संस्कार र शिक्षा विकास

संस्कार र शिक्षा विकास

विषय प्रवेश : मानव एउटा सर्वोत्कृष्ट जाति हो । विश्वमा मानव जाति एउटा छ र उसका दुई लिंग छन पुरुष र महिला । व्यक्ति व्यक्तिले परिवारको निर्माण गर्छन र परिवारले समूदायको । विभिन्न समूदायको समग्रता नै समाज बन्न पुग्छ । विभिन्न उदेश्य, विचार, भावना र क्षमता भएका मानिसहरु समाजमा हुन्छन । तिनीहरुका विभिन्न प्रकारका क्षमता र विशिष्ठताले नै समाजलाई रंगिन बनाएका हुन्छन । व्यक्तिको उन्नति समाजको उन्नति र प्रगतिमा जोडिएको हुन्छ ।

पिछडिएको समाजमा बसोबास गर्ने व्यक्तिहरुको चिन्तन पछौटे हुन्छ, विचार मनगढन्ते तथा द्वेषपूर्ण रहन्छ भने उन्नत समाजका बासिन्दाहरुको तर्कपूर्ण, सद्भाविलो, सहयोग र समर्थन एवं आलोचनात्मक दृष्टिकोण राख्ने हुन्छ । विभिन्न प्रायोगिक क्षेत्रहरुमा तिनीहरुको स्थानले अग्रता लिएको हुन्छ । तर पछौटे चिन्तन भएका क्षेत्रका नागरिकहरु चेतनाको क्षेत्रमा अति नै पिछडिएका हुन्छन, सीमित स्रोतहरुका उपभोक्ता बनेका हुन्छन र गतिशील सूचना प्रवाहबाट टाढिएका हुन्छन । त्यसकारण असल र खराब, फाईदा र बेफाईदाको कसीमा तिनीहरुको मूल्यांकन गर्नुको सट्टा हैकम र नातावाद, कृपावादलाई जीवन पद्धति बनाएका हुन्छन ।

समाजका रङ्गिन व्यक्तिहरु, समूदायहरु र विविध खालका विचारहरुको बीच तछाड मछाड भईरहने हुँदा नवीन सृजनाले माझिने अवसर पाउँछ । सयौं व्यक्तिहरुको विचारको संगुटिका (Ideological Conglomeration) ले उक्त सृजनाका सकारात्मक र नकारात्मक पक्षहरुबीच विशेष बहसको थालनी गराई आम नागरिकहरुबीचको पैरबीको शुरुवात गराएको हुन्छ । विभिन्न समूदायका सदस्यहरुबीचको समग्र चाल चलन र बोली व्यवहारको एकीकृत स्वरुप नै सामाजिक सँस्कार वा प्रचलित भाषामा रीतिरिवाज हो भन्न सकिन्छ ।

मानिसले प्रचलनमा ल्याएका क्रियाकलापहरुले समाजका चाल चलनको निर्माण गर्ने हुँदा सँस्कारहरु मानव निर्मित हुन्छन भन्ने कुरा बुझनु जरुरी हुन्छ । सामाजिक सँस्कारहरुले व्यक्ति वा समूदायको व्यक्तित्वको निर्माण गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेका हुन्छन । व्यक्तिको आचरण, व्यवहार र शिष्टाचार सामाजिक संस्कारद्धारा निर्देशित भएका हुन्छन् । संस्कारिक निर्देशनको कारण पूर्वीय र पश्चिमी सभ्यताबीचका अन्तरवस्तुहरु गतिशील अवस्थामा रहेका हुन्छन् ।

