भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

प्रगतिशील सांस्कृतिक भजन प्रतियोगिता सम्पन्न : चण्डी भगवती रास भजन मण्डल प्रथम

प्रगतिशील सांस्कृतिक भजन प्रतियोगिता सम्पन्न : चण्डी भगवती रास भजन मण्डल प्रथम

भक्तपुर । भक्तपुरको सांस्कृतिक विधाहरुको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार भक्तपुर नपा वडा नं. ५ खँलामा नगरस्तरीय प्रगतिशील सांस्कृतिक भजन प्रतियोगिता शुक्रबार भव्य रुपमा सफलताका साथ सम्पन्न भएको छ । नगरव्यापी प्रगतिशील भजन प्रतियोगितामा पहिलो चण्डी भगवती रास भजन मण्डल, दोस्रो पाताल गणेश भजन मण्डल, तेस्रो सुभप्रभात राम भजन मण्डल र सान्त्वनामा इन्द्रायणी भजन मण्डल र बाराही अजिमा भजन खलःले प्राप्त गरेको थियो ।

त्यस्तै वाद्यवादनतर्फ भनपा ४ पाताल गाणेश भजन मण्डलका महेन्द्र सिंख्वाल र गायनतर्फ भनपा ३ इन्द्रायणी भजन मण्डलकी निरुता गोरा उत्कृष्ट हुन सफल भएका थिए । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा प्रगतिशील सांस्कृतिक भजन प्रतियोगिताका विजयी भजन समूहहरुलाई पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण समारोहमा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले कला संस्कृति मानव जीवनको जीवनपद्धतिसँग सम्बन्धित समाजको ऐनाको रुपमा रहेको बताए ।

भजनमार्फत समाज परिवर्तन र जनचेतना जगाउने अभियानमा लाग्न प्रेरित गर्दै उनले प्रगतिशील भजनकिर्तनबाट देशको इतिहास झल्काउने काम हुने हुँदा जनताको पक्षमा साहित्य लेख्न अभिप्रेरित गरे । साहित्यकै माध्यमबाट नयाँ पुस्तालाई सही मार्गमा दोर्याउने काम गर्न सकिने बताउँदै उनले जनतालाई संगठित र सचेत पार्ने अभियानस्वरुप यस्ता गतिविधिहरुलाई निरन्तरता दिँदै जानुपर्ने बताए ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रगतिशील भजन प्रतियोगिताको प्रमुख उद्देश्य जनताको राजनीतिक र सामाजिक चेतनास्तर उकास्ने, अन्यायको विरोध गरी समाजमा परिवर्तन ल्याउने बताए । साहित्य र संस्कृतिको माध्यमबाट समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने मान्यताले यस्ता प्रतियोगितालाई जोड दिँदै आएको बताउँदै उहाँले नगरपालिकाको आह्वानमा सहभागी सबैमा धन्यवादज्ञापन गरे ।

कार्यक्रममा निर्णायकमण्डलका तर्फबाट जनकवि चन्द्रबहादुर उलक, प्रगतिशील सांस्कृतिक भजन प्रतियोगिता संयोजन समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र सदस्य उकेश कवांले प्रतियोगिताको उद्देश्य, नियम र महत्वबारे प्रष्ट पारे । भक्तपुर नगरपालिकाको आयोजनामा भएको प्रगतिशील सांस्कृतिक भजन प्रतियोगितामा ४० वटा भजन समूहहरुले भाग लिएका थिए ।

प्रतियोगितामा पहिलो भएको भजन समूहलाई नगद रु. २५,०००।— का साथै मादल १ थान, तबला १ जोडा, तिं छु १ जोडा, झ्याली १ जोडा, दोस्रो भएको समूहलाई नगद रु. २०,०००।— का साथै मादल १ थान, तिं छु १ जोडा, झ्याली १ जोडा, तेस्रो भएको समूहलाई नगद रु. १५,०००।— का साथै मादल १ थान, तिं छु १ जोडा र सान्त्वना स्थान प्राप्त गरेका भजन समूहलाई नगद रु. १०,०००।— का साथै मादल १ थान, झ्याली १ जोडा पुरस्कार प्रदान गरिएको थियो । साथै प्रतियोगिताका उत्कृष्ट कलाकार गायनतर्फ नगद रु. ५,०००।— र उत्कृष्ट कलाकार बाजातर्फ – नगद रु. ५,०००।— प्रदान गरिएको थियो भने सहभागी टोलीलाई खाजा वापत रकम प्रति टोली नगद रु. २५००।— प्रदान गरिएको थियो ।

समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले विजयी टोलीलाई पुरस्कार र निर्णायक मण्डलका सदस्यहरु चन्द्रबहादुर माक, बद्रीनारायण ताम्राकार, विष्णुबहादुर मानन्धर, पुष्पलाल सुजखू, ओमप्रकाश श्रेष्ठ, दामोदर सुवाल र इन्दिरा लाछिमस्यूलाई मायाको चिनोसहित प्रशंसा पत्र प्रदान गर्नुभएको थियो भने नगर प्रमुख प्रजापतिले प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई सहभागिताको प्रमाणपत्र र मादल १÷१ थान हस्तान्तरण गरेका थिए ।

साथै प्रमुख प्रजापतिले उद्घाटन ¥यालीमा सहभागी बाजा खलः लाई धन्यवाद पत्र समेत प्रदान गरेका थिए । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवादज्ञापन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.