काठमाडौँ, १७ असाेज । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणालीअन्तर्गत सञ्चालन हुने परीक्षाका लागि सबै परीक्षा केन्द्रमा सीसी क्यामरा जडान अनिवार्य गरेको छ ।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको २०८३ साल भदौ ३ गते बसेको बैठकको निर्णयअनुसार अब परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य रूपमा जडान गर्नुपर्ने भएको हो । परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष तथा परीक्षा केन्द्रको प्रवेशद्वारको सम्पूर्ण दृश्य स्पष्ट रूपमा देखिने गरी क्यामरा जडान गर्नुपर्ने कार्यालयले जनाएको छ ।
जडान गरिएका सीसी क्यामरामा कम्तीमा डेढ महिनासम्मको दृश्य रेकर्ड सुरक्षित रहने व्यवस्था गर्नुपर्नेछ । साथै, उक्त रेकर्डको अनुगमन गर्न सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयलाई पहुँचसमेत उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ ।
परीक्षा सञ्चालनका क्रममा हुने गतिविधिको निगरानी तथा परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन यस्तो व्यवस्था गरिएको हो । परीक्षा नियन्त्रण कार्यालयले आगामी दिनमा वार्षिक परीक्षा सञ्चालन गर्दा सीसी क्यामरा जडान तथा अनुगमनसम्बन्धी व्यवस्था अनिवार्य रूपमा पालना गर्न सबै परीक्षा केन्द्रलाई सूचित गरेको छ ।
तोकिएबमोजिम सीसी क्यामराको व्यवस्थापन नगर्ने वा परीक्षा नियन्त्रण कार्यालयलाई अनुगमनको पहुँच उपलब्ध नगराउने परीक्षा केन्द्र परिवर्तन गर्न सकिने चेतावनीसमेत कार्यालयले दिएको छ ।