प्रसिद्ध समाजशास्त्री स्याम्युअल पी हण्टिङ्गटनक (Samuel P.Huntington) का अनुसार “विश्वका आठ प्रकारका संस्कारहरु बीच सर्वोत्कृष्टताका दम्भका आधारमा द्वन्द्व चलेको पाइन्छ आफूलाई अन्यको तुलनामा सभ्य र सुसँस्कृत भएको भान पाउने कार्यले वा सर्बोत्कृष्ट ठान्ने प्रविधिले नै संस्कारगत द्वन्द्व चलेको हुन्छ ।” पश्चिमी देशका नागरिकहरुले नेपाली वा पूर्वेली दर्शनमा विश्वास राख्ने व्यक्ति वा समुदायलाई रुढीवादी, पुरातनपन्थी, वर्वर, असभ्य र संङ्कीर्ण व्यक्तिहरुको रुपमा विश्लेषण गरेका हुन्छन् ।

नेपाल विश्वमा प्राकृतिक स्रोतहरुमा धनी भएता पनि नेतृत्वकलाको अभावको कारण विश्वकै गरिब राष्ट्रको रुपमा प्रस्तुत गरिएको सन्दर्भमा जुनसुकै तह र तप्काको नेपाली नागरिकलाई विकसित राष्ट्रका नागरिकहरुले श्रमीक (Labour) को रुपमा हेरेका हुन्छन् । प्रायः नेपालीहरुसँंग भेटघाट हुने वित्तीकै तीनीहरुको व्यवहारको ढंग श्रमीक र मालिकको समतुल्य हुन्छ । हुन पनि गोरो अनुहार भएको व्यक्ति देख्ने वित्तिकै नेपालीहरुले बढि चासो दिने, उत्कृष्ट ठान्ने प्रवृति नभएको पनि होइन ।

आ–आफ्नो विशिष्ट उद्देश्यका लागि देश देशावर चहार्ने क्रममा विभिन्न स्थानका गल्ली, छहरा पहारा र डाँडाकाँडा कुल्चिनु उनीहरुको स्वाभाविक बाध्यता हुन्छ भने हामी नेपालीहले उत्कृष्ट, सर्वोतम र विशिष्ठ ठान्ने प्रवृति यस मामिलामा पनि त्यत्तिकै दोषि रहेको हुन्छ । जुनसुकै विचार र भावनाको नागरिक भएता पनि सार्वजनिक हितका निम्ति त्यस विचारले काम गर्दैन भने त्यसको अस्तित्व संकटमा रहेको हुन्छ ।संङ्कीर्ण विचार र भावनाले मात्र कुनै पनि मानव समुदायको सेवा गर्न सक्दैन न त सामाजिक परिर्वनमा यसले दुरगामी प्रभाव पार्न नै सक्छ ।

व्यक्तिवादी चिन्तन र विचार शैलीको उपज बन्न सक्छ यस्तो विचार । त्यसकारण महान रुसी लेखक म्याक्सिम गोर्की भन्नुहुन्छ, “मानिसको आत्मा त्यस्तो विशाल हुनुपर्छ जसमा सिंगो समाज अटाउन सकोस ।” सामाजिक संँस्कार कति व्यापक हुनुपर्छ, यसले मानिसलाई कसरी दुरगामी प्रभाव पार्नु पर्दछ भन्ने सन्दर्भमा महान सर्वहारा वर्गका नेता माओ त्से तुङ भन्नु हुन्छ, “सामाजिक संस्कार त्यस्तो हुनु पर्छ, जहाँ सयौंथरी फूल फूल्ने र हजारौं विचार बीच तछाड – मछाड हुनु पर्छ ।”

समावको आर्थिक उत्पादन सम्बन्ध समेत साँस्कृतिक क्रियाकलापमा विशेष टेवा पु¥याई रहेको हुन्छ । सामाजिक आर्थिक सम्बन्धले सँस्कारगत क्रियाकलापलाई निर्देशन गरिरहेको हुन्छ । खातापिताहरुले हरेक क्रियाकलापमा संलग्नता राख्न सक्तछन् भने आर्थिक रुपमा न्यून समुदायको सार्वजनिक पहुँच त्यति नहुन सक्छ । हरेक क्रियाकलापलाई आर्थिक नजरले विश्लेषण गर्दा हिन्दु समाजमा चलाख र छटटुबाजहरुले र समाजको पिंधमा रहेको समुदायलाई अछुतको रुपमा व्यवहार गरे, अवसरबाट बन्चित पारेर ज्ञानगुणका रचनात्मक क्रियाकलापमा अड्चन थापे र मृत्युदण्डको नीति आख्तियार गरे । तब त मनुले लेखे, “शुद्रको आफ्नो सम्पति हँुदैन। उसको जायजेथा द्विजातीको हुनेछ ।

