कुल ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छापियो

कुल ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छापियो

काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगले ८ करोड ३ लाख ९४ हजार ५ सय थान मतपत्र छापिएको जनाएको हो । प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन प्रणालीका लागि कूल १ करोड ९८ लाख ७१ हजार थान प्रदेश सभातर्फ प्रत्यक्षका लागि १ करोड ९९ लाख १८ हजार ५ सय थान मतपत्र छापिएको आयोगले जनाएको छ ।

यसैगरी, प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि २ करोड ४ लाख २१ हजार थान र प्रदेशसभा समानुपातिकका लागि २ करोड १ लाख ८४ हजार थान मतपत्र छपाइ भएको हो । निर्वाचनका लागि कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० कायम भएका छन् । जसमा पुरुष मतदाता ९१ लाख ४० हजार ८ सय ६ तथा महिला मतदाता ८८ लाख ४७ हजार ५ सय ७९ कायम भएका छन् ।

अन्य मतदाता १ सय ८५ जना छन् । आयोगले निर्वाचनका लागि स्थायी मतदानस्थल १० हजार ८ सय ९२ र मतदान केन्द्र २२ हजार २ सय २७ निर्धारण गरेको आयोगका सहायक प्रवक्ता ऋषीराम भुषालले बताए । जिल्ला निर्वाचन कार्यालयबाट अस्थायी मतदानस्थल १ सय ५४ सिफारिस भएर आएको तर आयोगबाट स्वीकृत भने भइसकेको छैन ।

आयोगले अस्थायी मतदाताका रूपमा निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, वृद्धाश्रममा रहेका व्यक्तिलगायतलाई मानेको छ । तर, मतदाता नामावलीमा नाम रहेका मात्रै अस्थायी मतदाताका रूपमा सहभागी हुन पाउने छन् ।

आयोगले अस्थायी मतदाताका लागि १ लाख ४९ हजार १ सय ६४ जनाको नाम निर्वाचन आयोगको अस्थायी मतदाताको निर्वाचन प्रणालीमा ‘इन्ट्री’ भएको जनाएको छ । नीहरूमध्ये स्थायी मतदाता नामावलीमा नाम रहेकामात्रै मतदानमा सहभागी हुन पाउने छन् ।

हालसम्म आयोगले अस्थायी मतदाताका लागि नाम इन्ट्री भएकामध्ये १ लाख ४४ हजार ६ सय २५ जनाको नामावली भेरिफाई गरिसकेर अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको सहायक प्रवक्ता भुषालले बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.