जीवन जिउन मानिसले जे पनि गर्न तयार रहन्छ । जीवनमा धेरै आँशु, हाँसो रोदन र क्रन्दनकाबीच अनेकन अनेक कष्ट भोग्नु मानिसको नियति नै हो । परिवेश यहि थियो विगत १२–१३ बर्ष पहिले सिँहासैन गाविसको हालको (आठबीस नगरपालिका ६,७ र ९ वडा)। सिंहासैन नामले त राजगद्दी भनेर चिनिने तर वास्तविक अर्थमा यसको अर्थ हुन्छ दुःख भोग्नु । यसो भन्नाको पछाडि नि गहन अर्थ छ ।
यहाँको विगत केलाउने हो भने जनजीवन अति नै कष्टकासाथ बितेको छ । भिर, पाखा, कुना–कन्दराहरुमा बिहान देखि बेलुकासम्म ढुङ्गा–मुढा पन्छाएर गाई भैँसीलाई घाँसपात गरेर अनि जीवनभर माटोसँग संघर्ष गर्नु पर्ने तर पेटभरी खाना नपुग्नु यस ठाँउको बाध्यता र विवशता थियो, जो अहिले पनि त्यहि छ । यहि परिवेशमा यहाँका जनसमुदायले राज्यबाट पाउने सेवा सुविधा भन्दा पनि उल्टै सजाय पाउँथे ।
अर्थात कथित माथिल्ला जातिबाट कथित तल्ला जातिहरुले जहिले पनि हेपिनु पर्ने थियो । पुरुष स्कुल जानु पर्ने महिला नजन्मिदै घाँस–दाउराको ट्याग पाउनु पर्ने कहालीलाग्दो विगत थियो । यो यथार्थता मैले सझिँदासम्म विकराल रहेको थियो र अहिले पनि गाउँमा कतै कतै जरागाडेर बसेको छ । पढाइको कुरा गर्दा यो ठाँउमा पढाई थियो या थिएन अहिलेको शिक्षालाई हेर्दा पनि हुन्छ ।
सिहाँसैन भन्दा एककोष पर अकलकाँडा, आका, पुर्छा, छेपाडी, काफलपानी लगायतका साना गाँउ मिलेर समग्रतामा छेपाडी बनेको छ । भारतको कालापहाड, शिम्ला र मनालीलगायतका ठाउँमा गएर छ महिना पेट पाल्नका लागि संघर्ष गर्ने यहाँका जनसमुदायले राज्यबाट अहिलेसम्म कुनै नाता जोड्न पाएका छैनन् भने त्यो बेला झन कस्तो थियो होला कल्पना गर्न पनि गाह्राे छ ।
स्कुल पढाउन केटाकेटीलाई बाबुआमाले हकार्नु पर्ने थियो । यो गाउँमा बडुवाल, कठायत, शाही र विश्वकर्माको मिश्रित बस्ती छ । यहाँ विश्वकर्मालाई कामी भनेर हेप्नु र हेपिनु पर्ने त्यस बेलाको सँस्कार थियो अहिले भने हटेर गएको छ । जया विश्वकर्मा, प्रशुराम बडुवाल र कर्ण बडुवाल साथी साथी भएकाले शिक्षाको ज्योती यस ठाउँमा फैलाउनु पर्छ भन्ने चेतनाका साथ तीनै जना अघि बढे ।
गाउँमा लुकेर छलफल चलाए अनि छेपाडीमा कक्षा तीन सम्म पढाईका लागि अस्थायी अनुमति लिन दैलेख जिल्लामा जाने सहमति गरे । गाँउबाट प्रशुराम बडुवाल, गोपी बडुवाल र जया विश्वकर्मा तीन जना मिलेर अनुमति लिन जाने भन्ने सहमति गरेर अस्थायी स्वीकृति लिन दैलेख जिल्ला पठाउने काम भयो । भदौको उर्लदो भेलमा खोलासंग पौठेजोरी खेल्दै जिल्लामा गएर अनुमति ल्याए ।
