आज कागको पुजागरी तिहार मनाइँदै

आज कागको पुजागरी तिहार मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजबाट सुरु भएको छ । काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठो मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।

आज कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ ।

कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गर्ने गरिन्छ ।

 


Thali Mobile Pvt.Ltd.