काठमाडौं । निवर्तमान संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २०७५ साल बैशाख ९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाएका थिए । सो विवरण अनुसार बाँस्कोटाको सम्पत्ति अन्य मन्त्रीको भन्दा न्यून रहेको थियो ।
बाँस्कोटाले बुझाएको सम्पति विवरण
श्रीमती तारादेवी बाँस्कोटाको नाममा भक्तपुरको लोकन्थलीमा १२१.२४ वर्गामिटर क्षेत्रफल बराबरको जग्गा। यो सम्पत्ति उनले पुख्र्यौंली सम्पत्ति बेचेर किनेको विवरणमा उल्लेख छ । त्यस्तै, बाँस्कोटाको आफ्नै नाममा बनेपामा १२७.१८ वर्गमिटर (४ आना), श्रीमतीकै नाममा साविकको देवभूमि बालुवामा १०४८.४८ वर्गामिटर (२ रोपनी), साविकको नयाँगाउँ देउपूरमा ३ ओटा कित्तामा रहेको ८ रोपनी ३ आना ३ पैसा जग्गा रहेको जनाइएको छ ।
बनेपाको जग्गा ३ लाखमा खरिद गरेको र अरु सम्पत्ति पैतृक भएको विवरणमा उल्लेख छ । अचल सम्पत्ति बाहेक बाँस्कोटासँग १७ तोला सुन, ६० तोला चाँदी तथा विभिन्न बैंक तथा वित्तीय संस्था र सहकारी संस्थामा समेत गरी २१ लाख ७५ हजार २९० रुपैंया नगद रहेको जनाइएको छ ।
छोरालाई नर्वे पठाउन कुबेर सापकोटा र विष्णु खनालसँग १५ लाख रुपैंया ऋण लिएको देखाइएको छ भने टिभी, आईफोन र ल्यापटपसहित १ लाख ८० हजार रुपैंया बराबरको तीनओटा इलेक्ट्रोनिक ग्याजेट रहेको विवरणमा उल्लेख छ ।

