भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

आठ खर्ब २५ अर्ब ७३ करोड व्यापार घाटा

आठ खर्ब २५ अर्ब ७३ करोड व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०७९-०८० को अर्धवार्षिक अवधिमा नेपालको कूल व्यापार घाटा आठ खर्ब २५ अर्ब ७३ करोड नाँघेको छ ।

माघ मसान्तसम्ममा नेपालले कूल रू १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार गरेको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा छ ।

नौ खर्ब १९ अर्ब १६ करोड ५३ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा रू ९३ अर्ब ४३ करोड २३ लाख बराबरको मात्रै निर्यात भएको हो । यो अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७७ प्रतिशत र निर्यातको हिस्सा नौ दशमलव २३ प्रतिशत छ ।

गत माघ मसान्तसम्म भएको वैदेशिक व्यापारबाट रू दुई खर्ब १२ अर्ब १२ करोड ७४ लाख बराबर भन्सार राजस्व उठेको विभागको तथ्याङ्कबाट देखिन्छ ।

गत आर्थिक वर्ष २०७८-०७९ को अर्धवार्षिक समीक्षा अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारको तुलनामा यसवर्षको सोही अवधिमा गरेको व्यापार २० दशमलव ८४ प्रतिशतले घटेको छ ।

गतवर्षको तुलनामा आयात १९ दशमलव ९० प्रतिशतले घटेको छ भने निर्यात २९ प्रतिशतले घटेको विभागले जनाएको छ । नेपालले भारतबाट रू पाँच खर्ब ७० अर्ब ९६ करोड ९७ लाख बराबरको सामान आयात गरेको छ ।

यही अवधिमा नेपालबाट भारतमा भएको निर्यात भने रू ६६ अर्ब २२ करोड ६५ लाख बराबर मात्रै छ । छ महिना अवधिमा चीनबाट रू एक खर्ब २५ अर्ब पाँच करोड २४ लाख बराबरको आयात गरेको छ भने रू ४२ करोड २६ लाख बराबरको मात्रै निर्यात गरेको छ ।

नेपालले वैदेशिक व्यापार गरेको तेस्रो ठूलो मुलुक इन्डोनेसिया हो । इन्डोनेसियाबाट रू ५७ अर्ब ९ करोड ६९ लाख बराबरको आयात हुँदा रू १० करोड ३६ लाख बराबर मात्रै निर्यात भएको छ ।

त्यस्तै, संयुक्त अरब इमिरेट्सबाट रू २० अर्ब २६ करोड २५ लाख बराबरको सामान आयात हुँदा रू २५ करोड ८९ लाख बराबरको निर्यात भएको छ ।

अर्जेन्टिनासँग रू १८ अर्ब ५६ करोड ६० बराबरको आयात र रू १० लाख २० हजार बराबरक निर्यात कारोबार भएको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ ।

नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात गरेको छ । छ महिनामा रू ८४ अर्ब ६१ करोड ६४ लाख बराबरको डिजेल, रू ३८ अर्ब ७३ करोड ३३ लाख बराबरको पेट्रोल र रू ३३ अर्ब ३४ करोड बराबरको एलपी ग्यास आयात भएको विभागले जनाएको छ ।

यही अवधिमा नेपालले रू २६ अर्ब ४२ करोड ४२ लाख बराबरको अप्रशोधित सोयाबिन तेल आयात गरेको छ । रू २३ अर्ब ६६ करोड बराबरको फलाम, रू १८ अर्ब ४५ करोड ३५ लाख बराबरका सुनजन्य वस्तु, रू १७ अर्ब ७६ करोड बराबरको अप्रशोधित पाम आयल र रू १४ अर्ब ७६ करोड ८३ लाख बराबरको स्मार्टफोन आयात भएको छ ।

नेपालबाट सबैभन्दा धेरै पाम आयल निर्यात भएको छ । यो अवधिमा रू १३ अर्ब ९२ करोड ६७ लाख बराबरको पाम तेल निर्यात भएको देखिएको हो ।

त्यस्तै, सोयाबिन तेल रू आठ अर्ब २७ करोड ७५ लाख बराबरको निर्यात भएको छ । विभागका अनुसार रू चार अर्ब ८९ करोड ७३ बराबरको अलैँची र रु दुई अर्ब ५८ करोड ३४ लाख बराबरको चिया निर्यात भएको छ ।

वीरगञ्ज भन्सारबाट छ महिना अवधिमा रू तीन अर्ब ४३ करोड ६३ लाख ४३ हजार बराबरको सामान आयात भएको छ भने रु २३ अर्ब २८ करोड ४० लाख बराबरको निर्यात भएको छ ।

कूल वैदेशिक व्यापारमा वीरगञ्जबाट मात्र ३७ दशमलव ३९ प्रतिशत आयात भएको छ भने कूल निर्यातको २४ दशमलव ९२ प्रतिशत हिस्सा रहेको छ ।

भैरहवा भन्सारबाट रू एक खर्ब ३० अर्ब ५३ करोड ९३ लाख बराबरको आयात र रू पाँच अर्ब ४२ करोड ७० लाख बराबर निर्यात भएको छ ।

विराटनगर भन्सारबाट रू एक अर्ब ६ करोड ९० लाख १९ हजार बराबरको आयात हुँदा रू २५ अर्ब ५३ करोड ८० लाख बराबरको निर्यात भएको विभागले तथ्याङ्क राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.