपैयाको सामानलाई ५०० मुल्य भनी पछि घटाउदा घटाउदा ३०० मा बेचेका छन ।

पसलेले १०० रुपैयाको सामानलाई ३०० मा बेचेर २०० रुपैया फाइदा भयो भनेर खुसी छ भने हामी मुर्ख जनता ५०० को सामानलाइ ३०० मा किन्न सफल भयौ भनेर खुसी छौ । वाह रे एडजस्टमेन्ट !! देशका नेताहरु भोट र भ्रष्टाचारको एडजस्टमेन्टमा व्यस्त, ब्यापारी लुटको एडजस्टमेन्टमा व्यस्त, गाडी मालिक भाडाको एडजस्टमेन्टमा व्यस्त, बिद्यालयहरु शुल्कको एडजस्टमेन्टमा व्यस्त, ठेकेदार घोटालाको एडजस्टमेन्टमा व्यस्त, टिप्पर मान्छे मारेर कसरी बचूँ भन्ने एडजस्मेन्टमा व्यस्त, विदेशमा गएका दाजुभाई दिदिबहिनी मन नपरेको जागीर गर्ने एडजस्टमेन्टमा व्यस्त अनि हामी जनता आफ्नो मुर्खताको एडजस्टमेन्टमा व्यस्त ।

वाह रे वाह एडजस्टमेन्ट!! आखिर कहिले सम्म यो एडजस्टमेन्ट ?

“भई हाल्छ के….अलि मिलाऊं, थोरै एडजस्ट गरौं न” यो वाक्य हो – देशलाई कहिल्यै अगाड़ी बढ़न न दिने वाक्य । यो वाक्यले हामी डरपोक रहेछौं, हामी शिक्षित रहेनछौं, हाम्रो केही अस्तित्व नै रहेन छ, हाम्रो स्वाभिमान पनि मरी सकेको रहेछ, हामी भित्र साहस नै रहेन छ भन्ने बोध गराऊँछ । यदि हामी डरपोक न भयको भये हामी लड्थ्यों । यदि हामी शिक्षित भएको भये विरोध गर्थ्यों । यदि हाम्रो केही अस्तित्व भएको भए हाम्रो स्वाभिमान बिउझिन्थ्यो । यदि हामीमा साहस भएको भये हामी नेतृत्व गर्थ्यौं । तर ….!!!!

हाम्रा बुवा आमा अनपढ़ थिए अरे तर हामी त पढ़े लेखेका छौं नि त । पढ्न जानना छौं, लेखन जानना छौं, भिडियो गेम खेल्न जानना छौं, मोबाइल मा फेसबुक चालाउन जानना छौं, कुरा काटन जानना छौं । हामीले न जान्याको क्या छ र, सब थोक त जान्याकाई छौं ।

ए ..! खाली पढ़े र लेखेका मात्रै रहेछौं. शिक्षित त रहेन छौं ।

चिन्तन र सोचको सम्मिलन
पैदल हिंड्ने मान्छेले मोटरसाइकिल किन्न सक्छ, मोटरसाइकिल हुनेले कार किन्न सक्छ र कार हुनेले त्यो भन्दा राम्रो कार किन्न सक्छ. तर हाम्रो एडजस्टमेंट गर्ने बानीले त्यसो गर्न दिन्न । फर्क मात्र सोच र आंट को हो । हाम्रै वरि परी कैयों मान्छेहरु छन त जो संग यी सबै सवारी साधनहरु छन । उनिहरु र हामीहरुमा के फर्क रहेछ त ? उनीहरूले एडजस्टमेंट गर्न मन पराएनन, आफ्नो सोचमा परिवर्तन ल्याए, आंट गरे अनी हासिल गरे, बस ।

हामीहरु एडजस्टमेंट किन गर्छौं त ? बाध्यताले ? अज्ञानताले ? वा डरले ?
यो एडजस्टमेंट को भाइरसलाई कसरी हाम्रो देश र समाज बाट बाहिर फाल्ने ? के होला यसको उपाय ?

