६९ देशका ६४८ आरोहीलाई आरोहण अनुमति ।
२० हिमालका लागि ७१ समूहले अनुमति लिए ।
४८५ पुरुष र १६३ महिला आरोही ।
आरोहण अनुमति शुल्कबाट २३ करोड ८९ लाख ६४ हजार २९८ रुपैयाँ राजस्व ।
मनास्लुका लागि मात्रै ४३ टोलीका ५०० आरोहीले अनुमति लिए ।
काठमाडौँ, १५ असाेज । शरद् ऋतुमा नेपालका हिमाल आरोहण गर्न ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको हो । अनुमति लिने आरोही ७१ समूहमा रहेका छन् ।
विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिनेमा ४८५ पुरुष र १६३ महिला रहेका छन् । सबैभन्दा धेरै चीनका ११८ आरोहीले अनुमति लिएका छन् ।
यस्तै, रूसका ५७, फ्रान्सका ५१, अमेरिकाका ४१, बेलायतका ३८, जर्मनीका ३४, जापानका २१, नेपालका २०, पोल्यान्डका १९, भारतका १८, अस्ट्रेलियाका १७, क्यानडाका १६, चेक रिपब्लिकका १६, स्पेनका १५ र स्वीजरल्यान्डका १३ आरोहीले अनुमति लिएका छन् ।
यसैगरी अर्जेन्टिनाका सात, बेल्जियमका सात, बुल्गेरियाका पाँचलगायत अन्य विभिन्न देशका आरोहीले पनि आरोहण अनुमति लिएका छन् ।आरोहण अनुमति प्रदान गरेबापत पर्यटन विभागले २३ करोड ८९ लाख ६४ हजार २९८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
शरद् ऋतुमा मनास्लु आरोहणतर्फ विशेष आकर्षण देखिएको छ । विभागका अनुसार मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन् ।
