जाकर्ता । डुंगा पल्टिँदा इन्डोनेसियाको सुलावेसी टापुमा १५ जनाको ज्यान गएको छ भने १९ जना बेपत्ता र ६ जना यात्रुको उद्धार गरिएको छ । राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले बेपत्ता यात्रुको खोजी गरिरहेको छ ।
खोज तथा उद्धार एजेन्सीको स्थानीय शाखाका मुहम्मद अराफाले भने, ‘सबै पीडितहरूको पहिचान भइसकेको छ र शवहरू उनीहरूको परिवारलाई हस्तान्तरण गरिएको छ, बाँचेकाहरूको अहिले स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले दिएको जानकारी अनुसार जहाजमा ४० जना यात्रु थिए र डुंगा राति करिब १२ बजे डुबेको थियो । तर, दुर्घटनाको कारण भने खुल्न सकेको छैन । ६ जना यात्रुको उद्धार गरिएको छ, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
डुङ्गाले मानिसहरूलाई खाडी पार गरी दक्षिणपूर्वी सुलावेसी प्रान्तको राजधानी केन्द्रीबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको मुना टापुमा पुर्याएको थियो ।
त्यही क्रममा यो घटना भएको हो । उद्धार एजेन्सीले साझा गरेका तस्बिरहरूमा स्थानीय अस्पतालको भुइँमा लुगाले छोपिएको पीडितहरूको शव देखाइएको छ ।
