भर्खरै : Sorry, your browser does not support inline SVG.

राजनीतिक दलहरुले निर्णय लिन नसक्दा प्रतिनिधिसभा बैठक बन्धकमा

राजनीतिक दलहरुले निर्णय लिन नसक्दा प्रतिनिधिसभा बैठक बन्धकमा

काठमाण्डौ । सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । आइतवारको सङ्घीय संसदमा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक विना निष्कर्ष सकिएको हो । बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । बैठकमा ओली नगए पनि एमालेकातर्फबाट उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी भएका थिए ।

बैठकमा सरकार र प्रतिपक्षी दल दुवैले आफ्ना अडान नछाडेपछि कुनै निष्कर्ष ननिस्किएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा घेरा छलेर बाहिरिएको साढे ६० किलो सुन राजस्व अनुसन्धान विभागले गएको साउन ३ गते सिनामङ्गलमा बरामद गरेको थियो । त्यही विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदनमा अवरोध गर्दै आएको छ ।

सरकार र सत्ता गठबन्धनमा आबद्ध रहेका दलले उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानबिन गर्ने बताउँदै आएका छन् । गएको साउन १० गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको छ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र प्रमुख सचेतक सन्तोष परियार सहभागी भएका हुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय जनमत पार्टीकी नेता अनितादेवी साह सहभागी भएकी थिइन । सर्वदलीय बैठक विनानिष्कर्ष सकिएसँगै प्रतिनिधिसभा बैठक ५ दिउसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का सहभागी भएका हुन । नेकपा माओवादी केन्द्रबाट अध्यक्षसमेत रहनुभएका प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी रहेका थिए ।

 


Thali Mobile Pvt.Ltd.