खोपले बालबालिकालाई विभिन्न रोग तथा अपाङ्गता र मृत्यु हुनबाट जोगाउँछ

खोपले बालबालिकालाई विभिन्न रोग तथा अपाङ्गता र मृत्यु हुनबाट जोगाउँछ

काठमाण्डौ । बालबालिकाले खोप लगाउन पाउने भएका छन् । अभियान चलेका बेला छुटेका बालबालिकाले खोप लगाउन पाउने भएका हुन । सरकारले गएको वैशाख १५ र ३१ गते विशेष अभियान नै चलाएर खोपबाट छुटेका बालबालिकालाई खोप दिएको थियो । यो जेठ महिनामा विशेष अभियान नभए पनि नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन पाइने जनाएको छ ।

नियमित खोप लगाउन छुटेका बालबालिकालाई नजिकैको स्वास्थ्य केन्द्र तथा स्वास्थ्य संस्थाहरुमा लगेर खोप लगाउन पाइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ । सरकारले जन्मदेखि पाँच वर्षसम्मको उमेरका बालबालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धका खोप निःशुल्क दिने गरेको छ । आफ्ना बालबालिकालाई स्वस्थ राख्नका लागि नियमित खोप लगाउन उल्लेख गरिएको छ ।

कोरोना महामारीका समयमा कतिपय बालबालिका खोपबाट छुटेका थिए । जसले गर्दा अहिले ठाउँठाउँमा दादुरालगायत रोगको सङ्क्रमण देखिन थालेको छ । यस्ता सङ्क्रामक रोगबाट बालबालिकालाई जोगाउन खोप लगाए र नलगाएको ख्याल गर्न र नलगाएको भए तुरुन्त लगाउन सुझाइएको छ

बालबालिकालाई रोगबाट जोगाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन सुझाइएको छ । ५ वर्षमुनिका सबै बालबालिकालाई १५ महिनाभित्र लगाउनु पर्ने नियमित खोप दिइनेछ । खोपले बालबालिकालाई विभिन्न रोग तथा अपाङ्गता र मृत्यु हुनबाट जोगाउँछ ।

 


Thali Mobile Pvt.Ltd.