भर्खरै : Sorry, your browser does not support inline SVG.

४८७ किलो गाँजा तस्करीका मुख्य आरोपीलाई सरकारी वकिलबाट उन्मुक्ति

४८७ किलो गाँजा तस्करीका मुख्य आरोपीलाई सरकारी वकिलबाट उन्मुक्ति

काठमाडौँ, १८ असाेज । महोत्तरीमा ४८७ किलो गाँजा बरामद भएको घटनामा प्रहरीले मुख्य भूमिकामा रहेको निष्कर्ष निकालेका आरोपी सुरेश चौधरीलाई सरकारी वकिलले प्रतिवादी नबनाई उन्मुक्ति दिएको पाइएको छ ।

धनकुटाको भेडेटारबाट महोत्तरी ल्याइएको ठूलो परिमाणको गाँजा कारोबारसम्बन्धी मुद्दा अभियोजन गर्दा जिल्ला सरकारी वकिल कार्यालय महोत्तरीले चौधरीको नाम प्रतिवादीको सूचीबाट हटाएको हो ।

प्रहरीको अनुसन्धानमा महोत्तरीको एकडारा गाउँपालिका–५ का ३१ वर्षीय सुरेश चौधरीको गाँजा कारोबारमा मुख्य भूमिका रहेको निष्कर्ष निकालिएको थियो । प्रहरीले उनलाई प्रतिवादी बनाउन अदालतबाट पक्राउ पुर्जीसमेत लिएको थियो । तर सरकारी वकिलले चौधरीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै अन्य चार जनाविरुद्ध मात्र अदालतमा अभियोग दायर गरेका छन् ।

असार २० गते बिहान महोत्तरीको एकडारा गाउँपालिका–१ भटौलियामा सशस्त्र प्रहरीले ना.३ ख ६५९२ नम्बरको ट्रक जाँच गर्दा ४० किलो ३६० ग्राम गाँजा बरामद गरेको थियो । त्यस क्रममा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–६ का २४ वर्षीय साधुराम थिङ र सहचालक २१ वर्षीय विपश नेगी पक्राउ परेका थिए ।

उनीहरूको बयानका आधारमा प्रहरीले असार २१ गते महोत्तरी गाउँपालिका–४ रानी रतवडास्थित लिलम देवीको घरमा लुकाएर राखिएको अवस्थामा थप ४४६ किलो गाँजा बरामद गरेको थियो । यसरी बरामद भएको गाँजाको कुल परिमाण ४८७ किलो पुगेको थियो । प्रहरी अनुसन्धानमा ट्रक चालक थिङले उक्त गाँजा असार १८ गते भेडेटारबाट ‘बिक्रम राई’ नाम गरेका व्यक्तिले पठाएको बयान दिएका थिए ।

तर प्रहरीले राईबारे थप अनुसन्धान नगरी प्रतिवेदन पेस गरेको देखिएको छ । सरकारी वकिलले ट्रक चालक साधुराम थिङ, सहचालक विपश नेगी, महोत्तरी गाउँपालिका–३ का रंधिर ठाकुर र गाँजा लुकाएर राखिएको घरकी धनी लिलम देवीलाई मात्र प्रतिवादी बनाएको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनमा भने गाँजा तस्करीका क्रममा सुरेश चौधरी र रंधिर ठाकुरबीच १३ पटक फोन सम्पर्क भएको उल्लेख छ । घटनाको समयमा चौधरीको मोबाइल लोकेसन धनुषाको जिरोमाइल, महोत्तरीको रातौली–गोहीपिपरा तथा रतवडा–बलवासँग देखिएको अनुसन्धानमा उल्लेख गरिएको छ ।

त्यस्तै, गाँजा ओसारपसारका क्रममा प्रयोग भएको म.प्र. ०२–००८ प ९२४० नम्बरको मोटरसाइकल रंधिर ठाकुरको नाममा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उक्त मोटरसाइकलले जनकपुरको पिडारी चोक आसपासबाट गाँजा बोकेको ट्रकलाई स्कर्टिङ गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । प्रहरीले चौधरीविरुद्ध पक्राउ पुर्जी लिएर प्रतिवादी बनाउन राय दिए पनि सरकारी वकिलले अन्तिम समयमा सीडीआर विवरण मात्रै पर्याप्त प्रमाण नभएको भन्दै उनीविरुद्ध अभियोग नलगाएको जिल्ला न्यायाधिवक्ता उदय चन्द्र अधिकारीले बताएका छन् ।

उनका अनुसार चौधरीविरुद्ध थप प्रमाण फेला परेमा पछि अर्को अभियोग दायर गर्न सकिने कानुनी विकल्प खुला छ । यस घटनामा प्रतिवादी बनाइएका रंधिर ठाकुर यसअघि काठमाडौं जिल्ला अदालतबाट २०६९ सालमा २ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भएका व्यक्ति हुन् । त्यस्तै, साधुराम थिङविरुद्ध महोत्तरी प्रहरीले यसअघि नै अर्को मुद्दासमेत चलाएको थियो ।

प्रहरीले सुरेश चौधरीविरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १६ बमोजिम पटके कसुरदारका रूपमा थप सजाय माग गरेको थियो । यसअघि सार्वजनिक शान्तिविरुद्धको कसुरमा १० हजार रुपैयाँ जरिवाना ठहर भएका चौधरीलाई भने यसपटक सरकारी वकिलले अभियोगबाट बाहिर राखेका छन् ।

 


Thali Mobile Pvt.Ltd.