शुरुआत हामी (जनता) बाटै हुन्छ । हामीले नै पहल गर्नु पर्छ र हामीले नै अन्त्य गर्नु पर्छ । हामीले आज दुःख भोग्नु पर्या छ त्यसको दोषी पनि हामी नै छौं । हाम्रो सबै भन्दा ठुलो अधिकार भनेको हाम्रो मताधिकार हो । भोट गर्न पाउने अधिकार, नेता चुनने अधिकार । त्यसको सदुपयोग न गर्नाले आज हामी दुःख भोगी रहेका छौं । योग्य र शिक्षित व्यक्ति लाई चुन्न छोडेर हामीले त्यसलाई चुन्यौं जसले हामीलाई किन्यो । हामीले आफ्नो अधिकारलाई बेच्यौं । हामीले हाम्रो स्वाभिमानलाई बेच्यौं ।

हामीले आफै संग गद्दारी गर्यौं र देश संग पनि । हामीले यो हाम्रो आफन्त हो, यो हाम्रो जातको हो, चिनेको हो भनी न सोचेर एक शिक्षित र योग्य उम्मेदवार लाई आफ्नो अमूल्य भोट दिएर जिताएको भये आज यो दुःख भोग्नु न पर्ने थियो । एक योग्य र शिक्षित उम्मेदवार संग हामीहरुलाई किन्ने पैसा हुँदैन किनकी उ ईमानदार र गरीब हुन्छ । उसले राम्रा राम्रा कुरा गरेर हामीलाई छक्क पार्दैन किनकी उ सच्चा हुन्छ । हामीले आफै त्यस्तो व्यक्तित्व लाई चिन्नू पर्ने हुन्छ ।

हाम्रो देश प्राकृतिक संसाधन बाट परिपूर्ण छ । माथि बसेका देश चलाउने कथंकदाचित पाइलटहरु योग्य, इमानदार र शिक्षित भई दिएको भए आज ८० लाख युवाहरुलाई रोजगारीका लागी बिदेशिनु पर्ने थिएन । उनिहरुको नियत राम्रो भई दिएको भए मुल्क भ्रष्टाचार मुक्त हुन्थ्यो । उनिहरु संग सत्ता छ, पावर छ, निर्णय लिन सक्ने अधिकार छ । गर्न चाहे के हो र न हुन सक्ने ?

एक पटक माथि उल्लेखित अटोको सन्दर्भ लाई नै हेरौं न । यातायात कार्यालय बाट अनुमति लिंदा स्पष्ट लेखिएको हुन्छ कि ३ं१ अर्थात पछाड़ी ३ जना बसाल्न मिलने र अगाडी चालक मात्र । तीन जना भन्दा बढ़ी बसाल्नुको अर्थ भयो कि चालकले कÞानून को उल्लंघन गर्योे ।. पहिलो चोटी उल्लंघन गरे बापत नै कड़ा कारवाही (जस्तै गाड़ी सीज, जेल चालान अथवा धेरै ठूलो आर्थिक जरीमाना) गरी दिएको भए उसको हिम्मत नै हुँदैन थियो अर्को चोटी तीन बाहेक अरु सवारी बसालने ।

तर खै ? त्यसो गरे बेईमान र भ्रस्टाचारी ट्राफिक प्रहरीको खल्तीमा एक सुख्खो न आउने. “भाड़ में जाए जनता जब काम हो अपना बनता” भने झैं । जनता मरे मरुन. मलाई के मतलब. मेरो खल्तीमा रोकड़ा आउनु पर्यो । सबै अटोवालाहरुले इमानदारी पूर्वक अटो चलाये पछि त मलाई त सुक्खो आऊदैन । यस्तो मंशाय हुन्छ एउटा सानो भ्रस्टाचारी ट्राफिक प्रहरी को पनि ।

अब ठूला भ्रस्टाचारी गोहीहरूका कुरा गरौं । बाटोमा खाल्डा भए हुदै रहून, धुलो माटो भए हुदै रहोस, पिच न भए न होस. धूलो माटो ले जनता मरे मरुन । मलाई के मतलब । मैले त महंगा एयर कंडीशंड गाड़ीमा न गुड़ने हो, हवाई जहाज र हेलिकप्टरमा न उड़ने हो । यस्तो मंशाय पालेर बसेका छन ठूला गोहीहरू ।

कठै…!! हाम्रो देश, हाम्रो भाग्य …!!

