काठमाडौं । उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डलाई भेटी प्योङयाङले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन् । उत्तर कोरियाली राजदूत मेनले सोमबार प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबार पुगेका थिए ।
उत्तर कोरियाली दूतावासले नेपाल छाड्ने तयारी सुरु गरेको परराष्ट्र सल्लाहकार रूपक सापकोटाले बताए । ललितपुरको झम्सिखेलमा दूतावासको कार्यालय रहेको उत्तर कोरियाली दूतावासले आफ्नो निर्णयबारे जानकारी गराइसकेको छ । उत्तर कोरियाली दूतावास बन्द गर्ने निर्णयप्रति प्रधानमन्त्री दाहालले राजदूतसँग दुःख व्यक्त गरे ।
नेपालमा उत्तर कोरियाले आफ्नो दूतावास स्थापना गरेपनि नेपालले भने उत्तर कोरियामा आफ्नो दूतावास स्थापना गरेको छैन । चीनको बेइजिङमा रहेको नेपाली दूतावासले उत्तर कोरिया मामिलासमेत हेर्दै आएको छ ।
विश्व राजनीति परिवेश, भूराजनीतिक प्रभावका कारण उत्तर कोरियाले नेपालको दूतावास बन्द गर्ने निर्णय गरेको स्रोतले बताएको छ । दूतावास बन्द भएपछि भारतको नयाँ दिल्लीमा रहेको उत्तर कोरियाली दूतावासले नेपाल मामिला हेर्ने भएको छ । सन् १९७४ मे १५ मा नेपाल र उत्तर कोरियाबीच औपचारिकरूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
त्यही वर्ष उत्तर कोरियाले नेपालमा आफ्नो दूतावास खोलेको थियो । दूतावास स्थापना हुनुअघि नै नेपाल र उत्तर कोरियाबीच सन् १९७० डिसेम्बर ११ मा हस्ताक्षर भएको थियो। संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण सन् २०१९ को डिसेम्बरमा नेपालमा उत्तर कोरियाले गर्दै आएको व्यवसायहरू बन्द भएका थिए ।
उत्तर कोरियाले काठमाडौं र लतिलपुरमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको थियो । त्यस्तै तनहुँमा अस्पताल सञ्चालन गरेको थियो भने कञ्चनपुरको एक अस्पतालमा उत्तर कोरियाली चिकित्सकहरूले काम गर्दै आएका थिए । भूराजनीतिक असर र सैन्य रणनीतिमा लगानी बढाउनुपर्ने भएकाले उत्तर कोरियाले नेपालको दूतावास बन्द गर्ने निर्णय लिएको हुनसक्ने जानकार बताउँछन् ।