उसलाई परालमा सुताउनु र फुटेका थालमा खान दिनु । शुद्रले ज्ञानगुणका कुराहरु पढ्न त के सुन्न प्रयास गरेमा कानमा डढाएको तेल हाल्नु वा सिसा गालेर हालिदिनु । मनुस्मृति त्यस्तो आपराधिक धार्मिक दर्शन हो, जसले भन्छ शुद्र मरेमा काग, कुकरु, विरालो, लाटोकोसेरो, न्याउरी मुसो र उल्लू मरे बराबर प्रायश्चित गरे पुग्छ । विचार र चेतनाको विकास उन्नत शिक्षा र सामाजिक प्रणालीमा निर्भर हेको हुन्छ । समकालीन समाजमा सापेक्ष विचा राखेर समग्र सदस्यहरुलाई एकसाथ प्रगति गर्ने माध्यमको तयारी र विचारवान नागरिकले गर्दछन । स्वार्थी, हिनताग्रन्थीले पूर्ण बनेका र संङ्कीर्ण व्यक्तिद्वारा रचित साहित्य वा स्रोतले पनि संङ्कीर्णताको एक चाङगं बन्छ ।

२.२. ज्ञानको रुपान्तरण
पुरानो पुस्ताले सिकेका ज्ञान र सीप उनीहरुले गरेका कार्यहरुमा जीवन्त रहन्छ । अनभवको आदान प्रदान गर्नु वा प्रसारण गर्नु ज्ञान र सीपको रुपान्तरण हुने गर्दछ । फराकिलो सोच राखेर ज्ञानको रुपान्तरण गर्न खोजेमा पुरानो पुस्ताले सहज रुपमा नयाँ पुस्तालाई नवीन ज्ञान र सीपबाट ओत प्रोत गराउन सक्दछन । तर, संकीर्ण स्वार्थ र सोचबाट निर्देशित व्यक्तिहरुले आफूले थाहा पाएको ज्ञान सूचनालाई अरुलाई बताउनु हुँदैन भन्ने मान्यता राखेकै कारण कैयन प्राचीन ज्ञान र स्रोतहरु विलोप भएका घटनाहरु ताजा नै छन, हाम्रो समाजमा ।

उदाहरणको रुपमा प्राचीन अल्प विकसित समाजमा विना औषधी स्थानीय वैद्यको काम गर्ने पुरुष तथा महिलाहरुले जडिबुटीहरु र मन्त्रको प्रयोग गरेर विरामीलाई उपचारगर्ने गर्थे । झारफूकमा पूर्णतः विश्वास भएको कारण त्यसवेलाका नागरिकहरुलाई यसले ठीक गरेको पनि थियो । तर नाँङ्गो खुट्टा समाजको सेवा गरिरहेका ति व्यक्तिहले अरुलाई सिकाउँदा औषधी भेद नलाग्ने धारणा राख्थे र ज्ञान र सीप आफूमा मात्रै केन्द्रित गरिरहेका हुन्थे । तिनिहरुको मृत्यु पर्यन्त त्यो सीप हराएर गयो, जीवन्त राख्न सकिएन ।