तर फर्किने क्रममा रामगाड खोलामा पुग्दा बाढी आयो । खोला तर्दै गर्दा भेलले जया कामीलाई बगायो दुई जना बाच्न सफल भए । भेलले बगाएपछि खोज तलास भयो । खोज्दै जाँदा केहि दिन पछि पत्ता लाग्यो । ल्याप्चेबाट साक्षर बनाउन गाँउलाई नै बाटो देखाउन संघर्ष गरेका ती पैतला खोलाले बगाए पछि गाउँ नै शोकमा डुब्यो । अब स्कुल बन्ने हो या होइन भन्ने चिन्तामा डुबेको गाउँलेको जीवनमा कालोवादल मडारिन खोज्याे ।
भाग्यवश छेपाडीमा स्कुल कायम भएको बुढापाकाको भनाइ छ । स्कुल खुले पनि पढ्ने विधार्थी कोही पनि नहुनु अर्को दुर्भाग्य थियो । दुई चार जना वडुवाल र कठायतका केटाकेटीहरु मात्र त्यो स्कुलमा पढ्न आएका थिए । पछि शिक्षकको व्यवस्था पनि गरियो तर तीन कक्षासम्म मात्र पढ्न पाउने व्यवस्था भएको सो स्कुलमा निकै लामो समयपछि विश्वकर्माले पनि पढ्न पाउने भए । विश्वकर्मा परिवारबाट पहिलो पढ्ने व्यक्ति थिए बजिरसिंह विश्वकर्मा ।
उहाँ पनि ३ कक्षा पास गरिसके पछि थप अध्ययनका लागि ज्वाला मिडिल स्कुल जम्बुकाँध गएर निमावि तहको पढाई पुरा गर्न सफल हुनुभयो । तर उच्च शिक्षा पढ्न नपाएर भागेर भारततिर लाग्नु भयो । भारतको पञ्जाबमा काम गर्दा निकै दुःख पाएपछि घरतिरै फर्किएर गाउँलेलाई पढ्न उत्प्रेरित गर्नु भयो । सायद भारतमा पाएको दुःख अनि भारतीयले गरेको प्रगतिले होला बजिरसिंह विश्वकर्मामा शिक्षा बाहेक अरु चिज भ्रम हो भन्ने विचार आयो ।
अनि सबैलाई हकारेरै भए पनि पढ्नमा जोड गर्नु भयो । जोड त गर्नु भयो तर पढ्नु भन्दा घाँस दाउरा तिर छोराछोरी पठाउनु गाउँलेको बानीमा कुनै परिवर्तन भएन । पढाउँदा पनि पढ्ने इच्छा मारेर गएको गाउँलेसँग कुनै चेतना आएन भने विश्वकर्मा परिवारमा त झन पढाउने चेतना आउन कठिन थियो ।
जेठो छोरा पाँचसम्म पढेर माछा मार्ने, स्कुल नजाने, भनेको नमान्ने भएपछि पिटाई गरी गरी पनि पढाउने काम गरे पछि केहि सीप नचले पछि माइलो छोरा, साइलो छोरा, काइलो छोरालगायतलाई पढाउन सफल हुनभयो बजिरसिंह विश्वकर्मा । उहाँको परिवारमा पढ्नु पर्छ भनेर नै संघर्ष गरिरहदा अहिले पीएचडी गर्नेमा सायद पहिलो होला यस ठाउँबाट ।
दुई घण्टाको दौड…
गाउँमा कक्षा पाँच पास गरेपछि दुई घण्टा हिंडेर मावि तहको शिक्षा लिन तिलेपाटा पढ्न जानुपथ्र्यो । छेपाडीबाट स्कुल पढ्न जानेको लगभग पचास साठी जनाको समूह नै हुन्थ्यो । बहुमत बडुवाल र कठायतका छोराछोरी, दुई तीन जना विश्वकर्मा र एक दुई जना शाही परिवारका केटाकेटी मावि पढ्न तिलेपाटा जाने गर्दथ्ये ।
