भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत

आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत

कैलाली। कैलालीको कैलारी गाउँपालिका-८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँखेती गर्छन् । उक्त जमिनमा गहुँखेती गर्दा रु ११ हजार लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ । गहुँ खेतीमा जिरो टिलेज प्रविधि प्रयोग गरिएकाले यसपालि रु पाँच हजार मात्र खर्च हुनाका साथै मेहनत कम र काम पनि छिटो सकिएको उनले बताए । ‘सामान्यतया गहुँखेती गर्दा तीन पटक जोत्नुर्पछ’, कृषक चौधरीले भने, ‘तर अहिले जिरो टिलेज प्रविधिमा मेहनत कम र समय पनि बचत भएको छ।’

गहुँका बाला पनि राम्रो भएकाले विगतको भन्दा राम्रो उत्पादन हुने अनुमान गर्दै उनले आधुनिक प्रविधि आए पनि एक जनाले मात्र सञ्चालन गर्न सम्भव नभएको बताए । ‘प्रविधि राम्रो छ तर एक जनाले मात्र काम गर्नु सम्भव देखिँदैन,’ कृषक चौधरीले भने, ‘त्यसका लागि समूहगतरुपमा काम गर्नु आवश्यक देखिन्छ। ट्र्याक्टरसँगै सिडड्रिल आश्यक पर्ने हुँदा साना किसानहरूको एकल लगानी भने असम्भव हुन्छ।’ जिरो टिलेज प्रविधिबाट लगाएको गुहँ देखेर अन्य किसान पनि उत्साहित भएको कैलारी गाउँपालिका–८ का अर्का किसान सानुराम चौधरीले बताए । जिरो टिलेज (बिना खनजो)बाट गरिएको गहुँ खेतीले आफूहरूलाई धेरै सहज भएको उनको भनाइ थियो । ‘पहिलो पटक बारीमा खनजोत नगरेर नै गहुँ लगाइएको छ’, सानुरामले भने, ‘गहुँको बोट हेर्दा फसल राम्रो हुने देखिन्छ।’

‘बाइस कट्ठा जमिनमा पहिलो पटक टिलेज प्रविधिबाट गहुँ खेती गरिएको छ’, उनले भने, ‘सामान्य तरिकाले गरिने गहुँ खेतीभन्दा यस प्रविधिबाट गरिने खेतीमा आधाभन्दा पनि कम लागत लागेको छ ।’ उपकरण महँगो भएको हुँदा एकल लगानी असम्भव भएको उनले बताए । ट्र्याक्टर र सिडड्रिल गरी रु २० लाखभन्दा बढी लाग्ने हुँदा समूहगतरुपमा काम गर्नुपर्नेमा सानुरामले पनि जोड दियो। थोरै श्रमशक्तिमा धेरै आम्दानी गर्न सकिने भएकाले खेतीपातीमा कृषि यान्त्रीकरणको प्रयोग गर्नुपर्नेमा अर्का किसान अजित चौधरीले बताए । ‘थोरै श्रमशक्तिमा धेरै आम्दानी त छँदैछ किसानलाई झन्झट पनि कम हुन्छ’, उनले भने, ‘दस दिन लगाएर गरिने गहुँ खेती एक घण्टामै सकिन्छ। ८० प्रतिशत श्रमशक्ति पनि बचत हुन्छ ।’

खेतबारी जोत्न सजिलो मात्र नभई छिटो पनि हुने भएकाले कृषि क्षेत्रमा उपकरणको प्रयोगमा यहाँका किसान आकर्षित भएका हुन्। जिल्लाको सबैभन्दा बढी गहुँ खेती हुने क्षेत्र कैलारी गाउँपालिकामा प्रदर्शनीका रूपमा झण्डै तीन बिघा क्षेत्रफलमा जिरो टिलेज प्रविधिबाट खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका शाखाप्रमुख गोविन्दराज जोशीले बताए । परम्परागत छरुवा विधिको तुलनामा लागत खर्च निकै कम आउने, सिँचाइ गर्दा पानी कम लाग्ने र उत्पादन राम्रो हुने उनको भनाइ थियो । ‘यस प्रविधिबाट सिडड्रिल मेसिनको सहायताले गहुँ र मल एकैनासले लाइनमा पर्ने गरी छर्नुपर्छ। उम्रेका गहुँका बोटले राम्ररी मल पाउने भएकाले एउटै बिरुवामा गाँज राम्रो आउँछ’, शाखाप्रमुख जोशीले भने । छरुवा प्रविधिमा गरिएको खेतीमा बढी पानी भए बोट पहेलो भई मर्ने र कम उत्पादन दिने समस्या हुन्छ तर यस प्रविधिबाट त्यो समस्या नहुने उनले बताए ।

हिउँदमा बढी चिस्यान हुँदा बाँझो रहने खेतको सदुपयोग गर्दै यस प्रविधिबाट गहुँखेती गरी बढी प्रतिफल हासिल गर्न सकिने र झारपात तथा रोग कीराको प्रकोपसमेत बढी नहुने शाखाप्रमुख जोशीको भनाइ थियो । कार्यालयले जिरो टिलेज प्रविधिमा गहुँ खेती गर्ने किसानलाई अनुदानमा उन्नत जातको गहुँको बीउ र मल सहयोग उपलब्ध गराएको छ ।

 


Thali Mobile Pvt.Ltd.