स्रोतको समाप्ति सँंगै समग्र जानकारीको पनि अन्त्य हो यो । नेपालका अधिकांश गामीण क्षेत्रमा शिक्षालाई रमझमको विषयको रुपमा अंगिकार गरिएको कारण धेरै स्थानमा शैक्षिक स्तर त्यति राम्रो छैन, जसमा आम नागरिकले पूर्णतः विश्वास गर्न सकुन । ठुलाबडाको चलखेलको विषय शिक्षा बनाईएको कारण जसरी भए पनि पास हुनु पर्ने र रोजिरोटीको जो हो गर्नुपर्छ भन्ने मान्यता हावी भएको पाईन्छ । शिक्षामा पँहूच भएका हरुका सन्तानहरुले यसबाट फाईदा लिई रहँदा अन्यले पनि यसको सिको गर्नु स्वाभाविक हुन्छ । व्यवस्थित अध्ययन हुन नसक्दा कमजोर विद्यार्थीहरु प्रतिस्पर्धामा आउन सक्दैनन ।

त्यसमा पनि पहुँचवालाहरुको गलत कार्यले सामान्य अवसरलाई समेत दुषित बनाएका हुन्छन । घुसखाने निहित स्वार्थका लागि समेत गोपनीयता भङ्ग गराउने कार्यमा तिनिहरु तल्लीन रहन्छन । यसले स्वस्थ प्रतिस्पर्धालाई बढाउने होईन की एकापसमा आशंका र असमझदारीलाई बढाउने कार्यमा टेवा पु¥याउँछ । मेहेनत गरेर सक्षम नागरिक बन्ने योग्यता क्षमताले समाजको सेवा गर्ने मासिककता आकासको फल हुँदा असामाजिक गतिविधिले यसप्रति रुची राख्ने व्यक्तिहलाई समेत दिक्क लगाएको हुन्छ ।

विभिन्न क्षेत्रमा गरिने जाल साँझी, चलाखीपना, नातावाद, कृपावाद, आफन्तवाद आदिको कारण नै ग्रामीण क्षेत्रको शिक्षाको स्तर चौपट्ट भएको भन्नु पर्छ । शिक्षकले विद्यालयमा उति ध्यान दिएर नपढाउनु र जागिर पकाउने सम्मको सरोकार राख्नु र समाजमा अभिभावकहरुले सन्ततिहरुको शिक्षा बारे खासमा चासो नराख्नु र विद्यार्थी स्वयमले शिक्षाको अर्थ नबुझ्नु आदि जस्ता कार्यहरुले विद्यालय शिक्षा डामाडोल बन्यो, पहाडी ग्रामीण इलाकाहरुमा ।अर्कातिर मेहेनत गरेर पठाउने शिक्षकको स्थानमा व्यापार, व्यवसाय गर्ने र भारतका विभिन्न स्थानहरुमा मौसमी कामदारहरुले (Seasonal Workers) तुलनात्मक रुपमा बढी धन कमाउन सकेकै कारण पनि पढेर के अर्थ छ र भन्ने मनोविज्ञानको विकास भएको छ ।

देशको राजनीतिमा दलगत सम्बन्ध राख्ने व्यक्तिहरु जताबाट पनि धन कमाउने उद्यमतिर अभ्यस्त रहँदा शिक्षा आर्जन र राजनीतिक बडबडाँईलाई आम नागरिकहरुले बकम्फुसे सम्झे । राजनीतिलाई सेवा भन्दा पनि एकरातमा धनी बन्ने अमेरीकी सपना (Amarican Dream) को रुपमा अङ्गिकार गरे । कर्णाली लगायत पहाडी जिल्लाका विभिन्न विद्यालयमा पढाउने शिक्षकहरुले अध्ययपन गर्नुको अर्थ सुर्खेत, नेपालगञ्ज, बर्दिया र कैलालीजस्ता स्थानहरुमा जग्गा खरिद गर्ने दलाली पेशाको रुपमा शिक्षालाई अवलम्बन गरेको पाईयो ।