परिवेश यस्तो थियो कि पढाईको कुरा भन्दा पनि माछा मार्ने, गाड(पौडी) खेल्ने, ऐँँसेलु खाने, यति मात्र कहाँ होर स्कुलबाट भागेर खोलामा माछा मार्न जानेको बहुमत नै हुन्थ्यो । बाटामा पिटापिट गर्नेको बाहेक पढ्नेको कुरा हुदैन्थ्यो । मेरो सम्झना छ केही साथीहरु अति नै मेहनती थिए । त्यसमा अनुशासित विधार्थीमा कृपाराम विश्वकर्मा नै थिए ।
अरु भागेर गए पनि केही समयसम्म स्कुल पुगेर पढ्ने विधार्थीमा कृपाराम विश्वकर्मा, धिर्जा कुमारी सिजापतिबाहेक अरु सायदै थिए । कति दिन अरुको लहलहैमा लागेर पंतिकार पनि भागेर जंगल जाने, ऐँसेलु खाने र माछामार्न भिउलेकोट हुँदै मडासैनबाट निचाल गएर पौडी खेल्न पुगे । बुबाको पिटाइ र दाईको पिटाइले पंतिकार पनि राम्रोसंग पढ्न पाए ।
बिहान उज्यालो नहँुदै घोगा कुट्नुपर्ने, साढे छ बजे स्कुलका लागि तयारी गर्नुपर्ने, खाना खाँदाखाँदै कहिलेकाहीँ स्कुल जान ढिला हुन्थ्यो । कहिले त रोटी झोलामा हालेर बाटोमा खाँदै हिड्दै, दौडिदै स्कुल पुग्नु पथ्र्यो । यसरी छेपाडीबाट तिलेपाटासम्म पुग्न दैनिक दुई घण्टा हिड्नु पथ्र्यो । चिसोको समय ठिहि¥याउने मौसममा स्कुलबाट घर जाँदा ज्वरो नै आउँथ्यो । स्कुलमा अरुकुरा त छोडौं प्रधानाध्यापकबाट नै छुवाछुत हुन्थ्यो ।
कामीको छोरा भएकोमा आफैलाई पनि हिनताबोध हुन्थ्यो । यो परिवेश अहिले आउँदा र विगत सम्झिदा परिर्वतनका ज्वारभाटा उचालिएर आउँछन् । सायद त्यहि भएर होला नेपालमा विभिन्न नाममा क्रान्तिपनि भएका छन् । जे होस संघर्षले नै मान्छेलाई महान बनाउँछ । सायद दुःखका ती दिन नगए पनि तिलेपाटा र छेपाडीको पढाईले आज यहाँ सम्म आउन निकै सहयोग गरेको छ ।
कति विधार्थी काम नलाग्ने धानको प्लाँटा जस्तै भएका छन् भने कति विधार्थी क्याम्पसका चिफसम्म बनेका छन् । कति विधार्थी पत्रकार बनेर केन्द्र हल्लाएका छन् भने कति विधार्थी अ.हे.व, अनमी, इञ्जिनियर, सफ्टवयर इञ्जिनियरलगायतका बिशेषज्ञ बन्दै छन् । कति विद्यार्थी अदालतमा अधिवत्ता समेत भएका छन् ।
दुई घण्टाको बाटो हिँडेर नपढेको भए आज विश्वकर्मा परिवार अर्थात कामी परिवारबाट कृपाराम विश्वकर्माले विधावारिधि (पिएचडी) गर्न सक्दैनथे होलान् । मानिसले जीवन जिउन संघर्ष गर्नुपर्छ । संघर्ष नगरेसम्म सार्थक जीवन जिउन सकिदैन भन्ने हो । हुन त टाठाबाठाले मात्र पढ्ने समयमा यतिको प्रगती हुनु आकाशको फल बनेको थियो ।
