काठमाडाैं, १४ जेठ । पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापू क्षेत्रमा गएको पहिरोले दर्जनौँ बस्ती जोखिममा परेका छन् । बेमौसमी वर्षापछि गएको पहिरोका कारण यहाँका २६ घर उच्च जोखिममा रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
गत जेठ ८ गते परेको भारी वर्षापछि च्याङथापूका विभिन्न स्थानमा पहिरो खसेको थियो । पहिरोले साविक च्याङथापू गाविसका विभिन्न टोल प्रभावित भएका छन् । वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार ठिङ्गेपुर, कोप्चे, बिरुवा, पेरुङ्गे, चाम्लिङडाँडा, एकराते, खोलाघारी र सुन्दरपुर क्षेत्रमा सबैभन्दा बढी असर परेको छ । उनका अनुसार करिब ७० घर पहिरोको जोखिममा छन् ।
पहिरोले चाम्लिङडाँडाका महमलाल खवास र कविरमान खवासको घर बगाएको छ भने कोप्चेका गङ्गाराम बेघाको घर समेत पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । अन्य धेरै घर पहिरोको जोखिममा रहेकाले स्थानीय त्रसित बनेका छन् । वडाध्यक्ष खालिङले वर्षा सुरु हुनासाथ बासिन्दा सुरक्षित स्थानतर्फ भाग्नुपर्ने अवस्था रहेको बताए । उनले भने, “कतै घरमाथिबाट पहिरो झरेको छ भने कतै घरमुनिबाट जमिन चर्किएको छ । पानी पर्नासाथ गाउँभर त्रास फैलिन्छ ।”
पहिरोले मानविय क्षति नभए पनि पशुचौपाया बगाएको, खेतीयोग्य जमिन र अलैँची बगानमा ठूलो क्षति पुगेको जनाइएको छ । स्थानीयका अनुसार च्याङथापू क्षेत्रमा तीन वर्षअघि पनि ठूलो बाढीपहिरो गएको थियो । विसं २०८० असार ३ गते मेवाखोलासहितका खोलामा आएको बाढी र पहिरोले यहाँ व्यापक क्षति पुर्याएको थियो ।
वडाध्यक्ष खालिङले अहिलेको अवस्था त्यतिबेलाभन्दा झन् भयावह भएको बताए । “तीन वर्षअघि पहिरोले गाउँ ध्वस्त पारेको थियो । अहिले फेरि त्यस्तै पीडा दोहोरिएको छ,” उनले भने । जिल्ला समन्वय समितिका पूर्वसदस्य नरबहादुर गुरुङले पनि पहिरो प्रभावित क्षेत्रमा अत्यधिक त्रास रहेको बताए । उनका अनुसार बादल लाग्नेबित्तिकै स्थानीय घर छाडेर भाग्नुपर्ने अवस्था छ ।
बाढीपहिरोले आठ वटा सिँचाइ आयोजना, तीन वटा खानेपानी योजना तथा तीन वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । यस्तै पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत च्याङथापू खण्ड, फाक्लुङ–फालोट सडक, च्याङथापू–समरजुङ तथा च्याङथापू–लामपोखरी सडकमा समेत व्यापक क्षति पुगेको छ ।
च्याङथापू–लामपोखरी सडक अवरुद्ध भएपछि सुकाढापस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्टसम्म आवश्यक सामग्री पुर्याउन समस्या भएको छ । सडक अवरुद्ध हुँदा ५० भन्दा बढी विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् भने गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षणसमेत प्रभावित बनेको छ ।
लगातारको विपत्तिपछि स्थानीयले च्याङथापू क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् । उनीहरूका अनुसार तीन वर्षअघिको क्षति पुनर्निर्माण नहुँदै फेरि ठूलो विपत्ति आइपरेको हो । याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार वडा नम्बर १, २ र ३ मा सबैभन्दा बढी क्षति पुगेको छ भने वडा नम्बर ४ र ५ मा सामान्य असर परेको छ ।
हाल बाढीपहिरोका कारण पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत ओयाम–च्याङथापू–चिवाभञ्ज्याङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ । गाउँपालिकाले ओयामतर्फबाट सडक खुलाउने काम सुरु गरिएको जनाएको छ । उपाध्यक्ष मेन्याङ्बोले राहत वितरणमा समेत कठिनाइ भइरहेको बताए । उनका अनुसार सडक सम्पर्क टुटेकाले प्रभावित क्षेत्रमा पुग्न समस्या भइरहेको छ ।
