२५ असार २०७७ भक्तपुर । भक्तपुर नगरपालिका साविक वडा नं. १२ का पूर्व वडाध्यक्ष प्रद्युम्न प्रजापतिको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टी ४ नं. वडा समन्वय समितिको आयोजनामा सभा सम्पन्न भएको हो । स्व. प्रजापति नेमकिपाका असल र सहयोगी कार्यकर्ता भएकोले उनीबाट आम कार्यकर्ताले धेरैकुराहरु सिक्नु पर्ने वक्ताहरुले बताए ।
पार्टीमा खुल्ला गतिविधिमा लाग्ने र भित्र बसेर सहयोग गर्ने फरक फरक कार्यकर्ता हुने बताउदै भित्र बसेर सहयोग गर्नेमा उनको योग्दान महत्वपूर्ण रहेको प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए । पार्टी भूमिगत भएको बेला प्रतिकृयावादी संघसंस्था भित्र गएर जनताको सेवा गर्नु चुनौतीपूर्ण हुदाहुदै पार्र्टीको निर्देशनमा निर्वाचन लडेर पंचायतकालमा नेमकिपाबाट पटक पटक वडाध्यक्षमा विजयी भएको स्मरण गरे ।
२०५६ सालमा सिराहा जिल्लाबाट सांसदको उम्मेदवार बनेको, २०४५ सालमा घटेको भक्तपुर काण्डमा पार्टी प्रतिको अटल विश्वासका साथ पार्टीलाई निरन्तर सहयोग गरेको मेयर प्रजापतिले बताए । संकटकै वेला पार्टी कार्यकर्ताको परीक्षण हुने भन्दै प्रजापतिले निःस्वार्थी भावनाले देश र जनताको इमान्दारीपूर्वक सेवा गर्ने एक योद्धाको रुपमा स्मरण गरे ।
नेमकिपा भक्तपुर नगरसमितिका अध्यक्ष नारायण बहादुर दुवाल, नेमकिपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवाल, स्थानीय न्हुछेराम भेले र राजाराम चवाललगायतले स्व. प्रजापतिको समाज सेवाको प्रसंसा गरे । नेमकिपा वडा नं. ४ समन्वय समितिका कृष्ण गोविन्द दुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीहरुले स्व. प्रजापतिको तस्विरमा माल्यार्पण गर्नुका साथै १ मिनेट मौन धारण पनि गरेका थिए ।
