भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

निषेधाज्ञाभित्र सङ्क्रमण तीव्र

निषेधाज्ञाभित्र सङ्क्रमण तीव्र

महोत्तरी । कोभिड–१९ सन्त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीमा सङ्क्रमण तीव्र बढेको छ । यसपालि नयाँ वर्ष २०७८ प्रारम्भ भएयता वैशाख १० गतेदेखि जिल्लामा दोहोरिएर देखिएको सङ्क्रमण जिल्लामा निषेधाज्ञा जारी गरिएयता झनै तीव्ररूपमा बढेको हो । गत बुधबार बिहानदेखि जारी गरिएको निषेधाज्ञा शनिबारसम्मको अवधिमा ३८६ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । वैशाख २१ गतेसम्म यसपालिको सङ्क्रमित २५४ पुष्टि भएका थिए ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको यही वैशाख २२ गतेयता शनिबारसम्म ३८६ नयाँ सङ्क्रमित थपिएर ६३६ पुगेको कार्यालयका कोभिड–१९ व्यवस्थापन स्रोत व्यक्ति प्रतिभा सिंहले जानकारी दिनुभयो ।  तीमध्ये जलेश्वर अस्पताल प्रादेशिक अस्पताल जनकपुरमा परीक्षण गरिएका ९७ र बर्दिबास अस्पतालमा परीक्षण गरिएका ५१ शनिबार पुष्टि भएका हुन् । जिल्लामा यसपालि सङ्क्रमणले ११ जनाको ज्यान लिइसकेको छ ।

चार जनाको निषेधाज्ञा अवधिभित्र निधन भएको जनस्वास्थ्य निरीक्षकसमेत रहनुभएका सिंहले बताउनुभयो । जिल्लामा गत वर्ष २०७७ को वैशाखदेखि कात्तिकसम्म सङ्क्रमणले १८ जनाको ज्यान लिएको थियो । गत वर्ष सङ्क्रमित सङ्ख्या दुई हजार १४१ थियो । तीमध्ये सक्रिय सङ्क्रमित ९०० रहेको कार्यालयको अभिलेखले देखाएको छ । गत वर्षको सङ्क्रमणभन्दा यसपालिको निकै बढी सक्रिय रहेको स्वास्थ्यकर्मी बताउँछन् । यसपालि सङ्क्रमण हुनासाथ बिरामी तत्काल आलसतालस हुने र चाँडै फैलने प्रकृतिको रहेको कार्यालयकै वरिष्ठ जनस्वास्थ्य निरीक्षक रहनुभएका गिरेन्द्रकुमार झा बताउनुहुन्छ ।

सङ्क्रमण यसरी फैलनुमा स्वास्थ्य सचेतनाको कमी र लापरवाही मुख्य कारण रहेको स्वास्थ्यकर्मी औँल्याउँछन् । जिल्लामा निषेधाज्ञा जारी गरिए पनि भारतसँगको खुला सीमाले आवतजावत पूर्ण नियन्त्रण हुन नसक्नु, ग्रामीण बस्तीका हाटबजार पूर्ववत् लाग्नु र स्वास्थ्य मापदण्ड नअपनाई हिँडडुल भइरहनु मुख्य कारण रहेको वरिष्ठ जनस्वास्थ्य निरीक्षक झा बताउनुहुन्छ ।

यसैबीच जिल्लाका राजनीतिक दलहरुले निषेधाज्ञा प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् । अहिले वैशाखभरिलाई जारी निषेधाज्ञा प्रभावकारी बनाउन सुरक्षा निकायको सघन परिचालन र अवधि थप गर्नेबारे तत्काल तथ्यपूर्ण आधारलाई उभ्याएर छलफल आवश्यक रहेको नेपाली कांग्रेस महोत्तरीका सूचना संयोजक बजरङ्ग नेपालीको राय छ । सबैभन्दा मुख्य कुरा सीमा क्षेत्रको आवतजावत रोक्न कडाइ गरिनुपर्नेमा दलका प्रतिनिधिले जोड दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.