एउटा सन्दर्भको शिक्षण गर्दा कम्तीमा पनि दशवटा भन्दा बढी सन्दर्भ सामाग्रीहरुको अध्ययन गर्नु उचित र अनिवार्य हुन्छ । तर, अचेल निर्धारित पाठ्यक्रम समेत सरसर्ती हेरेको पाईदैन । उच्च शिक्षा प्राप्त गरेका भनी टोपल्ने कतिपय शिक्षकहरु नै विरालोले बाटो काट्दा, रित्तो घैंटो फेला पर्दा र यात्राको क्रममा बाटोमा कसैले सोधेको खण्डमा अशुभ हुन्छ भन्ने तर्कहीन तथ्यलाई विश्वास गर्ने मात्र होईन रुढिवादी क्रियाकलापलाई प्रवद्वन गर्ने कार्यमा तल्लीन रहँदा तिनले कस्तो शिक्षा दिन्छन् । चिन्तन मनन गर्नु सराहनिय हुन्छ होला ।

हाम्रो समाजमा व्याप्त विभिन्न रुढिवादी क्रियाकलाप जस्तै छोरीलाई घरायसी सरसफाईमा संलग्न गराउन नहुने, घरायसी कार्यमा सहयोग नगर्ने, तल्लो जात माथिल्लो जात भनी छुवाछुत र भेद्भाव गर्ने, महिला भएकै कारण गलत नजरले हेर्ने , महिनावारी भएका वेलामा महिलाहरुलाई दुग्ध जन्य पदार्थ दिन नहुने र तल्ला जातका बनाईएका मानिसहरुलाई मन्दिमा पूजा आजा गर्न रोक लगाउने कार्यहरुका विषयमा शिक्षकहरुले खासमा तार्किक तथ्यहरु प्रस्तुत गर्दैनन् ।

बरु तिनीहरु त्यसलाई नै समर्थन गर्ने र सामाजिक संस्कारको रुपमा प्रचलन भएको मान्यता राख्ने गरेका हुन्छन । घरका आमा बाबाले छोराछोरीलाई जस्तो शिक्षा दिन्छन्, त्यसको सिको वा अनुकरण छोराछोरीहरुले गर्ने हुँदा बा आमा संस्कारगत एंव पारिवारिक गतिविधिमा सजग र जिम्मेवार रुपमा प्रस्तुत हुन जरुरी हुन्छ ।

आफ्नो ढंग नपुग्ने तर अरुका विषयमा मात्र तर्कना गर्ने, आलोचना गर्ने र हा हा हु हु गरिरहने परिवारका सदस्यहरुलाई सन्ततीले रत्तिभर टेर्दैनन् । आफ्नो क्षमतामा विश्वास नभएका व्यक्तिहरु अरुलाई दोष दिन खुबै सिपालु हुने भएकाले नाच्न नजान्नेको आँगन टेढो सावित हुन्छ । अग्र पंक्तिका खेलाडीहरुले जस्तो कला प्रदर्शन गर्छन पश्च भागका खेलाडीले पनि उस्तै गर्ने भएकाले हरेक विषयको जानकारी दिने व्यक्ति (शिक्षक) ले परिस्थितिप्रति एकदम सजग बन्नु पर्ने हुन्छ । अन्यथा लाटो देशका गाँडा तन्नेरी सावित हुन्छन, तिनिहरुका हरेक क्रियाकलापहरु समग्रमा ।

२.३. चेतनाको विकास
आफ्नो वरपर रहेका विभिन्न विषयवस्तुहरु एवं उत्पादनका स्रोत साधनहरुलाई उचित व्यवस्थापन गर्न सक्ने क्षमता नै चेतना हो । हरेक क्रियाकलापले गर्ने फाईदा र बेफाईदाका बारेमा स्पष्ट जानकारी प्राप्त गर्ने क्षमता नै उचित रुपमा चेतना भन्ने गरिन्छ । समाजको वातावरण, शिक्षालय, बैठक, भेला र सामूहिक छलफल चेतना विकासका बलिष्ठ पूर्वाधार हुन । व्यक्ति वा समूदायकाबीच हुने हरेक प्रासाङ्गिक छलफल, विचार तथा विश्लेषणले मानिसमा हुने असमझदारीलाई हटाउँदै तिनीहरुलाई जिम्मेवार ढंगले सोच विचार गर्ने सीप वा दक्षता प्रदान गेरेको हुन्छ ।

किसानहको बाहुल्यता भएको हाम्रो देशमा विभिन्न स्थानहरुमा खेर गएको जमीनमा विभिन्न समयानुकुल खेतिपाती गरेर कम लगानीमा बढी उत्पादन गर्ने चेतना हुनुपर्नेमा बहुसंख्यक व्यक्तिहरु यस तथ्यप्रति सजग छैनन् । वित्थामा समय वर्बाद गर्न तिनिहरु तल्लीन हुन्छन तर श्रम गरेर खेर गएका बारीलाई उपयोगमा ल्याउनु पर्छ भन्नेमा खासै ध्यान दिंदैनन । यात्राको क्रममा साँगुरो सडकमा गाडी, मोटरबाईक हाक्ने व्यक्तिहरुले जीवनको महत्व बुझ्न नसक्दा दुर्घटनाको सिकार बनी अकालमा ज्यान गुमाउनु पर्ने हुन्छ । अध्ययनमा लापरवाही गर्ने विद्यार्थी र अध्यापनमा लापरवाही गर्ने शिक्षकहरुले समयको महत्वलाई नबुझ्दा आफ्नो स्तर गिरेको भेउ पाउँदैनन ।

समयको ख्याल नगर्दा यात्रामा बस छुटेको यात्रीले जसरी ठीक समयमा आउन नसक्दा पर्खिनु परेको महशुस गरे झैं हरेक गतिविधिका फाईदा र बेफाईदाहरु औंल्याउदै भावी कार्यहरु के कस्ता हुन सक्छन् भन्ने आँकलन गर्न सक्नु नै चेतना हो, खासमा । तर ग्रामीण क्षेत्रमा बसोबास गर्ने विभिन्न समूदायका व्यक्तिहरुले समयको महत्व थाहा पाउनु कता हो कता आवश्यक सर सफाईमा समेत ध्यान दिन सकेका हुँदैनन । अशिक्षित महिलाहरु यस कार्यमा बढी लापवाही गर्ने र घरायसी सामाग्रीहरुलाई समेत उचित व्यवस्थापन गर्न सक्ने क्षमता राख्दैनन् ।

यस कार्यले विशेषतः समाजका अछुत बनाईएका समूदायमा बढी प्रभाव पारेको पाईन्छ । उच्च भनिने जातीहरु प्रायः श्रम गर्न सक्रिय रहने, निन्तर क्रियाकलाप गरिहनेमा तल्लीन हन्छन भने कथित तल्ला जातीहरु प्रायः समय वाहियात खेर फाल्ने, एक आपसमा गफिन खोज्ने, अनुत्पादक ढंगले समय खर्चिने र कुरौटे सँस्कारलाई प्रवद्वन गरेको पाईनु वास्तवमा चेतनाको उचित विकास हुन नसकेको संकेत हो ।
विभिन्न तथ्य तथ्यांङ्गको अध्ययन गरेर पाठ्य सामाग्रीहरुबाट जानकारी दिने कार्य शिक्षकहरुले गरिरहेका हुन्छन ।

शिक्षक वास्तवमा ज्ञानका विश्लेषकहरु हुन भने समाजका आम नागरिकको चेतनाको दियालाहरु पनि हुन । तिनीहरुका बौद्धिक तर्कले सर्वसाधारणलाई उचित सूचना दिने कार्य गर्दछन तर हाम्रो समाजमा प्रायः शिक्षकहरु अध्यापन सफल बनाउनुको सट्टा खेतिपाती, कुखुरापालन, व्यापार व्यवसाय र धन्दा अपनाउने कार्यमा तल्लीन रहेका हुन्छन । समकालीन समाजका छरपुष्ट विषयवस्तुलाई व्यवस्थित संग्रह गर्ने र देश विदेशका घटनाक्रमलाई सहज प्रस्तुत गर्नु पर्ने शिक्षकहरु आफै व्यापारी बने चेतनाको स्तर कुन हदसम्म विकसित होला सहजै अनुमान लगाउन सकिन्छ ।

तसर्थ अचेल अध्यापन बिशुद्ध चेतना बिकासको बाटो होइन, एक अदृश्य धन्दा बनेको छ । चेतनाका संवाहकहरु धोकाधडीको पर्याय बनेका छन् । समाजमा बिद्यमान जातीय, भाषिक र भौगोलिक द्वन्द्वका प्रमुख कारक तत्वहरु समाजका पढेलेखेका व्यक्तिहरु भएको वर्तमान अवस्थामा शिक्षाले जीवनउपयोगि चेतना दिन सक्छ भन्ने प्राप्त आधार प्रदान गर्न सक्दैन। समाजका विद्यमान अन्तर द्वन्द्वहरुलाई साझा बाटाबाट समाधान खोज्नुको सट्टा गिजिल्याउने कार्य पठित छट्टुहरुबाटै भएको छ । त्यसैले सर्वसाधाण मानिसहरु भन्छन् नपढेका भन्दा पढेलेखेका बढि हरामी र स्वार्थी हँुदारहेछन् । जसलाई व्यक्तिगत हित बाहेक अरु चिन्ता हुँदैन ।

२.४. शिक्षाको प्रभाव
हाम्रो समाजका वरिपरिका विशाल समुदायलाई नियाल्ने हो भने आफूलार्ई विकसित र अल्पविकसितहरुको ताँतीमा राख्नेहरुको संख्या घट्बढ हुन सक्ला । राष्ट्र वा समाजको विकासक्रममा त्यस क्षेत्रसँग सम्बद्ध व्यक्तिहरु बढी जिम्मेवार भएको पाईन्छ । अध्ययन र सृजनशील कार्यमा ९९ प्रतिशत आन्तरिक र एक प्रतिशतमात्र बाह्य सहयोगको भुमिका रहेझैं समाजको समग्र रुपान्तरणको प्रक्रियामा आन्तरिक मनोबल (Internal Morale) ले महत्वपूर्ण भुमिका निर्बाह गरेको हुन्छ ।

यासेर आराफातले मिश्रमा प्राविधिक शिक्षा आर्जन गरेर जीवनभर प्यालेष्टिनी स्वतन्त्रताको आन्दोलनमा सहादत प्राप्त गरे । अफ्रिकामा गोरा र काला जातिबीचको द्वन्द्वमा बहस गर्ने वकिल महात्मा गान्धीले बेलायतको एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकको रेलवे स्टेशनमा आफूले रिजर्व गरेको ‘क’ वर्गको टिकट गोरे अधिकारीले खोसेर अपमान गरेको कारण रेलको यात्रा रद्द गरी भारत ढिलो पुगेको धर्मान्ध भारतीय समाजमा व्याप्त विकृति र विसंङ्गतिका विरुद्ध अंग्रेज विरोधी चेतना छर्नका लागि भजन मण्डलीमा संलग्नता राख्नु र भारतको स्वतन्त्रताका लागि नेतृत्व गर्नु चानचुने विषय थिएन ।

