भक्तपुर । नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. मजेशप्रताप मल्ल ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टरमा नियुक्त भएका छन् । ख्वप अस्पतालको आयोजनामा आइतबार नवनियुक्त निमित्त मेडिकल डाइरेक्टरको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख एवम् ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप अस्पतालमा डा. मल्लको नियुक्ति सम्बन्धमा सञ्चालक समितिले गरेको निर्णयबारे जानकारी दिंदै नवनियुक्त मेडिकल डाइरेक्टर मल्लाई सफल कार्यकालको लागि शुभकामना दिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले स्वास्थ्य क्षेत्र निकै संवेदनशील क्षेत्र भएको हुँदा यहाँ कार्यरत चिकित्सक र कर्मचारीहरूले जिम्मेवारीपूर्वक काम गर्न मार्गनिर्देश गरे । ख्वप अस्पतालले छिट्टै प्रसुती सेवा सञ्चालन गर्ने तयारी गरिरहेको भन्दै जनताको सेवामा समर्पित भएर व्यवस्थित ढंगले अस्पताल सञ्चालन गर्न चिकित्सक र कर्मचारीहरू प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
नेपाल सरकारले बेलायतमा १० हजार नर्स पठाउने गरी श्रम समझदारी गरेको कारण दक्ष नर्सहरु विदेशतिर आकषर््िात भएको बताउँदै दक्ष नर्स र चिकित्सकहरू विदेशिने क्रम नरोकेसम्म दुर्गम क्षेत्रका जनताले स्वास्थ्य सेवा पाउन नसक्ने प्रमुख प्रजापतिको धारणा छ ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले प्रसुती सेवा सञ्चालन गर्ने भक्तपुर नपाको सुरुदेखिको उद्देश्य रहेको बताउँदै उनले भक्तपुरमा सेवा विस्तारसँगै धेरैजना बिरामीहरूको लागि सहज हुने बताइन् ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, नवनियुक्त निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्ल, वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा, ख्वप अस्पतालका इन्टरनल मेडिसिनका विशेषज्ञ डा. अमर प्रजापति
र नर्स रबिना कवांले ४० वर्षभन्दा लामो इतिहास बोकेको ख्वप अस्पतालले आजको सफलता हासिल गर्न विभिन्न चुनौती सामना गर्नुपरेको बताउँदै अस्पतालको उद्देश्यअनुसार सबै कर्मचारीहरूले हातेमालो गर्दै दत्तचित्त भई काम गर्नेमा प्रतिबद्ध हुनुपर्ने बताए ।