२०१८ सालमा थाईल्यांड गएको बेला ब्यांग्कोक बाट पटाया जांदा बाटोमा कुनै पनि गाड़ी ले हर्न बजाएको न देख्दा अचम्म लाग्यो । कार ड्राईवर मानस संग सोधें – “मिस्टर मानस, के थाईल्यांडमा हर्न बजाउन मनाही छ र ? मैले कुनै पनी गाडीले हर्न बजाएको देखिन त” । मानसले भन्छ – “होइन सर, मनाही त छैन, तर किन हर्न बजाउने, हामी भन्दा अगाड़ी को मान्छे पनि कुनै समस्याले गर्दा न रोकिएको होला, एक छिन पछि गई हाल्छ” ।

वाह, क्या सोच थियो एउटा ड्राईभर मात्र को !!
त्यस्तै एउटा अर्को घटनाले पनि मेरो मन छुयो । ब्यांग्कोक सिटीभित्र धेरै ट्राफिक जाम भएको स्थानमा एउटा बस आएर बस रोकिने ठाऊँमा उभियो. तल बस स्टयांडमा भित्र पस्ने यात्रुहरू १(१ फिट को दूरी बनाएर लाइन लगाएर उभिएका छन. पहिला तल झरने सबै यात्रुहरुलाई झर्न दिए अनी मात्र भित्र पसे । जनता आफै अनुशासित थिए ।

त्यहाँ का जनता शिक्षित छन भन्ने कुरा स्पष्ट बुझिन्छ ।. तर हामी कहिले शिक्षित हुने ?

कामको बाध्यताले बिदेशिनु परेका नेपाली दाजूभाई र दीदीबहिनिहरूलाई त नेपालमै जन्मिएको कारणले पक्कै पनि आफ्नो देशको माया लाग्छ तर यदि उहाँहरुका छोराछोरिहरु जो उतै जन्मे(हुर्केका छन उनिहरु नेपालमा कहिल्यै पनि आऊन चाहंदैनन । सानै बाट राम्रो स्कूलमा पढेका, राम्रो खाएका, सुख सुविधामा हुर्किएका. किन आउछंन र उनीहरू यहाँ दुःख भोग्नका लागी ? आमा बुवा स्वदेश फर्किन चाहन्छन तर बच्चाहरु फर्किन मान्दैनन ।

उनीहरु त्यसै देशमा आफुलाई सुरक्षित महसूस गर्छन । हुन पनि हो । विकसित देशहरूले देशमा बस्ने प्रत्येक नागरिकलाई आफ्नै देशका नागरिक सरह सुविधा र सुरक्षा दी रहेको हुन्छ । यदि हाम्रो देशमा पनि राम्रा राम्रा सडकहरु, राम्रा राम्रा स्कूलहरु, राम्रा राम्रा अस्पतालहरु, उद्योग कल कारखानाहरू र रोजगारीको सृजना भई दिएको भए किन फर्किने थिएनन बच्चाहरुपनि । अवश्य फर्किन्थे । सबैलाई मन पर्छ आफ्नो देश ।

हाम्रा देशका कलाकारहरु, व्यवसायी, विद्यार्थीहरु जो विदेशमा गएर सेटल भैसकेका छन र फर्किदैनन । यस्ता सयौं उदहारण हामी देख्न सक्छौं । किन त यस्तो ? भन्दा एउटै जवाफ हामी पाऊछौं “सरकारको कमजोरी” । हो…!! निसंदेह यो सरकारको कमजोरी हो तर हामीहरुपनी यसमा उत्तिकै भागीदार छौं । हाम्रो शिक्षा, हाम्रो ज्ञान, हाम्रो क्षमता, हाम्रा अधिकारको हामीले उचित प्रयोग न गरेर हामी यसमा दोषी बन्न पुगेका छौं ।

