एजेन्सी । बेलायतमा कोभिड–१९ सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेको सङ्ख्या एक सातामै झन्डै ५० प्रतिशतले बढेको छ । ‘स्ट्र्याटस’ नामले चिनिने ‘एक्सएफजी’ भेरियन्टको प्रभाव बढ्दै जाँदा बेलायतमा कोभिडका कारण अस्पताल भर्ना हुनेको सङ्ख्या बढेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । लन्डनमा यसको प्रभाव अझ बढी देखिएको बताइएको छ ।
बेलायतको हेल्थ सेक्युरिटी एजेन्सी (यूकेएचएसए) को नयाँ तथ्याङ्कअनुसार प्रति एक लाख जनसङ्ख्यामा कोभिडका कारण अस्पताल भर्ना हुने साप्ताहिक दर ०.८१ बाट बढेर १.२० पुगेको छ । लन्डनमा भने अस्पताल भर्ना हुने दरमा ७९ प्रतिशत वृद्धि देखिएको छ ।
कोभिड सङ्क्रमणबाट ज्येष्ठ नागरिकसमेत बढी प्रभावित भइरहेका छन् । ८५ वर्षभन्दा माथिका मानिसमा अस्पताल भर्ना हुने दर प्रति एक लाखमा ७.०८ बाट बढेर १२.४३ पुगेको तथ्याङ्कमा उल्लेख छ ।
स्वास्थ्य विज्ञहरूले अहिले देखिएको सङ्क्रमणको वास्तविक सङ्ख्या सार्वजनिक तथ्याङ्कभन्दा बढी हुन सक्ने बताएका छन् । महामारीको समयमा जस्तो अहिले नियमित रूपमा कोभिड परीक्षण नगरिएकाले सङ्क्रमितको वास्तविक सङ्ख्या यकिन गर्न कठिन रहेको उनीहरूको भनाइ छ ।
यद्यपि अहिलेको वृद्धि कोभिड महामारीको चरम अवस्थामा देखिएका लहरको तुलनामा निकै कम रहेको बताइएको छ । यूकेएचएसएले हाल अस्पताल भर्ना हुने दरलाई अझै आधारभूत स्तरमै रहेको जनाएको छ ।
बेलायतमा गएको अगस्टको अन्तिम हप्तामा कोभिडसँग सम्बन्धित सात जनाको मृत्यु भएको थियो । त्यसअघिको हप्तामा भने कोभिडसँग सम्बन्धित छ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।
