काठमाडौँ, १८ असाेज । निजी मेडिकल कलेजमाथि प्रतिनिधिसभामा लगाइएको आरोपप्रति निजी मेडिकल एण्ड डेन्टल कलेज एसोसिएसन अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
केही दिनअघि प्रतिनिधिसभा बैठकमा सांसद रहबर अन्सारीले नेसनल मेडिकल कलेजमा कार्यरत व्यक्तिलाई प्राध्यापकका रूपमा प्रस्तुत गरेर स्नातकोत्तर तहको सिट लिएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा नक्कली बिरामी प्रस्तुत गरिएको तथा विद्यार्थीले अनियमितताविरुद्ध आवाज उठाउँदा अध्ययन र आवासमा अवरोध गरिएको आरोप सदनमा उठाएका थिए ।
एसोसिएसनले विज्ञप्ति जारी गर्दै कुनै मेडिकल कलेजमा अनियमितता भएको तथ्य र प्रमाण भएमा त्यसको छानबिन तथा कारबाहीका लागि चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिललगायत अधिकारप्राप्त नियामक निकाय रहेको स्पष्ट पारेको छ । अनियमितता प्रमाणित भएमा संलग्न जोसुकै भए पनि प्रचलित कानुनअनुसार कारबाही हुनुपर्ने र त्यस्तो कार्यको संरक्षण नगर्ने प्रतिबद्धता एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान कार्कीले संसद्मा सार्वजनिक सरोकारका विषय उठ्नु स्वाभाविक र आवश्यक भए पनि शैक्षिक तथा स्वास्थ्य संस्थामाथि गम्भीर आरोप लगाउँदा तथ्य, प्रमाण र जिम्मेवारीप्रति संवेदनशील हुनुपर्ने बताउनुभएको छ । अधिकारिक निकायबाट छानबिन र निष्कर्ष आउनुअघि नै आरोपलाई स्थापित तथ्यका रूपमा प्रस्तुत गर्दा सम्बन्धित संस्थाको प्रतिष्ठामा असर पर्न सक्ने एसोसिएसनको भनाइ छ ।
त्यसको असर विद्यार्थीको मनोबल, चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशागत प्रतिष्ठा, बिरामीको विश्वास र समग्र चिकित्सा शिक्षा प्रणालीप्रतिको सार्वजनिक भरोसामा समेत पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । एसोसिएसनले कानुनभन्दा माथि कुनै व्यक्ति वा संस्था हुन नसक्ने मान्यता स्वीकार गर्दै प्रमाणित अनियमितताको संरक्षण गर्न नहुने जनाएको छ । तर प्रमाणित हुन बाँकी आरोपकै आधारमा सार्वजनिक रूपमा कसैलाई दोषी ठहर गर्न नहुनेमा पनि एसोसिएसनले जोड दिएको छ ।
एसोसिएसनले चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल तथा अन्य अधिकारप्राप्त निकायलाई सार्वजनिक रूपमा उठाइएका विषयमा शीघ्र, निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ । विद्यार्थीको भविष्य, बिरामीलाई प्रदान गरिने सेवा र नेपालको चिकित्सा शिक्षाप्रतिको सार्वजनिक विश्वासलाई केन्द्रमा राखेर सबै पक्षलाई संयमित, जिम्मेवार र तथ्यमा आधारित अभिव्यक्ति तथा व्यवहार अपनाउन पनि एसोसिएसनले आग्रह गरेको छ ।