अरुकै जसरी दुई घण्टाको बाटोमा मेरा छोरा छोरी पनि भिरमा लडेर मर्लान अर्थात अरुले पिट्लान् भनेर मेरो परिवारले स्कुल नपठाएको भए आज यसरी अरुको सेवा गर्ने अवस्थासम्म आईदैन थियो होला सायद । मेरो भनाइको तात्पर्य यो हो कि असल मानिस बन्न असल अभिभावकको उत्तिकै हात हुन्छ । त्यसैले अबका नागरिक कस्ता बनाउने तपाई हाम्रो सोचाई र विचारमा भर पर्छ ।
बाबु बाजेले भैसीको हिलो सोर्नमात्र जानेकाले उनिहरुको दिनचर्या त्यसरी नै हिलोमा बित्यो । बाले अलिअलि पढे र उहाँको जिन्दगी तमसुकलेखन सम्मा बित्यो । हामीलाई भैँसीको गोठालो संगै पढाउनु भयो । त्यसैले जीवनमा केही गर्न शिक्षा चाहिन्छ । आज शहर बजारका केटाकेटीहरुको जिन्दगी औँलामा सारा संसार घुमाउने गरी बितिरहेको छ ।
किनकी विज्ञानले मारेको अतुलनीय फड्कोले त्यसको उपभोग सम्पन्न परिवार र सहर बजारकाले गरिरहेका छन् । तर हाम्रो यो भेगमा शिक्षा र विज्ञानले जस्तो फड्का्े मारे पनि उहि भैँसीको गोठालो जाने बाहेक अरु केही पनि छैन । यो मेरो भावना लेख्न आज तिन घण्टाको बाटो हिंडेर ठाँटिकाँध भन्ने ठाउँमा आएर लेखेको हुँ ।
सहरमा यतिबेलासम्म मैले दश दिनसम्म गर्ने काम ३० मिनेटमै गरिसक्थे । यही हो गाँउ र सहरको भेद । मैले यो अनुभूति लेखिरहँदा कति कम्प्युटरमा टाइप गर्न नजाने पहाडका मान्छेहरु छक्क परेका थिए । मलाई लाग्यो राज्यले आफ्ना हरेक ठाउँमा र सबै नागरिकलाई समान अवसर र शिक्षा दिएको भए आज जुनसुकै ठाउँका मानिस पनि शिक्षित हुन्थे ।
लेखिरहँदा मनमा अनेकन तर्कनाहरु डुलिरहे नेट चल्ने हो या हैन । मैले लेखेको छापिने हो या होइन जे भए पनि अरु नै कुरा लेख्न आएको मान्छे । उपयुक्त लागेर यहि लेखेँ र तपाईसामु तपाई हामीले भोगेका कुरा लेखेँ । त्यसैले शहर बजारमा पढेकाहरुले सायद हाम्रै ठाउँमा लगाएको भए तपाई हाम्रा केटाकेटी चोर, डाँका र जँड्याहा बन्ने थिएनन् कि !
अन्तमा भन्न चाहन्छु शिक्षा सिकौँ र आफ्नै दूरदराजका ठाउँमा लगाऔँ । शिक्षाका लागि दुईघण्टा दौडिने ठाउँलाई रुपान्तरण गरेर राज्यसँग माग गरौँ कि हामी पनि यही देशका नागरिक हौँ र हाम्रो पनि काठमाडौँका नागरिकै जस्तो सेवा सुविधा र सम्पन्न स्कुलमा पढ्ने हक छ भनेर आवाज उठाऔं । परिवर्तनका लागि आजैबाट लागौं । सबै जुटेपछि नयाँ नेपाल र नयाँ शिक्षा प्राप्त नागरीक बन्नेछौं ।
रक्तिम दैलेखी प्रकाशित २०७७ पुस ९
