काठमाडौँ, १८ असाेज । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी नयाँ शैक्षिक सत्र २०८४ का लागि पाठ्यपुस्तक छपाइ सुरु गरेको छ । पाठ्यक्रम परिमार्जनको तयारी भइरहे पनि नयाँ पाठ्यक्रमको प्रिन्टरप्लेट रेडी कपी (पीआरसी) तयार हुन समय लाग्ने भएपछि तत्कालका लागि पुरानै पाठ्यक्रमअनुसार पुस्तक छाप्न थालिएको हो ।
पाठ्यक्रम परिमार्जन गर्ने सरकारी निर्णयपछि नयाँ पाठ्यक्रमअनुसारको पीआरसी उपलब्ध हुन नसक्दा जनक शिक्षाले करिब दुई महिनासम्म पुस्तक छपाइ रोकेको थियो । छपाइ रोकिँदा आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तक अभाव हुन सक्ने चिन्ता बढेको थियो । जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता रामबहादुर कुँवरका अनुसार शिक्षा मन्त्रालयको निर्णयपछि असोज ३ गतेदेखि पुस्तक छपाइ पुनः सुरु गरिएको हो । छपाइ सुरु भएसँगै आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तक अभाव नहुने उहाँले बताउनुभयो ।
परिमार्जित पाठ्यक्रमको पीआरसी तयार गर्न करिब तीन महिना लाग्ने भएकाले अहिले गत वर्षकै पीआरसीअनुसार पाठ्यपुस्तक छाप्ने निर्णय गरिएको हो । आगामी शैक्षिक सत्रका लागि करिब एक करोड ८० लाख थान पाठ्यपुस्तक छापिने जनक शिक्षाले जनाएको छ । चालु शैक्षिक सत्र २०८३ का लागि पनि जनक शिक्षाले एक करोड ८० लाख थान पाठ्यपुस्तक छापेको थियो ।
केही कक्षाका केही विषयमा मात्रै पाठ्यक्रम परिमार्जन हुने भएकाले नयाँ पाठ्यक्रम लागू गर्नुअघि आवश्यक तयारी पूरा गरिने बताइएको छ । हाल कक्षा १, २ र ४ का पाठ्यपुस्तक निजी छापाखानाले छाप्दै आएका छन् भने कक्षा ३ तथा कक्षा ५ देखि १२ सम्मका पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छाप्दै आएको छ ।
शिक्षा मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को पुनरवलोकन तथा परिमार्जनको काम भने तीव्र बनाएको छ । राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्को ९८औँ बैठकको निर्णयअनुसार गत वैशाखको तेस्रो साता प्राडा बालचन्द्र लुइँटेलको संयोजकत्वमा पाठ्यक्रम पुनरवलोकन कार्यदल गठन गरिएको थियो ।
कार्यदलले सातवटै प्रदेशमा पुगेर पाठ्यक्रम सुधारका लागि सुझाव तथा पृष्ठपोषण संकलन गरिसकेको छ । देशभर सञ्चालन गरिएको सुझाव संकलन अभियानमा २५ हजारभन्दा बढी व्यक्ति सहभागी भएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । सुझाव संकलनका क्रममा नैतिक शिक्षा, संस्कार, कृत्रिम बुद्धिमत्ता, कोडिङ, जलवायु परिवर्तन, सीप तथा उद्यमशीलतालाई पाठ्यक्रममा प्राथमिकता दिनुपर्ने सुझाव आएको छ ।
त्यस्तै कम्प्युटर प्रविधि, ग्रिन स्कुल, प्राविधिक शिक्षा, साइबर सुरक्षा, पूर्वीय दर्शन, कम्युनिटी करिकुलम र नेचर लर्निङलगायत विषयलाई समेत पाठ्यक्रममा समेट्नुपर्ने सुझाव प्राप्त भएको छ । सरकारले संकलित सुझावका आधारमा समयसापेक्ष राष्ट्रिय पाठ्यक्रम तयार गर्ने जनाएको छ । तर नयाँ पाठ्यक्रम पूर्ण रूपमा लागू नहुँदासम्म आगामी शैक्षिक सत्रमा भने पुरानै पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक प्रयोग हुने भएका छन् ।
