रुकुम पश्चिम । रुकुममा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–८ दुलीमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । दुर्घटनाम सानीभेरी गाउँपालिका–५ का ४८ वर्षीय देउचन खत्री, ७० वर्षीय कर्ण बाँठामगर, बाँफीकोट गाउँपालिका–८ की २२ वर्षीया रेखा केसी खनाल र उनको २२ दिनको छोरा रोशन केसीको ज्यान गएको हो।
त्यस्तै, सानीभेरी गाउँपालिका ५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।घाइतेमध्ये चार जनालाई हेलिकप्टरमार्फत् उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल लगिएको छ। सानीभेरी गाउँपालिका–५ का ४० वर्षीय प्रेम बाँठा मगर, २२ वर्षीय ललित बाँठा मगर, २ वर्षीय प्रसिद्ध कुसारी र २० वर्षीया अनिता केसीको नेपालगञ्जमा उपचार भइरहेको छ ।
अन्य घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको प्रहरीले जनाएको छ । सानीभेरी गाउँपालिका–५ हाँसुबाट खलङ्गाका लागि छुटेको लु १ ज १७४७ नम्बर जीप दुलीको मोचेखोलामा दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
