८ असार २०७७ काठमाडौँ । सरकारले एक सातादेखि सरकारी कार्यालय सञ्चालन गरेसँगै निजी कार्यालय पनि खुलेका छन् । कार्यालय संगसंगै निजी सवारीसाधन जोर–बिजोरका आधारमा चल्न थालेका छन् । जनजीवन सहज बनाउन सरकारले सार्वजनिक यातायात चलाउन छलफल थालेको छ ।
ग्यारेजमा थन्किएका सवारीसाधनको चेकजाँच गरी तयारी अवस्थामा राख्ने विषयमा यातायात व्यवस्था विभागले व्यवसायीसँग छलफल गरेको छ । भौतिक योजना तथा पूर्वाधार मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र मजदुर प्रतिनिधिबीच छलफल चलेको विभागले जनाएको छ ।
विभागले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी मापदण्ड बनाई गत जेठ २५ गते व्यवसायीहरू पहिलो चरणको छलफल भएको थियो । सोही दिन विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ संयुक्त कमिटी पनि गठन भएको थियो ।यातायात व्यवसायीले सरकारी मापदण्डबाट सवारीसाधन सञ्चालन गर्न नसकिने जनाएका छन् ।
सरकारले तत्काल सार्वजनिक यातायात सञ्चालनमा ल्याउने तयारी गरे पनि आधा यात्रु बोकेर सवारी चलाउन सक्ने स्थिति नरहेको व्यवसायीले जोडदार कुरा राखेका छन् ।यात्रुबाहक सवारीलाई ठूलो चुनौती रहेको र लगानी डुब्न थालेको उनीहरुको भनाइ छ ।

