भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

शोकमा डुब्यो दले गाउँ

शोकमा डुब्यो दले गाउँ

झापा, । कचनकवल गाउँपालिका–५ स्थित दले गाउँ पूरै शोकमा डुबेको छ । आज बिहान एकै गाउँका तीन किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि गाउँ शोकमा डुबेको छ । स्थानीय सुनकोशी चिया बगानमा मजदुरी गर्दै आएका १७ वर्षीया अञ्जली, १६ वर्षीया करिना र १७ वर्षीया कल्पना गणेश एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि गाउँ नै शोकमा डुबेको छ । आज बिहान दले गाउँमा कसैको घरमा चुलोसमेत बलेन ।

उनीहरु एकै पटक झुण्डिनुको कारणबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो । तीनै जनाको शवलाई धरानस्थित विपी कोइराला मेमोरियल अस्पतालमा शव परीक्षणका लागि पठाइएको उहाँले बताउनुभयो । “नेपालमै पहिलो पटक किशोरीहरुले सामूहिकरूपमा एउटै रुखमा झुण्डिएर मृत्युवरण गरेको यो पहिलो घटना हो”, उहाँले भन्नुभयो, “यसअघि प्रेमी प्रेमिका, एउटै घरका परिवार मात्र यसरी झुण्डिएका घटना थिए ।

एउटै उमेरका किशोरी यसरी एकै पटक झुण्डिनुमा कसरी सहमति जुट्यो रहस्यमय नै छ ।” उहाँले शव परीक्षण रिपोर्टका आधारमा पनि थप अनुसन्धान गर्न सजिलो हुने बताउनुभयो । मृत भेटिएका मध्ये अञ्जली गणेश र करिना गणेश दिदीबहिनीका छोराछोरी भएको वडा नम्बर ५ का वडाध्यक्ष मोहम्मद नुर आलमले बताउनुभयो । अञ्जली तीन दिनअघि मात्र करिनाको घरमा आएकी थिइन् । कल्पना करिनाकी छिमेकी हुन् ।

अञ्जलीको घर सोही वडाको नेपाल भारतसीमा नजिकै रहेको उहाँको भनाइ छ । “तीनै जना आफ्ना अभिभावकसँगै बगानमा मजदुरी गर्थे”, उहाँले भन्नुभयो, “यो घटनाले वडा नै शोकमय बनेको छ । आज बिहान कसैको घरमा खानासमेत पाकेन । विचित्रको घटना भयो ।”

 


Thali Mobile Pvt.Ltd.