प्राकृतिक संसाधनहरुको खानी हाम्रो देश गरीब कदापि होईन । यसलाई गरीब बनाईएको हो । गरीब नै रहन दिईएको हो । बुद्धि भएका, उच्च शैक्षिक तथा व्यवहारिक क्षमता हासिल गरेका, मास्टर पी.एचडी गरेका, बी.टेक एम.टेक गरेका, एम.बी.ए. गरेका र लोकसेवा उतीर्ण गरेकाहरुले जब सम्म अनपढ़ अथवा साँस्कृतिक स्तर कम भएका नेताहरुको चाकरी र गुलामी गरी रहन्छन तब सम्म यो देशको दशा र दिशा बदलिएला भन्ने न सोचे पनि हुन्छ । जाबो एउटा चपरासीको जागरी खानलाई पढ़े लेखेको मान्छे चाहिन्छ र त्यसको क्षमताको परीक्षण गरिन्छ भने सिंगो देश चलाउनलाई किन पढ़े लेखेको विद्वान मान्छे न चाहिएको र किन त्यसको क्षमताको परीक्षण नगरिएको हो ? विचार गर्नुहोस त !

घोत्लियौं उचित समाधानमा
हाम्रो समाजमा व्याप्त विविध प्रकारका विकृतिहरुको लागी दोषी को ? र असामाजिक क्रियाकलापहरुमा अभिवृद्धि किन भईरहेको छ ? यसको उत्तर एउटै छ “हामी मूर्ख जनताहरू” । हामी यसमा पनि समायोजन नै गर्छौं । चुप्प लागेर बसी रहेका हुन्छौं । यो देश मेरो मात्र हो र ? अरुलाई केही मतलब छैन, म किन आफ्नो टाउको दुखाई रहूँ ? हो…!

यही सोचले हामीलाई समायोजन (एडजस्टमेन्ट) गर्न बाध्य गर्छ । हामीले आफ्नो सोच बद्लिनु पर्ने आवश्यकता छ । सोच बदले विरोध हुन्छ, विरोध भए भ्रस्टाचार रोकिन्छ, भ्रस्टाचार रोकिए विकास हुन्छ । विकास भए देश समृद्ध बन्छ । त्यसैले हामीहरु वास्तवमा हाम्रो देशको विकास र समृद्धि हेर्न चाहन्छों भने गलत भई रहेको विरोध गर्न सीकौं ।

आफु शिक्षित भएको परिचय दिउं । समाजका सबै नागरिकहरु सजग र जिम्मेवार नबनेसम्म यथास्थितिमा रहेका मानिसहरुको चिन्तन र व्यवहारमा परिवर्तन आउन सक्दैन । सोचले व्यवहारलाई निर्देशित गर्दछ, त्यसैले हरेक नागरिकले आफूभित्र रहेका खराब प्रवृतिहरुका विरुद्ध संघर्ष गरौं र सर्वोच्च मानवीय मूल्य तथा मान्यताको प्रवद्र्धन गरौं ।

हाम्रो देशलाई मानव सम्पदाको उत्कृष्ट गन्तव्य स्थलको रुपमा विकास गर्न समाजका हरेक शिक्षित र जागरुक नागरिकहरु एकमनको एकता गरी परिवर्तनकारी क्रियाकलापहरुमा सक्रियतापूर्वक अग्रसर बनौं । तव मात्र हाम्रो चिन्तनमा रुपान्तरण हुन्छ, हाम्रो जीवन सुनिश्चित हुनेछ र हाम्रा सन्ततिहरुको भविष्य उज्ज्वल हुने छ ।

अतः अनावश्यक कुरामा समायोजनको सँस्कृतिलाई बन्द गरौं र गलत तथा असामाजिक क्रियाकलापहरुको भण्डाफोर गर्ने कार्यमा ढिलासुस्ती कहिल्यै नगरौं । यो जिम्मेवारी हामी सबैको हो । हरेक कुरामा अनावश्यक समायोजन (एडजस्टमेन्ट) गर्न छोड़ों । सजगतापूर्वक आफ्नो हक र मौलिक अधिकारका साथ आफ्नो जीवन जिउने प्रयत्न गरौं । कुनै महान व्यक्तिले भनेका छन “अन्याय गर्नु पाप हो भने, अन्याय सहन गर्नु त्यो भन्दा ठूलो पाप हो ।” दीपबहादुर बडुवाल (दीपक)

(लेखक कर्णाली प्रदेश, दैलेख जिल्ला आठबीस नगरपालिका वडा नं. ८ तिलेपाटा, स्थायी बसोबास भई हाल बीरेन्द्रनगर सुर्खेतमा व्यवसायी तथा समाजसेवीको रुपमा क्रियाशील हुनुहुन्छ.)

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda