सर्लाही । हरिवन चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसले स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेपछि विद्यार्थी आन्दोलित भएका छन् ।
उनीहरुले निर्धारित मिति चैत ५ गते नै स्ववियु निर्वाचन गराउनुपर्ने माग गर्दै बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुखेपोखरीमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासन शाखामा तालाबन्दीसमेत गरे ।
अखिल क्रान्तिकारीका नेता विवेक मैनालीले क्याम्पस प्रमुख र व्यवस्थापन प्रमुखले विद्यार्थीहरुसँग समन्वय नगरी शुक्रबार राति एकलौटी ढंगले स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेकाले विरोध प्रदर्शन गरेको बताए ।
विद्यार्थी भर्नाको विषयमा सामान्य विवाद रहेकाले त्यसलाई समाधान गरेर मात्र स्ववियु निर्वाचन गराउने भनेर स्थगित गरिएको क्याम्पस प्रमुख गंगा बहादुर भुजेलले बताए ।
स्ववियु निर्वाचनका लागि फागुन ५ गते ४ बजेसम्म विद्यार्थी भर्नाको समय तोकिएको थियो । तर केही विद्यार्थीहरुको भर्ना फारम ४ बजेभित्रै आए पनि भर्ना फारममा टाँस्नुपर्ने फोटो ५ मिनेट ढिला आएकाले विवाद भएको क्याम्पस प्रमुख भुजेलले बताए ।
अखिल क्रान्तिकारीका नेता मैनालीले भने ५ मिनेटमात्रै ढिलो फोटो आएको भन्ने क्याम्पस प्रमुखको भनाइ सत्य नभएको बताए ।
भर्ना बन्द गरेर निस्किने बेला क्याम्पस प्रमुखले के गर्ने भनेर ‘भोलि सन्चालक समितिलाई सोध्छु’ भनेको बताउँदै मैनालीले भने, ‘झगडाको बिउ उहाँले नै रोप्नुभयो ।’