उनले प्रतिपादन गरेको अहिंसाको दर्शनबाट प्रभावित भएर भारतको सोनिपत घुम्न आएका अमेरीकी नेग्रो आफ्नो देशमा फर्किएर स्वतन्त्रता, समानता र विश्वबन्धुत्वका लागि आवाज बुलन्द गर्न मार्टिन लुथरकिंग जुनियरले नेतृत्व गरेको आन्दोलनमा समाहित भएर जातीय विभेदका दरारहरुलाई अन्त्य गर्न महत्वपूर्ण भुमिका खेलेको सन्दर्भ कम उल्लेखनीय छैन । त्यसैगरी चीनबाट जनपानमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई जापानीहरुले टाउको मुँडेर, गिंडेर र विभत्स हत्या गरेको दृश्यलाई सिनेमामा प्रस्तुत गरिंदा राष्ट्रको स्वाभीमानमा आँच पुगेको महशुस गरी सन् यात्सेन लगायतका विद्यार्थीहरु चीन फर्केर जापानी साम्राज्यवादीहरुका विरुद्ध निरन्तर संघर्ष गरेको तथ्यलाई विर्सनु हुँदैन ।

‘ईख नभएको छोरा र विष नभएको सर्प’ हुँदैन भने जस्तै सामाजिक विकृति र विसंङ्गगतिका विरुद्ध एक शव्द उच्चारण नगर्ने र त्यसलाई खतम गर्न प्रयत्न नगर्ने पठित पाठकहरुले शिक्षाको अर्थ बुझ्न सम्मपनि सकेका हुँदैनन । विदेशको प्रविधिले राष्ट्रको सेवागर्ने नीतिका पर्याय महाबीर पुन (म्याग्दी) ले नागीमा गरेको इन्टरनेट प्रविधिको विकासबाट समेत धेरै सिक्न जरुरी हुन्छ । त्यसैले शिक्षाले मानिसको जीवनमा पविर्तन ल्याउनु पर्छ ।

२.५. उपसंहार
संस्कारले विगतको इतिहासको पाटोलाई झल्काउँछ । तात्कालीन समयमा समाजमा विद्यमान भएका रीतिरिवाजलाई प्रस्तुत गर्दछन ।
बस्तुले जसरी मानवीय चेतनाको विकास गरेको हुन्छ, त्यसै गरी विचारले यसलाई सुमधुर सुविख्यात बनाउने प्रयत्न गरेको हुन्छ ।
समय स्वयं शिक्षक हो । किनकी समय र परिस्थितिले व्यक्तिलाई हरेक नबीन विषयबस्तु बारे बोध गराएको हुन्छ, एउटा असल शिक्षक जहिले पनि विद्यार्थी हुने गर्दछ किनकी परम्परागत चिन्तन देखि समकालीन विश्वज्ञानबारे उसले विशेष जानकारी राख्नै पर्ने हुन्छ । सामाजिक दायित्वलाई हेर्ने हो भने शिक्षक वा पढेलेखेका व्यक्तिहको दायित्व अत्यन्तै गम्भीर र संवेदनशील हुने गर्दछ ।

मानिसको चेतनास्तले उसको जीवनको लक्ष्य र सामाजिक गतिशीलताको मापन गरेको हुन्छ । विचारले व्यवहारलाई निर्देशित गर्ने भएकाले संस्कारगत रुढीग्रस्त क्रियाकलापहरुलाई आवश्यक संशोधन गर्न पनि प्रोत्साहन गरिरहेको हुन्छ । हजारौं माईलको यात्रा एक पाईलाबाट थालनी भए जस्तै समाजको रुपान्तरण उन्नत चेतनामा मात्र भर परेको हुन्छ । शिक्षा व्यक्तित्व विकासको माध्यम भएकोले समग्र सामाजिक प्रक्रियामा यसले विशेष भुमिका खेलेको हुन्छ र निरन्तर विकासलाई प्रोत्साहन गरिरहेको हुन्छ । शिक्षाको प्रेरक प्रोत्साहनले मानिसले मृत्युसँग पनि संघर्षको सामना गरिरहेका हुन्छन । अतः सँस्कारले चेतनाको बाटो देखाउँछ, चेतनाले असल शिक्षा प्रदान गर्छ जसले मानव समाजमा अभूतपूर्व पविर्तन ल्याउने प्रयत्न गराउँछ ।

डा. कृपाराम विश्वकर्मा 

 


Thali Mobile Pvt.Ltd.