भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण तीव्र

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण तीव्र

पर्वत । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण तीव्रगतिमा अघि बढेको छ । गएको चैतको दोस्रो सातादेखि रोकिएको निर्माणकार्य असोजको दोस्रो सातादेखि शुरु भएको थियो । पर्वत खण्डको निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्शन कम्पनीले निर्माणलाई तीव्रता दिएको छ । गएको भदौ महिनामा निर्माणकार्यको म्याद सकिएको भए पनि निर्माण व्यवसायीहरुलाई कोभिडका कारण थप छ महिना स्वतः म्याद थपिएपछि निर्माण पनि तीव्रगतिमा अघि बढेको हो । पर्वत खण्डमा अहिलेसम्म ६० प्रतिशतभन्दा बढी काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले निर्माणको गति तीव्र छ । “यही अनुसार काम भएमा आगामी असारभित्र सबै काम सम्पन्न हुने देखिएको छ ।”

लकडाउनलगायतका कारणले छ महिनाभन्दा बढी रोकिएको काम तीव्ररूपमा अघि बढेको निर्माण कम्पनी लामा कन्स्ट्रक्शनका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार केही भागमा कालोपत्रसमेत भइसकेको छ । निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वारबाट मालढुङ्गासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिका लागि कम्पनीले रु ८३ करोड ९८ लाखमा ठेक्का लिएको हो । पर्वत खण्डको २३ किलोमिटरमध्ये स्ट्रक्चरको काम ९५ प्रतिशत सकिएको छ । बागलुङको सिमाना मालढुङ्गाबाट नयाँपुलसम्म करिब पाँच किलोमिटर कालोपत्र भइसके पनि वर्षायाममा ठाउँठाउँमा पहिरो गएकाले पुनः कालोपत्र गर्नुपर्ने अवस्था भएको छ ।

अहिले बाँकी रहेको स्ट्रक्चरको काम र बेस राखेको ठाउँमा वर्षाका कारण बिग्रेको खण्डलाई तयारी गराउने काम शुरु भएको कम्पनीले जनाएको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मरासिनीले काम शुरु गरेको व्यवस्थापनलाई सहयोग गर्न थप जनशक्ति तथा स्रोत साधनसमेत परिचालित भएकाले असारसम्ममा नै काम सकिने विश्वास व्यक्त गर्नुभयो । कोभिडपछि निर्माण व्यवसायीले असारसम्मको म्याद मागेका कारण पनि समयमै कालोपत्रको काम सक्ने उहाँको विश्वास छ । “अब व्यवस्थापनलाई सहयोग गर्न थप जनशक्ति र स्रोत साधनसहित काम अघि बढेको छ”, उहाँले भन्नुभयोे, “अब राम्रोसँग काम अघि बढ्छ, तोकिएकै समयमा काम पूरा हुन्छ ।”

यसैबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल, प्रधानमन्त्रीका विकास तथा पूर्वाधारविज्ञ सल्लाहकार गजेन्द्र थपलिया, राष्ट्रिय योजना आयोगका सहसचिवद्वय डा वासुदेव शर्मा र किशोर जोशीलगायतको टोलीले निर्माणाधीन मध्यपहाडी लोकमार्गको कास्की, पर्वत र बागलुङ खण्डको अनुगमन तथा निरीक्षण गरेर फर्किएको छ । टोलीले पनि निर्माणको गति देखेर सन्तोष व्यक्त गरेको कार्यालय प्रमुख मरासिनीले जानकारी दिनुभयो । निर्माणका क्रममा स्थानीयस्तरमा उत्पन्न समस्या र समाधानको उपायबारे अध्ययन गर्न र हालसम्मको कामको प्रगति विवरण बुझ्न टोली आएको बताइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.