भक्तपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सामाग्री व्यवस्थापन गर्न स्थानीय तहलाई अधिकार प्रत्यायोजनबारे आवश्यक तयारी भइरहेको बताएका छन् । मंगलबार जिल्ला निर्वाचन कार्यालय भक्तपुरको आयोजनामा ‘निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै आयुक्त थपलियाले स्थानीय तहलाई मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्यलगायत विषयमा अधिकार प्रत्यायोजित गर्ने विषयमा तयारी भइरहेको बताएका हुन ।
भक्तपुर जिल्लाबाट कार्य आरम्भ गर्न भक्तपुर जिल्लाका स्थानीय तहका सबै जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरुसँग प्रारम्भिक छलफलको लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए । ‘निर्वाचन आयोग ऐन २०७३’ संशोधनको क्रममा रहेको बताउँदै आयुक्त थपिलियाले स्थानीय तहको सहमतिमा मात्र यो ऐन संशोधन गरी माथि उल्लिखित अधिकारहरु स्थानीय तहलाई प्रत्यायोजन गर्ने नीतिगत निर्णय गरिने बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मतदाता नामावली संकलन र मतदानस्थल व्यवस्थापनलगायतको अधिकार स्थानीय तहलाई दिनु स्वागतयोग्य भएको बताउँदै जनप्रतिनिधि र सम्बन्धित पदाधिकारीहरुलाई निर्वाचनसम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने तर्क गरे ।
निर्वाचन आयोग स्वायत्त र स्वतन्त्र ढंगले अगाडि बढ्नुपर्ने धारणा राख्दै प्रमुख प्रजापतिले निर्वाचन आयोग नियन्त्रित हिसाबले सञ्चालन हुन नहुने र आयोगको कार्य सञ्चालनको लागि पर्याप्त बजेट छुट्याउनुपर्ने विचार व्यक्त गरे । मतदान केन्द्रमा मतगणना गर्ने विषय सुरक्षाको दृष्टिकोणले पनि जटिल भएको बताउँदै उनले विदेशीलाई मतदान गर्ने अधिकार दिने जस्ता गम्भीर विषयमा राजनीतिक तह नै स्पष्ट हुनुपर्ने धारणा राखे ।
सूर्यविनायक नपाका उपप्रमुख सरिता तिमसिना (भट्टराई) ले निर्वाचन आयोगबाट माथि उल्लिखित अधिकारहरु सूर्यविनायक नपालाई प्रत्यायोजन भएमा त्यसको सही कार्यान्वयन गर्ने बताउँदै बसाइसराइ भएका र नभएका मतदाताहरुको मतदाता नामावलीमा नाम समावेश गर्नेबारे भएको अन्योल प्रष्ट पार्न निर्वाचन आयोगसमक्ष आग्रह गरिन ।
कार्यक्रममा नेमकिपालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले मतदाता नामावली संकलन र अद्यावधिक तथा मतदाता र निर्वाचन शिक्षाको लागि स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्न उपयुक्त भएको र निर्वाचन व्यवस्थापनसम्बन्धी प्रत्यायोजनको लागि पर्याप्त छलफल गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
बैठकका निर्णयहरु
बैठकले भक्तपुर जिल्ला भित्रका सबै स्थानीय तहहरुबाट निर्वाचन व्यवस्थापनसँग सम्बन्धित मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य, मतदानस्थल तथा केन्द्र व्यवस्थापन गर्ने कार्य र मतदाता शिक्षा एवम् निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने कार्य सुरुवात गर्ने निर्णय गर्यो ।
साथै निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य स्थानीय तहबाट सम्पादन गर्नका लागि हरेक स्थानीय तहमा रहेको निर्वाचन एकाइमार्फत आवश्यक जनशक्ति खटाउने र स्रोतसाधन व्यवस्थापन गरी सेवा आरम्भ गर्ने निर्णय गर्यो ।
स्थानीय तहबाट निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य गर्न आवश्यक पर्ने प्रणालीको व्यवस्था निर्वाचन आयोगले गरी सो कार्यका लागि आवश्यक पर्ने कार्यविधि मापदण्ड तयार गरी सोको लागि आवश्यक प्रशिक्षणको व्यवस्था निर्वाचन आयोगले मिलाउने निर्णय गर्यो।
उल्लिखित कार्य गर्न आवश्यक दर्ता किट र सफ्टवेर तत्कालका लागि निर्वाचन आयोगले उपलब्ध गराउने र आगामी दिनमा आवश्यक पर्ने दर्ता किटलगायत आवश्यक स्रोतसाधन व्यवस्थापन गरी नागरिकलाई सरल, सहज र विश्वसनीय एवम् प्रभावकारी सेवा प्रवाह गर्ने व्यवस्था सम्बन्धित स्थानीय तहले मिलाउने निर्णय गर्यो।
उल्लिखित कार्यको अनुगमन गरी आवश्यक समन्वय र सहजीकरणको कार्य जिल्ला समन्वय समिति र जिल्ला निर्वाचन कार्यालयले गर्ने निर्णय गर्यो ।
